ad ad

खेल


विश्वकपमा पाकिस्तानको पहिलो जित, क्यानडालाई हराउँदै ग्रुप ‘ए’को शीर्ष ३ मा

विश्वकपमा पाकिस्तानको पहिलो जित, क्यानडालाई हराउँदै ग्रुप ‘ए’को शीर्ष ३ मा

पाकिस्तान र क्यानडाको खेल। तस्बिर : गेट्टी/ईएसपीएन क्रिक इन्फो


नेपालखबर
जेठ ३०, २०८१ बुधबार ०:१४, काठमाडौँ

पाकिस्तानले अमेरिका र वेस्ट इन्डिजमा जारी टी२० विश्वकपमा क्यानडालाई हराउँदै पहिलो जित दर्ता गरेको छ। 

मंगलबार राति भएको खेलमा क्यानडाविरुद्ध ७ विकेटको महत्त्वपूर्ण जित हात पारेसँगै पाकिस्तान समूह ‘ए’को शीर्ष ३ मा पुग्न सफल भएको हो। 

क्यानडाले दिएको १०७ रनको लक्ष्य पाकिस्तानले १५ बलअगावै पूरा गरेको हो। 

भारत, अमेरिका, क्यानडा र आयरल्यान्डसँगै रहेको पाकिस्तानले लगातारको २ हारपछि तेस्रो खेलमा २ अंक बटुल्दा समान अंक रहेको क्यानडालाई रनरेटमा समेत पछि पारेको छ। पाकिस्तानको ०.१९१ रनरेट हुँदा क्यानडाको –०.४९३ छ। 

सुरुवाती दुवै खेल जितेका भारत र अमेरिका क्रमशः पहिलो र दोस्रो स्थानमा छन्। उनीहरुको समान ४ अंक छ। सोही समूहमा रहेको आयरल्यान्डले भने खाता खोल्न सकेको छैन। 

आरोन र रिजवानको अर्धशतकीय पारी 
बलियो टोली पाकिस्तानविरुद्ध क्यानडाका आरोन जोन्सनले अर्धशतकीय पारी खेल्ने क्रममा ४४ बलमा ५२ रनको योगदान गरे। उनीबाहेक अन्य खेलाडीले उल्लेख्य रन बटुल्न सकेनन्। कलीम सानाले १४ बलमा १३ रन र साद बिन जफरले २१ बलमा १० तथा नटआउट डिलान हेलिगरले ११ बलमा ९ रन बनाउनेबाहेक अन्य सबै सस्तैमा समेटिए। नवनीत धालिवाल ४, पारगत सिंह २, निकोलस किर्टन १, श्रेयस मोव्वा २ र रविन्दरपाल सिंह शून्य रनमा आउट भए। योसँगै क्यानडाले १०६ रन मात्र बनाउन सक्यो। 

बलिङतर्फ पाकिस्तानका ह्यारिस रौफ र महम्मद आमिरले समान २ तथा शाहिन शाह अफ्रिदी र नसीम शाहले समान १ विकेट लिए। 

१०७ रनको सामान्य लक्ष्य पछ्याएको पाकिस्तानका लागि नटआउट रहेर महम्मद रिजवानले ५३ बलमा ५३ रनको योगदान गरे। त्यसबाहेक बाबर आजमले ३३ बलमा ३३ रन बटुल्दा सइम अयुब १२ बलमा ६ रन जोडी आउट भए। पाकिस्तानका फाखर जमानले ४ तथा अर्का नटआउट उसमान खानले २ रनको योगदान गर्दा क्यानडाले अतिरिक्त ९ रन उपहार दियो। पाकिस्तानले ३ विकेट क्षतिमा १०७ रनको लक्ष्य पूरा गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .