ad ad

खेल


‘फ्ल्यासब्याक २०८०’ : नेपाली खेलकुदमा जसले विश्व कीर्तिमान र इतिहास बनाए

‘फ्ल्यासब्याक २०८०’ : नेपाली खेलकुदमा जसले विश्व कीर्तिमान र इतिहास बनाए

लक्ष्मी जि.सी
बैशाख १, २०८१ शनिबार ६:३७, काठमाडौँ

वर्ष २०८० सकिएको छ। फर्केर हेर्दा नेपाली खेलकुदका लागि उक्त वर्ष उचारचढावपूर्ण रह्यो। 

सोही वर्ष चीनको हाङझाओमा १९औँ एसियाली खेलकुद आयोजना भयो। जसले नेपाली खेलकुदलाई पनि चलायमान बनायो। त्यसमा पनि विशेषतः गत वर्ष क्रिकेटका लागि सम्झनलायक बन्यो। 

नेपालले दुई वर्षपछि टी–२० विश्वकपको ढोका खोल्यो। योभन्दा गर्विलो अवसर अरु के होला? एसियाडमा त नेपाली क्रिकेटले डेब्यु खेलमै उच्च प्रदर्शन गर्यो। 

सिनियर नेपाली क्रिकेटले पहिलोपटक एसिया कप खेल्यो भने टी–२० आईमा तीन सयभन्दा बढी रनको स्कोर खडा गर्यो। नेपालको यू–१९ टोलीले पनि यही वर्ष विश्वकप खेल्यो। त्यसअघि टोलीले प्रिमियर कप खेल्दै एसिया कपमा समेत अनुभव लिने मौका पायो। 

वर्षभर नेपाली क्रिकेट चलायमान हुँदा अलराउण्डर दीपेन्द्र सिंह ऐरीले दुर्लभ विश्व कीर्तिमान कायम गरे। अर्का क्रिकेटर सन्दीप लामिछानेले पनि टी–२० खेलमा सर्वाधिक विकेट लिँदै विश्व कीर्तिमानमा आफ्नो नाम राख्न सफल भए। 

यस्तै एरिका गुरुङले करातेका लागि पहिलो रजत पदक दिलाउँदा व्यक्तिगत स्पर्धामा पदक जित्ने दोस्रो खेलाडी बनिन्। यही वर्ष उनले अमेरिकामा भएको यूएसए ओपन अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण र रजत पदक जितिन्। 

पारा तेक्वान्दोमा पलेशा गोवद्र्धन पेरिस पारालिम्पिक गेम्समा छनोट भइन्। पलेसा लगातार दोस्रो पटक पारालिम्पिक खेल्न सफल भएकी हुन्। 

एसियाडमा नेपालको कबड्डी टोलीले कांस्य पदक जित्यो भने एथलेटिक्समा सन्तोषी श्रेष्ठको नाम निकै चर्चामा रह्यो। उनले बंगलादेशको ढाकामा भएको हाफ म्याराथनमा स्वर्ण जित्दै डेब्यु म्याराथनमा नै स्वर्ण पदक जित्न सफल भइन्। 

त्यसो त सन्तोषी यो वर्ष खेलेका सबैजसो प्रतियोगितामा विजेता बनिन्। फुटबलतर्फ भने यो वर्ष निकै उतारचढावपूर्ण रह्यो। यो वर्ष पनि महिला फुटबलमा गतिविधि शून्य रहे। यद्यपि साउदी अरबमा भएको वाफ महिला च्याम्पियनसिपमा आमन्त्रित टोलीका रुपमा सहभागी राष्ट्रिय महिला फुटबल टोली रजत पदक जित्न सफल रह्यो। 

सोही प्रतियोगितामा टोलीकी मुख्य फरवार्ड सावित्रा भण्डारी साम्बाले ५३ गोलको कोशेढुङगा पार गर्दै दक्षिण एसियाकी सर्वाधिक गोलकर्ताको रुपमा आफूलाई उभ्याउन सफल रहिन्। 

त्यतिमात्र होइन, उनी युरोपियन लिग खेल्न इजरायल पुगिन्, फ्रान्सको लिग खेल्दै नेपालबाट शीर्ष डिभिजनको युरोपियन लिग खेल्ने पहिलो महिला खेलाडी बनिन्। यही वर्ष महिला टोलीका ६ खेलाडीले भारतीय लिगमा सहभागिता जनाए। 

पुरुष फुटबलतर्फ भने गत वर्ष बिर्सनलायक नै बन्यो। बरु खेलभन्दा अन्य कुराले एन्फा तातिरह्यो। आन्तरिक विवाद हुँदै भ्रष्टाचार र पदाधिकारीको विदेश भ्रमणसम्मका विषय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा छाइरहे। 

नेपालको एकमात्र अन्तर्राष्ट्रियस्तरको दशरथ रंगशाला खेल्न अयोग्य हुँदा पुरुष फुटबल टोलीले फिफा विश्वकप छनोटअन्तर्गत दोस्रो चरणको खेल बहराइनको मैदानमा खेल्न बाध्य भयो। 

नेपाली खेलकुदका यिनै तीता मीठा कुरा भोग्न गत वर्ष बाध्य भयो। अब त नयाँ वर्ष लागिसकेको छ। र, हामी नेपाली खेलकुदलाई केही मीठा कुरा सम्झाएर नयाँ वर्षको थालनीका लागि तयार छौँ। 

गत वर्ष अन्य कुरालाई बिर्सिने हो भने पनि केही खेलाडीबाट उल्लास र उत्साह भर्ने काम भएका छन्। नेपाली खेलकुदले आफूसँग विश्व कीर्तिमान गर्न सक्छन् भन्ने उदाहरण नै पेस गरेको छ। केही त्यस्ता खेलाडीहरु छन् जसले अद्वितीय प्रदर्शनबाट विश्वकै ध्यान ताने। ती हुन्— 

विश्वकीर्तिमानी दीपेन्द्र (क्रिकेट) 
राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा खेलाडी हुन् दीपेन्द्र सिंह ऐरी। उनले एसियन गेम्सअन्तर्गत क्रिकेटमा मंगोलियाविरुद्ध विश्व क्रिकेटमै सर्वाधिक छिटो अर्धशतक हान्दै विश्व कीर्तिमान कायम गरे। 

मंगोलियाविरुद्ध भएको खेलमा दीपेन्द्रले बनाएको यो कीर्तिमान तोड्न सम्भवतः अर्का क्रिकेटरलाई कठिन नै छ। उनले मंगोलियाविरुद्ध १० बलमा ८ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे। यो कीर्तिमानले क्रिकेटका हस्ती देशका खेलाडीले बनाएको कीर्तिमानलाई पछि पारिदियो।

यतिसम्म कि भारतीय क्रिकेटर युवराज सिंहको नाममा रहेको यो कीर्तिमान तोडियो। 

युवराजले सन् २००७ मा इंग्ल्यान्डका स्टुअर्ट ब्रोडलाई एकै ओभरमा छ छक्का प्रहार गर्दै १२ बलमा अर्धशतक हानेका थिए। दीपेन्द्र तिनै खेलाडी बने जसले त्यो कीर्तिमान १६ वर्षपछि तोडेर आफ्नो नाममा राखे।

छिटो १ सय विकेट लिने सन्दीप (क्रिकेट) 
क्रिकेटर सन्दीप लामिछानेका लागि वर्ष २०८० निकै खराब रह्यो। नाबालिग बलात्कार मुद्दामा दोषी ठहर भएपछि उनी अहिले उच्च अदालत धाइरहेका छन्। व्यक्तिगत जीवनका उतारचढावलाई पर छाड्ने हो भने गत वर्ष उनका लागि पनि सम्झनालायक बन्यो। 

घरेलु मैदानमा भएको एसीसी प्रिमियर कपअन्तर्गत ओमानविरुद्ध विकेट लिँदै उनले विश्व दुर्लभ कीर्तिमान आफ्नो नाममा दर्ज गरे। सन्दीपले ओमानका आदिल साफिकको विकेट लिँदै ओडीआई क्रिकेटमा सबैभन्दा छिटो १ सय विकेट लिने कीर्तिमान कायम गरे।

सन्दीपले ४२ खेलमा १ सय विकेट लिए। जुन यसअघि अफगानिस्तानका रासिद खानको कीर्तिमान बनेको थियो। रसिदले ओडआईका ४४ खेलमा सय विकेट लिएर यो कीर्तिमान बनाएका थिए।

पहिलो नेपाली पारा खेलाडी पलेशा (पारा तेक्वान्दो) 
पारा तेक्वान्दोकी स्टार पलेशा गोवर्धनका लागि गत वर्ष विशेष रह्यो। छनोट चरण पार गरेर पारालिम्पिक गेम्स खेल्ने पलेसा पहिलो नेपाली पारा खेलाडी बनिन्। 

चीनमा भएको पारा ओलम्पिकको एसियन छनोटमा पलेसाले के ४४ अन्तर्गत महिला ५७ किलोमुनि तौल समूहमा स्वर्ण जित्दै पारालिम्पिक गेम्समा स्थान पक्का गरेकी हुन्। योसँगै पलेसाले लगातार दोस्रो पटक पारालिम्पिक गेम्स खेल्न लागेकी हुन्। 

विश्व खेलकुदको महाकुम्भ मानिने ओलम्पिकमा छनोट हुने तेक्वान्दोकै संगीना वैद्य पहिलो र दीपक विष्ट दोस्रो नेपाली हुन्।

इतिहासधारी एरिका (कराते) 
मनमैजु डोजो हुँदै नेपाल पुलिस क्लब पुगेकी एरिका अहिलेकी सर्वाधिक सफल खेलाडी हुन्। गत असोजमा असोजमा चीनको हाङझाओमा भएको १९औँ एसियाडमा एरिकाले पहिलो सहभागितामा नै रजत पदक जित्दै इतिहास कायम गरिन्। 

नेपाली कराते खेलको इतिहासमा एरिकाले जितेको यो अहिलेसम्मकै ठूलो पदक हो। एरिकाको यो सफलतासँगै एसियाडमा नेपालले २५ वर्षपछि व्यक्तिगत स्पर्धामा रजत जितेको छ। यसअघि १९९८ मा तेक्वान्दोकी सविता राजभण्डारीले रजत पदक जितेकी थिइन्। त्यसयता नेपालले रजत पदक जित्न सकेको थिएन। 

एरिकाले ६८ किलो तौल समूहको सेमिफाइनलमा हङकङकी यान काइ होलाई ८–४ ले पराजित गर्दै रजत पदक पक्का गरेकी थिइन्। स्वर्णका लागि भएको स्पर्धामा कजाकस्तानकी सोफ्या बेर्लुत्सेभा विजयी भएपछि एरिका रजतमा नै चित्त बुझाउन बाध्य भइन्।

यही वर्षको अन्तिममा एरिकाले युएसए ओपन अन्तर्र्रािष्ट्रय कराते २०२४ मा स्वर्ण र रजत पदक जितिन्। 

६८ किलोमाथिको खुला तौल समूहमा अमेरिकाकी खेलाडीसँग ३–२ अंकले पराजित भएसँगै एरिका स्वर्णपदक जित्नबाट वञ्चित भएकी हुन्।

एरिका खुला र उमेर समूह दुवैको फाइनलमा पुगेकी थिइन्। उनले यू–२१ उमेर समूहमा ६८ किलो तौल समूहमा स्वर्णपदक जितेकी थिइन्।

डायनामिक सावित्रा (फुटबल)
नेपाली फुटबलमा एकछत्र राज गरिरहेकी अहिलेकी कीर्तिमानी खेलाडी हुन् सावित्रा भण्डारी (साम्बा)। घरेलु मैदानमा एपीएफ फुटबल क्लबबाट खेल्दै आएकी साम्बा नेपालबाट युरोपियन लिग खेल्ने पहिलो महिला खेलाडी हुन्। 

इजरायलको हापोयल रानानाबाट खेल्दै युरोपियन फुटबलमा पाइला टेकेकी साम्बा अहिले फ्रान्सको शीर्ष लिग खेलिरहेकी छिन्। फ्रान्सको एन अभान्ट गुएङग्याम्पमा अनुबन्धित साम्बाको खेल जीवनले उचाइ लिइरहेको छ। 

यसै वर्ष राष्ट्रिय फुटबल टोलीका लागि ५३ गोल गरेकी साम्बाले दक्षिण एसियाकै सर्वाधिक गोलकर्ताको रुपमा आफूलाई उभ्याएकी छिन्। 
साम्बाले भारतीय टोलीकी स्टार खेलाडी बालादेवी, इंग्ल्याण्डकी एलेन ह्वाइट, स्पेनकी जेनी हर्मोसोलाई पछि पारेकी छिन्।

राष्ट्रिय टोलीका लागि ५० गोलको कोशेढुङगा पार गर्ने साम्बा पहिलो र एक्ली खेलाडी हुन्। नियमित प्रतियोगिता नहुँदा साम्बाको यो कीर्तिमान तोड्न अन्य खेलाडीलाई मुस्किल पर्ने देखिन्छ। 

कीर्तिमानी शतकधारी रुविना (क्रिकेट) 
नेपाली राष्ट्रिय क्रिकेट टोलीकी पूर्वकप्तान रुविना क्षत्री बेलवासेका लागि यो वर्ष खास रह्यो। राष्ट्रिय टोलीमा डेब्यु गरेको १५ वर्षपछि उनले कीर्तिमानी शतक हानिन्। गत फागुनमा भएको एसीसी प्रिमियर कपमा उनले माल्दिभ्सविरुद्ध शतक पूरा गरेकी हुन्। 

रुविनाको शतक महिला क्रिकेट टोलीको पहिलो शतक हो। माल्दिभ्सविरुद्ध रुविना १ सय १८ रनमा अविजित रहिन्। एक दशकभन्दा लामो समय टोलीको कप्तानी सम्हालेकी रुविना नेतृत्व छाडेपछि खुलेर खेल्न थालेकी छिन्। 

सिनियर टोलीमा डेब्यु गरेको चार वर्षमा २०६९ सालमा नेरी थापाको स्थान लिँदै टोलीको कप्तानी सम्हालेकी थिइन्। उनको स्थान यसै वर्ष रुविनाको स्थानमा इन्दु बर्माले लिएकी थिइन्। 

त्यसअघि पनि रुविनाले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा खुलेर खेलेकी थिइन्। प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बन्दा उनले १० खेलमा ३ सय ४५ रन बनाउँदा ११ विकेट लिइन्।

सधैँकी विजेता सन्तोषी (एथलेटिक्स)
सन् २०१९ मा घरेलु मैदानमा भएको १३औं सागमा १० हजार मिटर दौडकी स्वर्णपदक विजेता सन्तोषी श्रेष्ठका लागि गत वर्ष फलिफाप रह्यो। धादिङकी सन्तोषीले यो वर्ष सहभागिता जनाएकी हरेकजसो प्रतियोगितामा उपाधि जितिन्। 

सन्तोषीले यही वर्ष बंगलादेशमा भएको बंगबन्धुमा दक्षिण एसियालीतर्फ म्याराथनमा स्वर्ण पदक जितिन्। म्याराथनको डेब्यूमै राष्ट्रिय कीर्तिमानसहित उनले स्वर्णपदक जितेकी हुन्। 

बंगलादेशमा भएको बंगबन्धु शेख मुजिब ढाका इन्टरनेसनल म्याराथनमा सन्तोषीले पुष्पा भण्डारीको नाममा रहेको राष्ट्रिय कीर्तिमानलाई तोडेकी हुन्। 

गत वर्ष उनले नवौँ धारा नेपालगन्ज म्याराथनमा हाफ म्याराथनमा स्वर्ण जितेकी थिइन्। त्यसपछि उनले सहभागिता जनाएका नेपालगन्ज म्याराथन, पोखरा हाफ म्याराथन, धरानमा १० के रन र प्रधानसेनापति हाफ म्याराथनमा गरी एकै महिनामा चार उपाधि जितिन्।

च्याम्पियन अनन्त (फुटबल)
नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्डर अनन्त तामाङका लागि वर्ष २०८० सम्झनलायक रह्यो। उनले घरेलु फुटबलमा एकै वर्ष दुई फरक क्लबबाट लिग उपाधि उचाले। 

नेपाल सुपर लिग (एनएसएल) का सर्वोत्कृष्ट खेलाडी अनन्तले ललितपुर सिटी एफसीलाई आफ्नो कप्तानीमा उपाधि दिलाए। 

त्यसअघि उनले सहिद स्मारक ए डिभिजन लिगमा चर्च ब्वाइज युनाइटेड क्लबलाई च्याम्पियन बनाएका थिए। पहिलो सहभागितामा नै चर्चब्वाइजलाई च्याम्पियन बनाउँदा अनन्त लिगको पनि सर्वोत्कृष्ट खेलाडी बनेका थिए। 

सन् २०१५ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका अनन्तले गत वर्ष फिलिपिन्सविरुद्धको खेलमा ५० क्याप समेत जितेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .