ad ad

खेल


कबड्डीबाट मेडल पक्का गरेपछि सरकारलाई कप्तान मेनुकाको बिन्ती : काठमाडौंमा एउटा हल त बनाइदिनुस्

कबड्डीबाट मेडल पक्का गरेपछि सरकारलाई कप्तान मेनुकाको बिन्ती : काठमाडौंमा एउटा हल त बनाइदिनुस्

नेपालखबर
असोज १५, २०८० सोमबार १४:३०, काठमाडौँ

चीनमा हाङझाओमा जारी एसियाली खेलकुदमा अन्य खेलले निराश बनाइरहेका बेला नेपालका लागि महिला कबड्डी टोलीले इज्जत राखिदिने भएको छ।

नेपालको राष्ट्रिय महिला कबड्डी टोलीले १९ औँ एसियाडमा पदक जित्ने सम्भावना बलियो बनाएको हो। 

सोमबार बिहान भएको खेलमा नेपालले बंगलादेशलाई ३७–२४ ले हराउँदै कास्य पदक जित्ने सम्भावना बलियो बनाएको हो।

नेपाल नै रहेको समूहको अर्को खेलमा इरानले बंगलादेशलाई पराजित गरेमा नेपालको कास्य पदक पक्का हुनेछ। 

नेपाललाई कम्तीमा कास्य पदक पक्का गरेपछि नेपाली महिला कबड्डी टोलीकी कप्तान मेनुका कुमारी राजवंशीले अब घाँटीमा मेडल लगाउने पक्का भएको बताइन्। 

‘पहिलेदेखि नै बंगलादेशलाई जित्छौँ भन्ने आत्मविश्वास थियो। अब मेडल लाउन पाउँदैछौँ, खुसी छौँ’, उनले खेलपछि भनिन्, ‘मैले १४/१५ वर्ष भयो गेम खेल्न थालेको छ। आज एउटा सपना पूरा भयो। कबड्डीका लागि विश्वकप र ओलम्पिक भनेको यही एसियाड हो।’

मेनुकाले भारतको हरियाणास्थित चर्को गर्मीमा पनि प्रशिक्षण लिएर आत्मबल बलियो बनाउँदा पदकनजिक पुगेको बताइन्। 

‘हामीले गुरुकुलमा बसेर हरियाणाको चर्को गर्मीमा तालिम लियौँ। हामीले केही न केही जित्ने गरी तालिम गर्नुपर्छ भनेका थियौँ। हरियाणामा तालिम गर्दै हावा खाँदै गयौँ’, उनले भनिन्, ‘भारत र नेपालमा पसिना बगाएको हाम्रो मिहिनेत अब सफल हुने अवस्थामा पुगेको छ।’ 

उनले नेपालको परम्परागत खेल भए पनि कबड्डीलाई हेपिएको गुनासो पनि गरिन्।

‘अब हामीले सबैलाई सरहरुलाई कबड्डीलाई भलिबल, बास्केटबल, फुटबल र क्रिकेटलाई हेरे जस्तै हेरिदिनुस् भन्छौँ। कबड्डी संघ, राष्ट्रिय खेलकुद परिषद् र सरकारलाई हाम्रो बिन्ती छ काठमाडौंमा हामीलाई एउटा हल चाहियो।’ 

उनले भारतबाट प्रशिक्षण गरेर आउँदा हल अभावमा दशरथ रंगशालामै प्रशिक्षण गरेको बताइन्। 

‘भारतबाट फर्किएर आउँदा हामीलाई काठमाडौंमा हल नै भएन। रंगशालामै प्रशिक्षण गर्यौँ’, उनले भनिन्, ‘हल नहुँदा ग्राउन्डमै प्रशिक्षण गरेका थियौँ। कम्तीमा सरकारले यो कबड्डीको हल हो है भन्ने हाम्रा लागि बनाइदिनुस्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .