खेल


स्पट फिक्सिङ प्रकरण : क्रिकेटरद्वय आदिल अन्सारी र महबुब आलमलाई सफाइ

स्पट फिक्सिङ प्रकरण :  क्रिकेटरद्वय आदिल अन्सारी र महबुब आलमलाई सफाइ

फाइल तस्बिर


नेपालखबर
चैत १२, २०८० सोमबार १८:४५, काठमाडौँ

स्पट फिक्सिङको अभियोग लागेका दुईजना क्रिकेटरसहित पाँचजनालाई जिल्ला अदालत काठमाडौंले सफाइ दिएको हो। 

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर आदिल अन्सारी र पूर्व राष्ट्रिय खेलाडी महबुब आलमसहित पाँच जनालाई जिल्ला अदालत काठमाडौंका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले सोमबार सफाइ दिएको हो। 

पाँचैजनाविरुद्ध गरिएको स्पट फिक्सिङको दाबी नपुग्ने ठहरहसित अदालतले उनीहरूलाई सफाइ दिएको छ। अदालतले अन्तिम फैसलामा दाबी नपुग्ने भन्दै सफाइ दिएको हो। 

२०७९ पुस ९ गतेदेखि २७ गतेसम्म भएको नेपाल टी-२० लिगका क्रममा उनीहरू स्पट फिक्सिङमा संलग्न रहेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले छानबिन गरेर सरकारी वकिलको कार्यालयमार्फत मुद्दा चलाएको थियो।

सम्बन्धित समाचार

सीआईबीले पक्राउ गरेका उनीहरू १० फागुन २०७९ मा अदालतले मागेको जनही ३ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए। त्यसबेला बाराको सिम्रौनगढ-३ का क्रिकेटर मोहमद आदिल आलम, सप्तरीको राजविराजका महबुब आलम र पर्साको वीरगञ्जका नितेश गुप्ता धरौटी बुझाएर छुटेका थिए।

उक्त आरोप लाग्नुअघि आदिलले नेपालका लागि ६ एक दिवसीय र ८ वटा टी-२० खेल खेलिसकेका थिए। उक्त अभियोग लागेसँगै आदिलले राष्ट्रिय टोलीमा स्थान बनाएका छैनन्।

त्यसबेला जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजलासले उनीहरूलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। 

उक्त मुद्दामा काठमाडौंको कलंकीका नविन कँडेल र सप्तरीको राजविराजका रबि माझीविरुद्ध पनि मुद्दा दर्ता भएको थियो। फरार रहेका उनीहरूले पनि उक्त मुद्दाबाट सफाइ पाएका छन्।

फिक्सिङमा भारतीयको पनि संलग्नता रहेको सीआईबीले त्यसबेला बताएको थियो। तर विदेशीलाई भने मुद्दा चलाइएको थिएन।

उनीहरू पाँचैजनालाई खेलमा मिलेमतो तथा अनियमितता गर्न नहुने कसुरमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको माग गरिएको थियो।

तर अन्तिम फैसलामा अदालतले पाँचैजनालाई राहत दिँदै सफाइको निर्णय सुनाएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .