ad ad

खेल


उपत्यका पृतनाले उचाल्यो प्रधान सेनापति ट्रफी

उपत्यका पृतनाले उचाल्यो प्रधान सेनापति ट्रफी

नेपालखबर
असोज ३०, २०८० मंगलबार १९:११, काठमाडौँ

असोज १८ गतेबाट सुरु भएको प्रधान सेनापति ट्रफि–२०८० खेलकुद प्रतियोगिता आज (असोज ३० गते) समापन भएको छ।

तेक्वान्दो, बक्सिङ, पौडी, आर्चरी, एथलेटिक्स, सुटिङ, भलिबल, बास्केटबल र फुटबल लगायतका खेलहरू समावेश गरिएको उक्त प्रतियोगितामा पृतना, युद्ध मद्दती बाहिनी र विशेष फौज बाहिनी गरी जम्मा १४ वटा टिमहरू सहभागी थिए।

प्रधान सेनापति प्रभुराम शर्माको प्रमुख आतिथ्यमा आयोजित समापन समारोहमा बलाध्यक्ष रथी सिताराम खड्काले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए।

प्रतियोगितामा समग्रमा श्री उपत्यका पृतना प्रथम, श्री नं.१६ बाहिनी द्वितीय र श्री मध्य पूर्वी पृतना तृतीय भएका छन्। यसैगरी गणतर्फ श्री जगदल गण प्रथम, श्री पुरानो गोरख गण द्वितीय र श्री फष्टरैफल गण तृतीय भएका छन्।

जंगी अड्डाको खेल मैदानमा सम्पन्‍न समारोहमा प्रधान सेनापति शर्माले प्रतियोगितामा प्रथम श्री उपत्यका पृतना तथा गणहरू मध्य प्रथम श्री जगदल गणलाई ट्रफि, प्रमाण(पत्र तथा नगद पुरस्कार प्रदान गर्नुका साथै प्रतियोगिताका उत्कृष्ट खेलाडी एवं रेफ्रीहरुलाई पुरस्कार तथा प्रशंसा पत्र वितरण गरे।

उनले हालै सम्पन्न १९ औँ एसियाली खेलकुद प्रतियोगितामा राष्ट्रिय कीर्तिमान कायम गर्ने नेपाली सेनाका एथलेटिक्स खेलाडी अमलदार दिपक अधिकारी तथा सुटिङ खेलाडी शिल्सा भण्डारी (रायमाझी) लाई प्रशंसा पत्र तथा नगद पुरस्कार प्रदान गरे।

त्यसैगरी सोही प्रतियोगितामा कांस्य पदक प्राप्त गर्ने कबड्डी टिममा सहभागी नेपाली सेनाका खेलाडीहरु चार जना मध्ये हुद्दा मेनुका राजवंशी, सिपाही गंगा घिमिरे र सिपाही ईशा राईलाई पदोन्नति गरी पदोन्नति भएको दर्जाको दर्ज्यानी चिह्न प्रदान गर्नुको साथै प्रधान सेनापति प्रशंसा निशान प्रदान गरे।

यसैगरी सोही खेलमा सहभागी सफाइकर्मी अनुजा कुलुङ्ग राईलाई प्रधान सेनापति प्रशंसा निशान तथा नगद रु.५० हजार प्रदान गरे।

सोही क्रममा कर्तव्यपालनाको सिलसिलामा ज्यान गुमाएका फिफा सहायक रेफ्री विक्रम चौधरीको परिवारलाई नगद रु एक लाख तथा सम्मान पत्र प्रदान गरे। नेपाली सेनामा सेवारत रहेकै बखत दिवंगत भएका  हुद्दा चौधरीका छोरा तथा छोरीलाई श्री कल्याणकारी निर्देशनालयबाट सञ्चालित महाविद्यालयमा कक्षा १२ सम्म निःशुल्क अध्ययन गराउने व्यवस्था समेत गरिएको छ।

त्यसै गरी, प्रतियोगितामा द्वितीय तथा तृतीय स्थान हासिल गर्ने टिमहरुका साथै अतिरथी निर शम्शेर जबरा पुरस्कार कोषबाट पुरस्कृत खेलाडीहरुलाई पूर्वप्रधान सेनापतिहररू क्रमशः प्यारजंग थापा (अप्रा), राजेन्द्र क्षत्री (अप्रा), पूर्णचन्द्र थापा (अप्रा) र बलाध्यक्ष रथी सिताराम खड्काले पुरस्कार प्रदान गरे।

समारोहमा युवा तथा खेलकुद मन्त्रालयका सचिव, पूर्वप्रधान सेनापतिहरू, बहालवाला तथा अवकाश प्राप्त रथीबृन्द, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, राष्ट्रिय खेलकुद परिषद् तथा विभिन्‍न खेलकुद सङ्घका पदाधिकारीहरु, सैनिक श्रीमती सङ्घका अध्यक्ष तथा पदाधिकारीहरू, सैनिक सहचारीहरू, सशस्त्र प्रहरी बल, नेपालका प्रतिनिधि एवं सञ्चारकर्मीहरुको उपस्थिति थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .