खेल


यू–१९ एसिया कप : पाकिस्तानसँग ७ विकेटले हार्‍यो नेपाल

यू–१९ एसिया कप : पाकिस्तानसँग ७ विकेटले हार्‍यो नेपाल

नेपालखबर
मंसिर २२, २०८० शुक्रबार १७:२७, काठमाडौँ

दुबईमा सुरु एसीसी यू १९ एसिया कपमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको छ। नेपालले दिएको १ सय ५३ रनको मध्यम लक्ष्य पाकिस्तानले २६.२ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो। 

तेस्रो विकेटका लागि अजान अवाइस र कप्तान साद वैगले १ सय ८ रनको साझेदारी गरेपछि पाकिस्तानले सहजै जित निकालेको हो। कप्तान तथा विकेट किपर वैग अर्धशतक पूरा गर्दै पवेलियन फर्के। ५६ बलमा ५ चौका हानेका वैग ५० रनमा आकाश त्रिपाठीको बलमा सुवास भण्डारीको हातबाट क्याच आउट भए। 

पाकिस्तानका अजान अवाइस ५६ र मोहम्मद जेसन २० रनमा नटआउट रहे। ६२ बलमा ८ चौका प्रहार गरे। मोहम्मदले ८ बलमा २ चौका र २ छक्का प्रहार गरे। 

ओपनर तथा कप्तान सजैव खान १५ रनमा क्याच आउट भए। श्यायल हुसैन शुन्य रनमा आउट भए। 

नेपालका लागि गुल्सन झा एक्लैले २ विकेट लिए। आकाश त्रिपाठीले एक विकेट आफ्नो नाममा गरे। 

त्यसअघि दुबईको आईसीसी एकेडेमी ओभल–२ मा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ४७.२ ओभरमा १ सय ५२ रन बनाउँदा अलआउट भयो। 

नेपालका उत्तम थापा मगर ५१ रन बनाउँदा क्याच आउट भए। ७६ बलमा ३ चौका र २ छक्का हानेका उत्तम अमिर हसनको बलमा क्याच आउट भए। उत्तमले ३८।३  ओभरमा ७० बलमा ३ चौका र २ छक्का हान्दै अर्धशतक पूरा गरे।  

५९ बलमा २ चौका र १ छक्का हानेका दिपेश मोहम्मद जेसनको बलमा साद वेगको हातबाट ३१ रनमा क्याच आउट हुन पुगे।  

एक समय १७ ओभरको समाप्तीमा ५–४६ को संकटपूर्ण अवस्थामा रहेको नेपालका लागि दिपेश कँडेल र उत्तम थापा मगरले महत्त्वपूर्ण साझेदारी गर्दै नेपालको इनिङस् सम्हालेका थिए। 

छैटौँ विकेटका लागि उत्तम थापा मगर र दिपेश कडेलले १ सय बलमा ६८ रनको साझेदारी गर्दै नेपालको इनिङस् उकासेका थिए।  

पाकिस्तानविरुद्ध नेपालका तिन ब्याटरले मात्र दोहोरो अंकको स्कोर छुन सके।

गुल्सन झा र विशाल विक्रम केसी १ रनमा आउट भए। कप्तान देव खनाल र विकेटकिपर विपिन रावल शुन्य रनमा पवेलियन फर्के। तिलक भण्डारीले सात र आकाश त्रिपाठीले ६ रन थपे। 

ओपनर अर्जुन कुमाल ३७ बलमा ३ चौका हान्दै २१ रन बनाउँदा मोहम्मद जेशनको बलमा साद वेगको हातबाट क्याच आउट भए।  १२ औँ ओभरको चौथो बलमा १३ बलको सामना गरेका देव मोहम्मद जेशको बलमा अलि अस्फानको हातबाट क्याच आउट हुन पुगे।

अनुभवी खेलाडी गुल्सन झा १ रनमा बोल्ड आउट भए। आठौँ ओभरको चौथो बलमा आकाश त्रिपाठी ६ रन बनाउँदा उबैद शाहको बलमा एलबीडब्लु धरापमा परे। 

नेपालले पहिलो विकेटका रुपमा ओपनर तिलन भण्डारीलाई गुमाएको थियो। ७ रन बनाएका तिलक तेस्रो ओभरको दोस्रो बलमा अमिर हसनको बलमा सादवेगको हातबाट क्याच आउट भए।  आकाश चन्द ५ रनमा आउट भए। सुवास भण्डारी ८ रनमा नटआउट रहे। 

पाकिस्तानका लागि मोहम्मद जेसन एक्लैले ६ विकेट लिए। घातक बलिङ गरेका जेसनले ९।२ ओभरमा १ मेडन राख्दै मात्र १९ रन दिए।

अमिर हसनले दुई तथा अलि अस्फन र उबैद शाहले समान १ विकेट लिए।

नेपालले समुह चरणको दोस्रो खेलमा पर्सि आइतबार अफगानिस्तानसँग खेल्नेछ। समुह चरणको अन्तिम खेलमा २६ गते नेपालले भारतसँग खेल्ने तालिका छ। 

नेपाल रहेको समुह ए मा भारत र पाकिस्तानसँगै अफगानिस्तान छन्। समुह बी मा बंगलादेश, श्रीलंका, युएई र जापान छन्। 

समुहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। फाइनल खेल पुष १ गते हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .