न्यु जिल्यान्डलाई पराजित गर्दै आयाेजक वेस्ट इन्डिज आईसीसी टी-२० विश्वकपकाे सुपर ८ मा पुगेकाे छ।
बिहीबार भएकाे खेलमा न्यु जिल्यान्डलाइ १३ रनले पराजित गर्दै घरेलु टाेली वेस्ट इन्डिज १ खेलअगावै सुपर ८ मा पुगेकाे हाे।
विश्वकपमा वेस्ट इन्डिजले लगातार तेस्रो जित निकाल्दा न्यु जिल्यान्डले भने दाेस्राे हार व्यहाेरेकाे छ।
वेस्ट इन्डिजले दिएकाे १ सय ५० रनकाे लक्ष्य पछ्याएकाे न्यु जिल्यान्डले निर्धारित २० ओभरमा ९ विकेटकाे क्षतिमा १ सय ३६ रन मात्र बनाउन सक्याे।
न्यु जिल्यान्डका ग्लेन फिलिप्सले सर्वाधिक ४० रनकाे याेगदान दिए। फिन एलेनले २६ रन थपे। मिचेल सान्टनरले २१ रन बनाए।
न्यु जिल्यान्डलाई कम स्काेरमा राेक्न अल्जारी जाेसेपले ४ विकेट लिए। गुणाकेस माेतीले ३ विकेट झारे।
अकेल हुसेन रआन्दे रसेलले समान १ विकेट आफ्नाे नाममा गरे।
त्यसअघि ट्रिनिडाडस्थित ब्रायन लारा स्टेडियममा न्युजिल्यान्डले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४९ रनको योगफल तयार पारेको थियाे।
वेस्ट इन्डिजका लागि शेफेन रथरफोर्डले अर्धशतक पूरा गरे। उनले ३९ बलमा २ चौका र ६ छक्का सहयोगमा सर्वाधिक ६८ रनको योगदान दिए।
निकोलस पुरनले १७ रन थपे। अकेल हुसैनले १५, आन्द्रे रसेलले १४ र रोमारियो सेफार्डले १३ रन बनाए।
न्युजिल्यान्डका ट्रेन बोल्टले ३ विकेट लिए। उनले आफ्नो स्पेलमा १ मेडन राख्दै १६ रन खर्चे। टिम साउथी र लोकी फर्गुसनले समान २ विकेट लिए। जेम्स निसाम र मिचेल सान्टनरले समान १ विकेट आफ्नो नाममा गरे।
लगातार तेस्रो जित निकालेकाे वेस्ट इन्डिज ६ अंकमा शीर्ष स्थानमा छ। २ खेलबाट ४ अंक भएकाे अफगानिस्तान दाेस्राे स्थानमा छ।
३ खेलमा २ अंक भएकाे युगान्डा तेस्रो स्थानमा छ।
समान २ खेलमा हार भाेगेका पपुवा न्यु गिनी र न्यु जिल्यान्ड अंक तालिकाकाे पुछारमा छ।
Shares
प्रतिक्रिया