पूर्व कप्तान महेन्द्रसिंह धोनीलाई बाहिर राख्दै भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले सन् २०२० का लागि नयाँ कन्ट्रयाक्ट सार्वजनिक गरेको छ।
२७ खेलाडी सम्मिलित यो कन्ट्रयाक्टमा भारतीय टिमका पूर्व कप्तान धोनी भने परेका छैनन्। बीसीसीआईले प्रत्येक वर्ष खेलाडीहरुसँग कन्ट्रयाक्ट गर्दै त्यस वर्षको टोली घोषणा गर्ने गर्दछ्।
पछिल्लोपटक इंग्ल्यान्डमा सम्पन्न एकदिवसीय विश्वकपमा भारतका लागि खेलेका धोनीले त्यसयता व्यक्तिगत कारण देखाउँदै टोलीबाट बाहिर रहँदै आएका थिए। बिहीबार सार्वजनिक भएको कन्ट्रयाक्ट सूचीमा धोनी धोनी परेका छैनन्।
बीसीसीआईले अक्टोबर २०१९ देखि सेप्टेम्बर २०२० सम्मका लागि घोषणा गरेको सूचीमा खेलाडीलाई ४ श्रेणीमा विभाजन गरिएको छ। ‘ए प्लस’ श्रेणीमा पर्ने खेलाडीले ७ करोड, ‘ए’ श्रेणीका खेलाडीले ५ करोड, ‘बी’ श्रेणीकाले ३ करोड र ‘सी’ श्रेणीका खेलाडीले १ करोड रुपैयाँ पाउनेछन्।
यस सिजनका लागि घोषित टोलीमा कप्तान विराट कोहली र उपकप्तान रोहित शर्मासँगै जस्प्रित बुमराह ‘ए’ प्लस श्रेणीमा रहेका छन्। ‘ए’मा ११ खेलाडी छन् भने ‘बी’मा ५ र ‘सी’ मा ८ खेलाडी समावेश गरिएका छन्।
‘ए’ श्रेणीमा रविचन्द्रन आश्विन, रविन्द्र जडेजा, भुवनेश्वर कुमार, चेतेश्वोर पुजार, अजिंक्या रहाने, केएल राहुल. शिखर धवन, मोहमद शामी, कुलदीप यादव, ऋषभ पन्त छन्।
‘बी’ श्रेणीमा रिद्धिमान शाह, उमेश यादव, युजवेंद्र चहल, हार्दिक पान्डे, मयंक अग्रवाल तथा ‘सी’ श्रेणीमा केदार जाधव, नवदीप सैनी, दीपक चाहर, मनिष पाण्डे, हनुमा विहारी, शार्दुल ठाकुर, श्रेयस ऐर, वासिंगटन सुन्दर रहेका छन्।
सन् २०१४ डिसेम्बरमा टेस्ट क्रिकेटबाट संन्यास लिएका धोनीले सन् २०१७ जनवरीमा कप्तानको भूमिकाबाट पनि राजीनामा दिएका थिए।
विश्वकपपछि भारतका लागि कुनै किसिमको क्रिकेट नखेलेका उनले छिट्टै सन्यास लिने तयारी गरिरहेको पनि पनि चर्चा चलेको छ। धोनीले हालसम्म ३ सय ५० एकदिवसीय र ९८ टि–२० अन्तर्राष्ट्रिय खेलेका छन्। धोनीको कप्तानीमा भारतले सन् २००७ मा टि–२० विश्वकप, सन् २०११ एकदिवसीय विश्वकप र सन् २०१३ मा च्याम्पियन्स ट्रफी उपाधि जितेको थियो।
खेलाडी सूचीमा समावेश नभएसँगै धोनी अब सन् २०२० मा अष्ट्रेलियामा हुने टि–२० विश्वकपमा समेत नखेल्ने सम्भावना बढेको छ।
प्रतिक्रिया