खेल


सन्दीप र रोहित चम्किँदा एपीएफले बागमतीलाई ८९ रनले हरायो

सन्दीप र रोहित चम्किँदा एपीएफले बागमतीलाई ८९ रनले हरायो

नेपालखबर
पुस २९, २०८० आइतबार १६:२४, काठमाडौँ

सन्दीप जोराको शतक र रोहित पौडेलको घातक बलिङमा बागमती प्रदेशलाई ८९ रनले पराजित गर्दै एपीएफ क्लबले प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। 

प्रतियोगितामा बागमतीको भने लगातार दोस्रो हार हो। पहिलो खेलमा बागमती नेपाल पुलिस क्लबसँग ६८ रनको फराकिलो अन्तरले पराजित भएको थियो। 

जितसँगै एपीएफ २ अंकमा अंक तालिकाको दोस्रो स्थानमा छ। मधेश प्रदेश शीर्ष र पुलिस क्लब तेस्रो स्थानमा छ। 

एपीएफले दिएको २ सय ४२ रनको विशाल लक्ष्य पछ्याएको बागमती ४२.५ ओभरमा १ सय ५२ रन बनाउँदा अलआउट भयो। 

बागमतीका लागि कप्तान रित गौतमले अर्धशतक प्रहार गरेपनि टोलीको हार टार्न सकेनन्। ८९ बलको सामना गरेका रितले ८ चौका मद्दतमा ६० रन बनाए। 

ओपनर आशुतोष घिरैयाले ४१ रन थपे। रविन जोशी २० रनमा नटआउट रहे। विवेक मगरले १५ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

बागमतीलाई कम स्कोरमा रोक्न रोहित पौडेल एक्लैले ४ विकेट लिए। रोहितले ९ ओभरमा १ मेडन राख्दै २६ रन दिए। 

अविनास बोहोरा र मौसम ढकालले समान २ विकेट लिए। पुर्ण विक र भुवन कार्कीले समान एक विकेट आफ्नो नाममा गरे। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बागमतीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको एपीएफले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २४१ रनको योगफल तयार पारेको थियो। 

एपीएफका लागि सन्दीप जोराले शतक पूरा गरे। १ सय १७ बलको सामना गरेका सन्दीपले ७ चौका र ५ छक्का मद्धतमा १ सय १२ रन बनाउँदा क्याच आउट भए। 

जारी पिएम कपमा शतक प्रहार गर्ने सन्दीप दोस्रा खेलाडी हुन्। यसअघि शनिबारको पहिलो खेलमा नेपाल पुलिस क्लबका रसिद खानले शतक हानेका थिए। 

एपीएफ एक समय १२.४ ओभरमा ५–४१ को दयनिय अवस्थामा थियो। 

छैटौँ विकेटका लागि सन्दीप जोरा र लोकेश बमले ६६ रनको साझेदारी गर्दै एपीएफको इनिङस् उकासेका थिए। 

लोकेश २७ रन बनाउँदा क्याच आउट हुन पुगे। अमर राउटेलाले २२ रन थपे। अविनास बोहोराले १८ र मौसम ढकाल १ रनमा नटआउट रहे। 
आशिफ शेख १५, प्रज्वल शाही र भुवन कार्कीले समान १० रन बनाए। 

बागमतीका लागि सुर्य तामाङ एक्लैले ३ विकेट लिए। उनले आफ्नो स्पेलमा मात्र ३२ रन दिए। रिजन ढकाल र प्रतिश जिसीले समान २ विकेट लिए। सोनु देवकोटाको नाममा एक विकेट रह्यो। 

आफ्नो दोस्रो खेलमा एपीएफले मंगलबार कोशी प्रदेशसँग खेल्ने तालिका छ। बागमतीले भने मंगलबार मधेश प्रदेशसँग खेल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad