खेल


राखेप र एन्फाको जुहारीमा खेलकुदमन्त्रीको ‘इन्ट्री’, ५ दिनभित्र रंगशालाको रिपोर्ट दिन निर्देशन

राखेप र एन्फाको जुहारीमा खेलकुदमन्त्रीको ‘इन्ट्री’, ५ दिनभित्र रंगशालाको रिपोर्ट दिन निर्देशन

मंगलबार दशरथ रंगशालाको निरीक्षणमा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ। तस्बिर : सरोज बैजु


लक्ष्मी जि.सी
बैशाख २६, २०८१ बुधबार ९:१७, काठमाडौँ

‘एएफसीका प्रतिनिधि आउँदा तपाईंहरुसँग भेट भयो? राखेपलाई जानकारी गराउनुभयो?’ 

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकज विक्रम नेम्बाङलाई तेर्स्याएको प्रश्न हो यो। 

दशरथ रंगशालामा फिफा विश्वकपअन्तर्गतको नेपाल र यूएईबीचको खेल हुन नसक्ने भन्दै एसियाली फुटबल महासंघ (एएफसी)ले एन्फालाई पत्र पठाएपछि नेपाली खेलकुद तरंगित छ। 

गत २१ र २२ गते एएफसी प्रतिनिधिले निरीक्षण गर्दै कैफियत औँल्याएपछि रंगशालाको अन्तर्राष्ट्रिय मान्यता गुम्ने डर बढेको छ। 

मंगलबार नेम्बाङतिर ती प्रश्न सोझिँदा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ छेवैमा उभिएका थिए। 

भिडिओ

विश्वकप छनोटका लागि मैदानको निरीक्षण गर्न एएफसी प्रतिनिधि आउँदा एन्फा नेतृत्व, परिषद् र मन्त्रालयको प्रतिनिधिसँग भेट नहुनुमा घिसिङको असन्तुष्टि थियो। 

‘यो कस्तो खालको समन्वय गर्दै छौँ हामी भन्ने कुरा हो’, उनी रोकिएनन्, ‘मैदानमा अपुग कुराका लागि फुटबलको नियामक निकाय, नेपालको सरकारी निकायसँग मिटिङ गराएर यो यो अभाव छ भनेर कति दिनमा के के गरेर पूरा गर्न सकिन्छ...’

एकपछि अर्को प्रश्न ओइरिएपछि एन्फा अध्यक्ष नेम्बाङले सदस्यसचिव घिसिङलाई बीचैमा रोक्दै जवाफ फर्काए, ‘उनीहरु मैदानको अवस्था हेर्न आएका हुन्। यो विषयमा उसले केही सक्दैन। एएफसीले प्राविधिक पठायो, प्राविधिकले आफ्नो रिपोर्ट एएफसीलाई दिन्छ, एएफसीले त्यो रिपोर्ट एन्फालाई पठाउँछ।’ 

माथिको छोटो सवालजवाफले प्रस्ट पार्छ– घरेलु फुटबलको सर्वोच्च निकाय एन्फा र नेपाली खेलकुदको कार्यकारी निकाय राखेपबीचको तिक्तता। 

दशरथ रंगशालाको अन्तर्राष्ट्रिय मान्यता नै गुम्ने खतरा बढेको समाचार सार्वजनिक भएपछि मन्त्री श्रेष्ठले सक्रियता बढाएका छन्। सोही कारण उनी मंगलबार दिउँसो रंगशाला निरीक्षणमा पुगेका थिए। मन्त्री रंगशाला जाने खबर पाएपछि एन्फा अध्यक्ष नेम्बाङ त्यसअघि नै र त्यसको केही समयपछि सदस्यसचिव घिसिङ त्यहाँ पुगेका थिए। 

घिसिङ पुग्नुअघि नै मन्त्री श्रेष्ठले एन्फा अध्यक्ष नेम्वाङ र राखेपका प्राविधिकसँग रंगशालाको अवस्था बुझेर समस्याबारे सोधेका थिए। सो क्रममा राखेप प्राविधिकहरुले एएफसी निरीक्षणबारे आफूहरुलाई जानकारी नभएको बताइरहेका थिए भने एन्फा प्रतिनिधिले मैदानको जिम्मेवारी लिएकासँग भेट गरेको जिकिर गरिरहेका थिए। 

५ दिनभित्र रिपोर्ट बुझाउनू, नसके लिखित स्पष्टीकरण दिनू 
मन्त्री श्रेष्ठले दुवै पक्षले रंगशालामा फुटबल होस् भन्ने चाहे पनि समन्वयको अभाव रहेको बताएका थिए। 

उनले मन्त्रालय, राखेप र एन्फा पदाधिकारीलाई निर्देशन दिँदै ५ दिनभित्र आफूलाई वास्तविक अवस्था र त्यसमा सुधार गर्न सक्ने विषय जानकारी गराउन भनेका छन्। 

५ दिनभित्र रिपोर्ट दिन नसके किन हुन सकेन भनेर लिखित स्पष्टीकरण दिन समेत उनको निर्देशन छ। 

‘मन्त्रालय नै रंगशालाका लागि आउन पर्नु लाजको विषय हो’, मन्त्री श्रेष्ठको भनाइ थियो, ‘नेपाल सरकारको १ अर्ब चानचुन तलबभत्ता राखेपमा पठाएका छौँ। कर्मचारीले काम गर्नुपर्छ।’ 

रंगशालाको सेफ्टी सर्टिफिकेटबारे राखेपले पत्र दिन नसके भौतिक मन्त्रालयसमक्ष कुरा गर्न आफु तयार रहेको उनको भनाइ छ। 

आवश्यक समन्वयका लागि राखेप, खेलकुद महाशाखालाई पनि तोकेर पत्र पठाउन मन्त्री श्रेष्ठले निर्देशन दिएका छन्। 

मैदानको निरीक्षणपछि मन्त्री श्रेष्ठले अब बहाना नभई दुवै पक्ष छलफल गरेर अघि बढ्न सुझाव समेत दिएका छन्। 

‘एकले पत्र पठायो भन्ने अर्कोले जानकारी पाएको छैन भन्ने अवस्था हुँदा कसलाई पत्याउने, कसलाई नपत्याउने?’, उनले भने, ‘जनताले हेर्दा मन्त्रालयले केही नगरेजस्तो देखिने तर जिम्मेवार निकायले केही नगर्ने अवस्था आएको छ।’ 

रंगशालामा घाँस, बत्तीका लागि अलग्गै मान्छे हुँदा पनि मन्त्रालय नै आउनुपर्ने अवस्था आएको बताउँदै उनले बुधबारदेखि नै काम सुरु गर्न निर्देशन दिएका छन्।  

अबको एक महिनामा यूएईसँगको खेल नहुँदा अहिलेका पक्षहरु दोषी हुने चेतावनी समेत मन्त्री श्रेष्ठले दिएका छन्। 

वर्षौँदेखि फ्लडलाइट मर्मत अलपत्र 
रंगशालाको फ्लडलाइट हेर्दै आएका प्राविधिक हरिभक्त महर्जन वर्षौँदेखि मर्मत हुन नसकेको बताउँछन्। 

‘सन् १९९९ मा भएको आठौं दक्षिण एसियाली खेलकुद (साग) का समयमा चीन सरकारले फ्लडलाइट बनाएपछि अहिलेसम्म त्यसको मर्मत भएको छैन’, उनले भने। 

लाइटबारे एएफसीबाट यसअघि कमेन्ट आएको थिएन। फ्लडलाइटका लागि राखेपमा २ जना मात्र प्राविधिक छन्। 

मन्त्री श्रेष्ठले खेलकुद महाशाखा प्रमुखलाई अहिले आएका विषयमा छलफल गरेर अन्तर्राष्ट्रिय खेलका लागि आवश्यक मापदण्ड पूरा गराउन प्रयास गर्न पनि भनेका छन्। 

फ्लडलाइटकै कारण रातमा खेलाउन नसकिए पनि दिउँसो खेल गराउन प्रस्ताव गर्न सकिने सुझाव मन्त्री श्रेष्ठको छ। 

निरीक्षणका क्रममा फ्लडलाइट १२ सय लक्स हुनुपर्नेमा करिब ७ सय लक्स मात्रै रहेको प्रतिवेदन भारतीय म्याच कमिसनर सुब्रदले एएफसीलाई बुझाएका छन्।

एएफसीका प्रतिनिधि मैदानको निरीक्षण गर्न आउँदा एन्फाका अध्यक्ष, महासचिवको भेट नहुनु र राखेपलाई समेत जानकारी नदिएको भन्दै राखेप सदस्यसचिव घिसिङ एन्फा अध्यक्ष नेम्वाङसँग झोक्किएका थिए। 

जवाफमा एन्फा अध्यक्ष नेम्वाङले कुनै ठूलो समस्या नरहेको भन्दै एएफसीका प्राविधिकले सदस्य सचिव, एन्फा अध्यक्षलाई भेटिराख्नु आवश्यक नरहने बताएका थिए। 

नेम्वाङले विश्वकप छनोट दशरथ रंगशालामा नै गराउनका लागि आफूहरु प्रयासरत रहेको र अहिलेको अवस्थामा सुधार गर्न १० दिनको समय एएफसीसँग मागेको बताएका छन्। 

‘यहाँ मैदानको स्तरोन्नतिका लागि काम भइरहेको छ, एएफसीले अहिलेको अवस्थामा हुन नसक्ने बताएको छ’, उनले पत्रकारहरुसँग भने, ‘हामीले १० दिनको समय मागेका छौं। आशा छ, त्यसपछि सकारात्मक जवाफ आउनेछ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .