ad ad

खेल


विश्वकप छनोट खेल्ने नेपालको सपना फेरि पनि अधुरै

विश्वकप छनोट खेल्ने नेपालको सपना फेरि पनि अधुरै

फाइल तस्बिर


नेपालखबर
भदौ २२, २०८० शुक्रबार १०:१७, काठमाडौँ

आईसीसी टी-२० महिला विश्वकप एसिया क्षेत्र छनोटमा थाइल्यान्डसँग हारेसँगै नेपालको ग्लोबल छनोट खेल्ने सपना यसपटक पनि अधुरै भएको छ। 

शुक्रबार भएको पहिलो सेमिफाइल खेलमा नेपाल थाइल्यान्डसँग ४६ रनको फराकिलो अन्तरले हारेको हो।

सन् २०१३ देखि भइरहेको ग्लोबल छनोटमा नेपाल अहिलेसम्म पुग्न सकेको छैन। 

समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले अपराजित रुपमा सेमिफाइलमा स्थान बनाएको थियो। 

आजको खेलमा बलियो टोली थाइल्यान्डलाई हराएको भए नेपाल पहिलोपटक ग्लोबल छनोटमा पुग्ने थियो।

थाइल्यान्डविरुद्ध खराब ब्याटिङ गरेको नेपाल ३ बलअगावै ५९ रनमा अलआउट भयो। 

निकै खराब सुरुवात गरेको नेपालले दोस्रो ओभरमै ३ विकेट गुमाउँदा मात्र ३ रन बनाउन सक्यो। 

तीन खेलाडीले दोहोरो अंकको स्कोर छोए। तीन खेलाडी शून्य रनमा आउट भए। 

कविता कुँवरले बनाएको अविजित १७ रन नै नेपालमा लागि सर्वाधिक रह्यो। 

ओपनर काजल श्रेष्ठ शून्य र सीता रानामगर ४ रनमा क्याच आउट भए। इन्दु बर्मा ३ रनमा क्याच आउट भइन्। २ बलको सामना गरेकी कप्तान रुविना क्षेत्री शून्य रनमै एलबीडब्ल्यू धरापमा पर्दै पवेलियन फर्किइन्। ४ बल खेलेकी बिन्दु रावल शून्य रनमै एलबीडब्ल्यू धरापमा परिन्। 

२८ बल खेलेकी कविता जोशीले एक चौका मद्दतमा १० रन बनाइन्। २७ बलको सामना गरेकी अप्तसी बेगमले १ चौका हान्दै १० रन बनाउँदा क्याच आउट भइन्। 

पूजा महतो ४ रनमा क्याच आउट भइन्। अस्मिना कर्माचार्य ३ र खुसी डंगोल १ रनमा आउट भए। 

त्यसअघि मलेसियाको बांगीमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा १ सय ५ रनको योगफल तयार पारेको थियो। 

नेपालकी कविता कुवँरले ४ ओभरमा १ मेडन राख्दै १७ रन दिएर १ विकेट लिइन्। कविता जोसीले ३ ओभरमा १२ र इन्दु बर्माले २ ओभरमा १५ रन खर्चिए। 

रुविना क्षत्रीले ४ ओभरमा २१ रन दिदा पूजा महतोले ३ ओभरमा २० रन दिएर १ विकेट आफ्नो नाममा गरिन्। सीता राना मगर र खुसी डंगोलले समान २ ओभरमा १० रन दिए।

दोस्रो विकेटका लागि ओपनर नन्नपत कोन्चरोएनकाई र नटाङकन चनतमले ६८ रनको साझेदारी गरेका थिए। 

४५ बलमा २ चौका प्रहार गरेकी नटाङकन ३१ रन बनाउदा पूजा महतोको बलमा काजल श्रेष्ठको हातबाट क्याच आउट भइन्।

नेपालले पहिलो विकेटका रुपमा ओपनर सुवानन खियाओटोलाई २ रनमा कविता कुवँरको बलमा कप्तान रुविना क्षत्रीको हातबाट क्याच आउट गराएको थियो। 

नन्नपत ५९ र चनिदा सुचिरुङ ११ रनमा नटआउट रहे। नन्नपतले ६३ बलमा चार चौका प्रहार गरिन्। 

नेपाललाई हराउँदै फाइनलमा स्थान बनाएसँगै थाइल्यान्डले ग्लोबल छनोटमा स्थान सुरक्षित गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .