ad ad

खेल


एसीसी महिला प्रिमियर कप: नेपालको लगातार दोस्रो जित, भुटान ८ विकेटले पराजित

एसीसी महिला प्रिमियर कप: नेपालको लगातार दोस्रो जित, भुटान ८ विकेटले पराजित

नेपालखबर
माघ २८, २०८० आइतबार १०:७, काठमाडौँ

मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले लगातार दोस्रो जित निकालेको छ। 

आइतबार बिहान भएको खेलमा नेपालले भुटानमाथि ८ विकेटको फराकिलो जित निकालेको हो। 

यसअघि शनिबार भएको समूह चरणको पहिलो खेलमा नेपालले हङकङलाई ८ विकेटले नै पराजित गरेको थियो। 

भुटानले दिएको ६६ रनको सामान्य लक्ष्य नेपालले ११.५ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो। नेपालकी सीता राना मगर ३२ र रुविना क्षत्री १७ रनमा अविजित रहे। सीताले ३७ बलमा २ चौका र १ छक्का प्रहार गरिन्। रुविनाले २४ बलमा १ चौका र १ छक्का हानिन्। 

ओपनर कविता कुवँर ५ रनमा अञ्जु गुरुङको बलमा बोल्ड आउट भइन्। कप्तान इन्दु बर्मा १ रन बनाउँदा अञ्जुली घलेको बलमा छिरिङ छोडेनको हातबाट क्याच आउट भइन्।

त्यसअघि मलेसियाको बायोमास ओभलमा टस जितेर नेपालले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको भुटानले २० ओभरमा ४ विकेट गुमाउँदै ६५ रनको योगफल तयार पारेको थियो। 

भुटानका लागि ओपनर नवाङ छोडेनले सर्वाधिक २५ रन बनाइन्। कप्तान डेचेन वाङ्गमोले १७ र छिरिङ जान्ग्मोले १६ रन बनाए। यासी छोडेन, सोनम छोडेन र अञ्जु गुरुङले समान १ रन बनाए। 

भुटानलाई कम स्कोरमा रोक्न कविता कुँवर, सिता रानामगर, इन्दु वर्मा र कविता जोशीले समान एक विकेट लिए। 

लगातार दोस्रो जितसँगै नेपालले अंक तालिकामा २ खेलबाट ४ अंक बनाउँदै शीर्ष स्थानमा छ। २ अंक भएको भुटान दोस्रो स्थानमा छ। नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार मालदिभ्ससँग खेल्नेछ। 

नेपाल रहेको समूह डी मा हङकङ, भुटान र मालदिभ्स छन्। प्रतियोगितामा सहभागी १६ टोलीलाई ४ समुहमा विभाजन गरिएको छ। समूहका शीर्ष २ टोलीले क्वार्टरफाइनलमा स्थान बनाउनेछन्। फाइनलमा पुग्ने टोली महिला एसिया कपमा छनोट हुनेछन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .