ad ad

खेल


आयल निगमद्वारा मनाङ मर्स्याङ्दीको ‘टाइटल’ प्रायोजन

आयल निगमद्वारा मनाङ मर्स्याङ्दीको ‘टाइटल’ प्रायोजन

नेपालखबर
माघ ६, २०७६ सोमबार १०:४३,

 नेपाल आयल निगमले सामाजिक उत्तरदायित्वअन्तर्गत मनाङ मर्स्याङ्दी फुटबल क्लबलाई एक वर्षका लागि ‘टाइटल’ प्रायोजन गरेको छ। आज यहाँ आयोजित कार्यक्रममा निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल र क्लबका अध्यक्ष छिमी उर्गेन गुरुङले प्रायोजनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे।

सम्झौतासँगै निगमले मनाङ मर्स्याङ्दीलाई रु ३५ लाख उपलब्ध गराएको छ। निगमका कार्यकारी निर्देशक पौडेलले क्लबका अध्यक्ष गुरुङलाई प्रायोजन रकममध्ये ५० प्रतिशत रकमको चेक हस्तान्तरण गरे।

निगमको स्वर्ण जयन्तीका अवसरमा आयोजित कार्यक्रममा कार्यकारी निर्देशक पौडेलले क्लबलाई मुख्य प्रायोजन गर्ने घोषणा गरेका थिए। निगमले बाँकी रकम एक वर्षभित्र उपलब्ध गराउनेछ। आठ पटकसम्म राष्ट्रिय लिग च्याम्पियन बनेको क्लबका लागि यो हालसम्मकै सर्वाधिक ठूलो प्रायोजन हो।

सो अवसरमा निगमका कार्यकारी निर्देशक पौडेलले खेलकूद क्षेत्रलाई उत्थान गर्न निगमले थप स्रोतसाधन परिचालन गर्ने बताए। ‘यो शुरुआत मात्र हो’, उनले भने, ‘अब निगमले नेपाली फुटबलमा योगदान गर्नेछ। यो सहयोग मनाङको मात्रै नभएर नेपाली फुटबलका लागि पनि हो।’ उनले यसअघि आर्थिक स्थिति बलियो नहुँदा निगम खेलकूदबाट बाहिर रहेपनि अबका दिनमा खेलकूद क्षेत्रमा सहयोग गर्ने बताए।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा शेर्पाले निगमले प्रायोजन गरेसँगै नेपाली फुटबलको विकासमा थप योगदान मिलेको बताए। ‘निगमको सहयोगसँगै नेपाली फुटबलले पुनः जीवन पाएको छ।’ क्लबका अध्यक्ष गुरुङले निगमको प्रायोजनसँगै नेपाली फुटबल नयाँ चरणमा प्रवेश गरेको बताए। ‘अब क्लब र संस्थालाई उच्च प्राथमिकता दिई खेलाडी प्रस्तुत हुनेछन्’, उनले भने। निगम र क्लबबीच भएको सम्झौताले आगामी दिनमा पनि निरन्तरता पाउने उनको विश्वास थियो।

सो अवसरमा निगमका कार्यकारी निर्देशक पौडेलले निगमको प्रतीक चिह्न अंकित जर्सी क्लबका कप्तान कलम श्रेष्ठ र सहकप्तान अञ्जन विष्टलाई हस्तान्तरण गरेका थिए। मनाङ मर्स्याङ्दीले एक वर्षसम्म निगमको लोगो अंकित जर्सी प्रयोग गर्नेछ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .