ad ad

खेल


दक्षिण अफ्रिकाविरुद्ध जितको दबाबबीच सन्दीपको आगमनले उत्साहित छ नेपाल (प्रिभ्यु)

दक्षिण अफ्रिकाविरुद्ध जितको दबाबबीच सन्दीपको आगमनले उत्साहित छ नेपाल (प्रिभ्यु)

नेपालखबर
जेठ ३२, २०८१ शुक्रबार २०:१६, काठमाडौँ

आईसीसी टी–२० विश्वकपअन्तर्गत समूह ‘डी’मा रहेको नेपालले आफ्नो तेस्रो खेल दक्षिण अफ्रिकाविरुद्ध खेल्दै छ। 

नेपालले वेस्ट इन्डिजमा दक्षिण अफ्रिका र बंगलादेशसँग खेल्नेछ। अमेरिकामा दुई खेल खेलेको नेपाली टोली बाँकी दुई खेलका लागि वेस्ट इन्डिज पुगेको हो।  

नेपाल समूह चरणको पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो। श्रीलंकाविरुद्धको दोस्रो खेलमा भने वर्षा बाधक बन्दा अंक बाँड्न बाध्य भएको थियो। 

सुपर ८ मा स्थान बनाउन नेपाली टोलीलाई शनिबार बिहान हुने खेल जित्नैपर्ने दबाबमा हुनेछ।

दक्षिण अफ्रिकासँग पराजित भए नेपालको पहिलो विश्वकपको सुपर ८ खेल्ने सपना अधुरो रहनेछ। १० वर्षपछि विश्वकप खेलिरहेको नेपाली टोली सम्झनलायक प्रदर्शन गर्न चाहन्छ। 

नेपालविरुद्ध मैदान उत्रिँदा दक्षिण अफ्रिका भने लगातार चौथो जित निकाल्दै अपराजित रहेर सुपर ८ खेल्ने योजनामा छ। 

नेपाल र दक्षिण अफ्रिकाबीचको खेल वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टस्थित अर्नोस भाले स्टेडियममा बिहान सवा ५ बजे सुरु हुनेछ। 

नेपाल र दक्षिण अफ्रिका पहिलो पटक एकअर्काविरुद्ध खेल्न लागेका हुन्। त्यसैले नतिजाको ठ्याक्कै अनुमान लगाउन नसके पनि नेपाली टोली सुपर ८ मा पुग्ने सम्भावना जीवित राख्न जित्नैपर्ने दबाबमा मैदान उत्रिनेछ। 

प्रशिक्षणको क्रममा सन्दीप। तस्बिर : क्यान

सन्दीपको आगमनले उत्साहित टोली
वेस्ट इन्डिजको मैदान स्पिनरमैत्री रहेकाले नेपाल त्यसको भरपूर फाइदा उठाउने योजनामा हुनेछ। 

यसअघि विश्वकपको तयारीकै क्रममा नेपालले वेस्ट इन्डिजसँग घरेलु मैदानमा अभ्यास  खेल खेलेको थियो। त्यतिबेला वेस्ट इन्डिजका खेलाडीले त्यहाँको पिच स्पिनरमैत्री रहेकाले नेपाललाई सहयोग पुग्ने बताएका थिए। 

यस्तोमा अहिले टोलीमा लेग स्पिनर सन्दीप लामिछाने पुगेपछि नेपाली टोली अझै उत्साहित छ। अमेरिकाले दुई पटक सन्दीपको भिसा आवेदन अस्वीकार गरेपछि उनले वेस्ट इन्डिजमा हुने २ खेल खेल्न लागेका हुन्। 

सन्दीपलाई अन्तिम १४ खेलाडीमा समावेश गरेपछि प्रतिश जिसीलाई वैकल्पिक खेलाडीका रुपमा राखिएको छ। 

यसअघि क्यारेबियन लिगको अनुभव समेत बटुलिसकेका सन्दीप त्यहाँको पिचबारे राम्रो जानकार छन्। उनी केही दिनअघि नै वेस्ट इन्डिज पुगेर अभ्यास समेत गरिसकेका छन्। 

यद्यपि नेपाली टोलीले पनि अमेरिका जानुअघि वेस्ट इन्डिजमा नै अभ्यास खेल खेलेको थियो। त्यसको फाइदा पनि टोलीलाई हुनेछ। 

नेपाललाई विश्वकपमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेका सन्दीप बलात्कार मुद्दामा दोषी भएसँगै उनले गत नोभेम्बरदेखि कुनै खेल खेल्न पाएनन्। 

प्रशिक्षक मोन्टीसँग सन्दीप वेस्ट इन्डिजमा। तस्बिर : क्यान

१ सय विकेटको पर्खाइमा सन्दीप
लेग स्पिनर सन्दीप लामिछाने टी–२० क्रिकेटमा १ सय विकेटको कोशेढुंगा पार गर्ने संघारमा छन्। यस्तोमा विश्वकपमा दक्षिण अफ्रिकाविरुद्धको खेल उनका लागि सहयोगी बन्न सक्छ। 

उनले ५२ टी–२० आई खेलमा ९८ विकेट लिइसकेका छन्। जारी विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध २ विकेट लिए उनी नेपालबाट १ सय विकेट लिने पहिलो खेलाडी बन्नेछन्। 

अंक तालिका 
नेपालले समूह चरणका दुई खेलबाट १ अंक बनाउँदा दक्षिण अफ्रिका भने यसअघि नै सुपर ८ मा पुगिसकेको छ। समूह चरणका तीन खेलमा अपराजित रहेको दक्षिण अफ्रिका ६ अंकमा शीर्ष स्थानमा छ। 

४ अंक भएको बंगलादेश दोस्रो स्थानमा छ। एक खेलमा जित र २ खेलमा हार भोगेको नेदरल्यान्ड्स भने २ अंकमा तालिकाको तेस्रो स्थानमा छ। 

समूह ‘डी’बाट श्रीलंका भने एक खेलअगावै सुपर ८ को दौडबाट बाहिरिएको छ। २ खेलमा हार र एक खेलमा नेपालसँग अंक बाँडेको श्रीलंका १ अंकमा तालिकाको पुछारमा छ। 

दक्षिण अफ्रिकाको टोली।

सम्भावित सुरुवाती ११
नेपाल
कुशल भुर्तेल, आशिफ शेख, अनिल शाह, रोहित पौडेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरि, सोमपाल कामी, गुल्सन झा, करण केसी, सन्दीप लामिछाने र अविनाश बोहोरा

दक्षिण अफ्रिका 
एडेन मार्कराम (कप्तान), रीजा हेन्ड्रिक्स, क्विन्टन डी कक, हेनरिक क्लासेन, डेभिड मिलर, मार्को जेन्सेन, केशव महाराज, कागिसो रबाडा, ओटनियल बार्टम्यान, एनरिच नोर्टजे, ट्रिस्न स्टुब्स

१५ सदस्यीय टोलीमा को को छन्? 
नेपाल 

रोहित पौडेल (कप्तान), आसिफ शेख, अनिल कुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, सन्दीप लामिछाने, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल, कमल सिंह ऐरी

दक्षिण अफ्रिका
एडेन मार्कराम (कप्तान), ओटनियल बार्टम्यान, गेराल्ड कोएत्जी, क्विन्टन डी कक, ब्योर्न फोर्टुइन, रीजा हेन्ड्रिक्स, मार्को जेन्सेन, हेनरिक क्लासेन, केशव महाराज, डेभिड मिलर, एनरिच नोर्टजे, कागिसो रबाडा, रायन रिकेल्टन, तब्राइज शम्सी, स्टब्स स्टुब्स

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .