जापानको फुकुओका सहरमा आयोजना हुने वर्ल्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा सहभागी हुन नेपाली पौडी टोली बुधबार त्यसतर्फ प्रस्थान गर्ने भएको छ।
नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्गले मंगलबार बिदाई गरे।
ओलम्पिकको छनौट प्रतियोगिता समेत रहेको च्याम्पियनसिपमा गौरिका सिंह, एलेक्जेन्डर गादेगाद शाह, डुवाना लामा र नासिर याह्या हुसेनले प्रतिस्पर्धा गर्नेछन्।
नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यको नेतृत्वमा जापान जाने टोलीमा टिम प्रशिक्षकमा ओलम्पियन नयना शाक्य, टिम व्यवस्थापकमा नरेश बैद्य र अफिसियलमा संजय शाह रहेका छन्।
च्याम्पियनसिपमा २३ तारिख नासिरले ४०० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने छन् भने २४ मा गौरिकाले १०० मिटर ब्याकस्ट्रोक र नासिरले २०० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने छन्।
२५ तारिख डुवानाले २०० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने छिन्। २६ तारिख गौरिकाले ५० मिटर ब्याक स्ट्रोक र एलेक्जेन्डरले १०० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने छन्। २७ तारिख डुवानाले १०० मिटर फ्रिस्टायलमा र २८ तारिख एलेक्जेन्डरले ५० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने छन्।
सोही अवसरमा अध्यक्ष अशोक बज्राचार्यले श्रावण ७ देखि १३ गतेसम्म हुने च्याम्पियनसिपका दौरान वर्ल्ड एक्वाटिक कंग्रेसमा सहभागिता जनाउने छन्।
टोली बुधबार जापान प्रस्थान गर्नेछ।
Shares
प्रतिक्रिया