खेल


यसपटक अझै राम्रो प्रदर्शनका साथ आउनेछौंः पारस खड्का(अन्तर्वार्ता)

यसपटक अझै राम्रो प्रदर्शनका साथ आउनेछौंः पारस खड्का(अन्तर्वार्ता)

नेपालखबर
असार १५, २०७६ आइतबार १०:४०,

सन् २०२० मा अष्ट्रेलियामा हुने आइसीसी टि–२० विश्वकपको एसिया छनौट खेल्ने नेपाली टोलीको घोषणा आइतबार भएको छ।

आइसिसीका प्रतिनिधि अमिनुल इस्लाम, मुख्य प्रशिक्षक उमेश पटुवाल र कप्तान पारस खड्काले बन्द प्रशिक्षणमा रहेका २५ जना खेलाडीबाट अन्तिम १४ जना खेलाडी छनौट गरेका हुन्।

इञ्जुरीका कारण गत जनवरीमा भएको यूएईविरुद्धको शृंखला गुमाएका अनुभवी खेलाडी शरद भेषावकर टोलीमा फर्किएका छन्। उक्त शृंखलामा पहिलोपटक टोलीमा परेका सन्दीप जोराले भने यसपटक स्थान बनाउँन सकेनन्।

टोलीमा पारससँगै अभिनास बोहरा, बसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललितनारायण राजवंशी, पवन सर्राफ, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शरद भेषावकर र सोमपाल कामी रहेका छन्।

यो पनि: नेपाल फेरि विश्वकप खेल्न कस्सियो

नेपालले त्रिवि मैदानमा झण्डै दश दिन प्रारम्भिक बन्द प्रशिक्षणपछि अन्तिम टोली घोषणा गरेको हो। केही दिन थप नेपालमै अभ्यासपछि अन्तिम तयारीका लागि नेपाली टोली जुलाई ९ मा मलेसिया प्रस्थान गर्नेछ। मलेसियामा दश दिन अभ्यास गर्ने नेपाली टोलीको कार्यक्रम छ। सो क्रममा जुलाई १३ र १४ तारिखमा नेपालले मलेसियाको राष्ट्रिय टोलीसँग दुईवटा मैत्रीपूर्ण खेल खैल्दै जुलाई १९ मा एसिया छनौट आयोजना स्थल सिंगापुर प्रस्थान गर्नेछ।

एसिया छनौटमा नेपालसहित आयोजक सिंगापुर, कुवेत, कतार र मलेसिया गरी ६ टोलीले सहभागिता जनाउँदैछन्। टि–२० प्रतियोगितामा राउण्ड रोबिन आधारमा सबै टोलीले एकअर्कासँग खेलिसकेपछि अंकतालिकाको शीर्षमा रहने एउटा टोली ग्लोबल छनौटमा पुग्ने छ।

असोजमा यूएईमा हुने ग्लोबलमा नेपालसहित १४ राष्ट्रले सहभागिता जनाउँनेछन्। त्यसमध्ये ६ राष्ट्रले विश्वकप खेल्न पाउँनेछन्।

क्यान निलम्बनमा परेपछि नेपाली टोलीमा महत्वपूर्ण व्यक्ति हुन्, पारस खड्का। उनी कप्तान र खेलाडी छनौटको दोहोरो भुमिकामा छन्। २०१४ पछि पुनः विश्वकप खेल्न आतुर रहेको नेपाली टोली र तयारीबारे आइतबार सञ्चारकर्मीसँग पारसले गरेको साक्षात्कारः

एसिया छनौटको तयारी कस्तो भइरहेको छ? घोषित १४ सदस्यीय टिम कस्तो छ?
तयारी राम्रै भइरहेको छ। सबैजना नियमित क्रिकेट पनि खेलिनै रहेका छौं। जेठमा प्रधानमन्त्री कप ५० ओभरको क्रिकेट र त्यसअघि टि–२० क्रिकेट नियमित नै खेलिरहेका थियौं। बन्द प्रशिक्षणमा नयाँ प्रशिक्षक आउँनुभएको थियो। उहाँ पहिलेदेखि नै नेपाली टिमसँग आवद्ध हुनुभएकाले सबैबारे जानकार नै हुनुहुन्थ्यो।

प्रशिक्षकका अनुसार पहिले नै टिम घोषणा भइसकेपछि राम्रो ट्रेनिङ दिन बढी समय हुन्छ। १४ प्लस ४ टिम छ। त्यसमा रिजर्भ खेलाडीहरु पनि ट्रेनिङमा हामीसँग हुनेछन्। अझपनि केही खेलाडीहरु ट्रेनिङका लागि हामी क्याम्पमै राख्नेछौं।

खेलाडी छनौट गर्दा के कुरालाई ध्यान दिइन्छ?
खेलाडीहरु जो डिजर्भ गर्छन्। जो कडा मेहनत गर्छन्। जसले प्रभाव पार्नसक्ने देखाएका छन्। तिनीहरु टिममा परेका छन्। अवश्य पनि बाहिरबाट मिडिया, समर्थकले हेर्दाखेरि कहिलेकाही हामीले छानेका खेलाडीमा असन्तुष्टि होला। तर, टिमभित्र हामीलाई थाहा छ कि, हरेक खेलाडीलाई एउटा जिम्मेवारी दिइएको छ। र, हामीले त्यस भुमिकामा उनीहरुलाई मौका पनि दिएका छौं। त्यो एउटा, दुईवटा म्याचमा मात्रै हैन्। हामीले केही समय पनि दिएका छौं।

पछिल्लो एकवर्ष खेलाडीहरुले जे जस्तो प्रदर्शन गरे। त्यसबाटै हामीले उत्कृष्ट १४ खेलाडी छान्ने प्रयास गरेका हौं। दुर्भाग्य खेलाडी छनौट हुँदा कुनैपनि खेलाडी ठिक होला या नहोला जहिलेपनि भइरहने कुरा हो। तर, टिमका रुपमा हामी प्रतिबद्ध छौं। सबै जनामा प्रदर्शनको भोक छ। छानिएका खेलाडीहरुलाई कम्तीमा तीनवर्ष अझै नेपाल क्रिकेटलाई योगदान दिने गरि छनौट गरिएको हो। अहिले हामी विस्तारै उनीहरुलाई बनाउँदैछौं। केही खेलाडी ५० ओभर र कोही खेलाडी टि–२० का लागि भनेर छानिएको छ। त्यहीकारणले हामीले १४ प्लस ४(बैकल्पिक) खेलाडी छानेका छौं।

नेपाली क्रिकेटका लागि एसिया छनौट कति महत्वपूर्ण छ?
यो प्रतियोगिता एकदमै महत्वपूर्ण छ। विजेता ग्लोबल क्वालिफायरमा पुग्ने हो। त्यो भनेको विश्वकपको लागि अन्तिम छनौट हो। अन्य टिमको तुलनामा हामीलाई दबाब पनि छ। अन्य टिमभन्दा नेपाल उच्च वरियतामा पनि छ। हामी कुनैपनि कुरालाई सजिलो गरिलिने छैनौं। हामी त्यहाँ गएर राम्रो खेल्नैपर्छ। नेपाली
क्रिकेटसँग जहिलेपनि उच्च आशा हुन्छ। त्यसले गर्दा कप्तानका हिसाबले ममा पनि यो बाधा(एसिया छनौट)लाई पार गराउँनु पर्ने जिम्मेवारी छ। त्यसपछिमात्रै हामीले विश्वकपको सपना देख्न सक्छौं। अहिलेको लागि धेरै अगाडीको सोच्नुभन्दा पनि हाम्रो अगाडी आएको यस प्रतियोगितामा केन्द्रीत हुन आवश्यक छ। तयारीका हिसाबले हामी खुशी छौं। आशा गरौं, हामीले प्रतियोगितामा तयारी अनुरुप खेल्न सकौं।

हामी मलेसियामा पनि दुई वटा टि–२० अन्तर्राष्ट्रिय खेल्न गइरहेका छौं। कन्डिसनका रुपमा पनि सिंगापुर मलेसिया एउटा एउटै भएको हुनाले त्यसले हामीलाई सहयोग गर्छ। महत्वपूर्ण कुरा, अन्त्यमा नतिजाले नै अर्थ राख्ने हो। जे कुरा हाम्रो अघि छ, त्यसमा हामी उत्साहित छौं। विश्वकप खेल्ने अवसर छ हामीसँग र त्यसको सुरुवात यो प्रतियोगिताबाट नै हुनेछ। त्यसपछि हामीले निरन्तर रुपमा हामीले क्रिकेट खेल्नुपर्छ। 

मध्यक्रममा खेल्ने शरद भेषावकर टिममा फर्कनुभएको छ। तर, मध्यक्रममा नेपाली टोलीमा निकै प्रतिस्पर्धा छ। उहाँको खेल्ने स्थान परिवर्तन हुन्छ कि के हुन्छ?
हामी विभिन्न विकल्पहरु हेरिरहेका छौं। इञ्जुरीका कारण पछिल्ला केही प्रतियोगितामा शरद टोलीमा रहेनन्। उनी अनुभवी खेलाडी हुन्। जुनसुकै भुमिका तपाईलाई दिएपनि त्यस भुमिकामा दिइएको जिम्मेवारी पूरा गर्नसक्नुपर्छ। हामी व्यक्तिगत रुपमा भन्दा पनि टिमका हिसाबले हेरिरहेका छौं। आशा गरौं टिमका हिसाबले हामी प्रदर्शन गर्न सकौं। किनकी हामी टिम भएर नै जित्ने हो र त्यसको जिम्मेवारी पनि टिमले नै लिने हो। कुनै व्यक्ति भन्दा पनि हाम्रो टिममा निकै राम्रो वातावरण छ। अन्तिम अन्तर्राष्ट्रिय शृंखला(यूएर्ईविरुद्ध) हेर्ने हो भने हामीले निकै राम्रो प्रदर्शन गरेका थियौं। तर, त्यो ५ महिना अघि थियो। त्यसले गर्दा हामीले सबै नयाँ ढंगबाट सुरुवात गर्नुपर्नेछ। यसपटक हामी अझै राम्रो प्रदर्शनका साथ आउँनेछौं।

नेपालको ओपनिङमा समस्या देखिदैँ आएको छ। यसपटक ओपनिङमा केही नयाँ प्रयोग हुन्छ कि पूरानैले निरन्तरता पाउँछ?
अघि बढ्न हामीसँग निकै राम्रा विकल्पहरु छन्। ओपनिङ आफैमा सजिलो काम हैन्। तर, जसले मौका पाउँछ, त्यसले त्यो स्थानमा गएर राम्रो गर्ने अवसर पनि हो। हामीसँग ब्यालेन्स टिम छ। टिममा धेरै विकल्पहरु छन्। पहिले हामीसँग धेरै कममात्रै खेलाडीहरु हुन्थे। अहिले हेर्ने हो भने नेपालमा धेरै युवा तथा राम्रा खेलाडीहरु छन्। जसले एकअर्कासँग प्रतिस्पर्धा गरिरहेका छन्।

नयाँ प्रशिक्षक आउँदा टोलीमा कस्तो परिवर्तनको महशुस गर्नु भएको छ?
अभ्यासका तरिकाहरु त अवश्यपनि परिवर्तन भइसकेको छ। नयाँ कुरा गर्नुभन्दा पनि उहाँ हामीसँग घुलमिल हुनुहुन्छ। यसअघि पनि ब्याटिङ परामर्शदाताका रुपमा उहाँ हुँदा हामीले निकै राम्रो गरेका थियौं। अहिले मुख्य प्रशिक्षकको रुपमा आइसकेपछि उहाँमा पूरै टिमको जिम्मेवारी थपिएको छ। हामीसबै निकै उत्सुक छौं। एकआपसमा कुरा सेयर गर्छौ। प्लेयरहरुको ‘विल्डअप’ कसरी भइरहेको छ हेरिरहेका छौं।

अन्तिम अन्तर्राष्ट्रिय शृंखला जितिसकेपछि विश्वमा नै अब नेपालले के गर्ने हो? कसो गर्ने हो? भन्ने चासो बढेको थियो। खेलाडीले त्यो मनमा राखेका छन्। अहिले नयाँ प्रशिक्षक, नयाँ वातावरणले टिम निकै खुशी छ। तर, कोच जो भएपनि खेलाडीहरुले प्रदर्शन गर्नैपर्छ। अहिले जुन तयारी गरेका छौं, प्रतियोगितामा हामीले त्यो देखाउँन सक्नुपर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad