ad ad

खेल


तेस्रो अन्नपूर्ण म्याराथनको उपाधि बुढा र भण्डारीलाई

तेस्रो अन्नपूर्ण म्याराथनको उपाधि बुढा र भण्डारीलाई

नेपालखबर
जेठ २०, २०८० शनिबार १७:५७, काठमाडौँ

तेस्रो अन्नपूर्ण म्याराथनको उपाधि जुम्लाका धिरबहादुर बुढा र गणना भण्डारीले जितेका छन्।

अन्नपूर्ण सेञ्चुरी महोत्सब अन्तर्गत शनिबार सम्पन्न ४२.१९५ किमि दौडमा पुरुषतर्फ जुम्लाका धिरबहादुर र महिलातर्फ जुम्लाकै गणना भण्डारीले जितेका छन्। विश्वकै कठिन रुट अन्नपूर्ण हिमालको काखबाट सुरू भएको दौड धिरबहादुरले ४ घन्टा १० मिनेट ५१ सेकेण्डमा पुरा गरेको प्रतियोगिताका मुख्य निर्णायक चन्द्र गुरुङले पोखरा स्पोर्टसलाई जानकारी दिएका छन्।

निकै प्रतिस्पर्धात्मक रहेको प्रतियोगितामा धिरबहादुरले नेपाल आर्मीका होमलाल श्रेष्ठलाई २ मिनेट ३२ सेकेण्डले पछि पारेका थिए। 

नेपाल आर्मीका होमलालले ४ घन्टा १२ मिनेट १९ सेकेण्डमा दुरी पार गरी दोश्रो स्थान प्राप्त गर्न सफल भए भने नेपाल आर्मीकै बेद बहादुर सुनुवारले ४ घन्टा १६ मिनेट ४८ सेकेण्डमा दुरी पार गरी तेस्रो भएका छन्।

महिला तर्फ पहिलो स्थान हुने क्रममा गणनाले ५ घन्टा ४३ मिनेट ०२ सेकेण्डमा दूरी पार गरिन्। त्यस्तै धादिङकी रशिला तामाङले ६ घन्टा ५ मिनेट ०२ सेकेण्डमा दुरी पार गर्दै दोश्रो स्थान प्राप्त गर्दा ओखलढुङ्गाकी चोकी शेर्पाले ६ घन्टा ११ मिनेट १६ सेकेण्डमा दौड पूरा गरी तेस्रो भएकी छन्।

म्याराथन पुरुषतर्फ प्रथम हुने धावकले १ लाख ५० हजार, दोस्रो हुनेले १ लाख र तेस्रो हुनेले ७५ हजार पुरस्कार प्राप्त गरे। यस्तै महिलातर्फ प्रथम हुने धावकले ७५ हजार, दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्। बिजेताहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्रराज श्रेष्ठलगायतले नगद, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए।

म्याराथन जेठ २० गते अन्नपूर्ण हिमालको आधार शिविरबाट सुरु भएर म्याराथन माछापुच्छ्रे आधार शिविर, बगर, देउराली, किम्रोङखोला, उरी हुँदै घान्द्रुकमा आएर सम्पन्न भएको हो। म्याराथन प्रतियोगितामा ९ महिला र ४० पुरुष गरी ४९ धावकको सहभागिता रहेको थियो।

कास्कीको अन्नपूर्ण गाउँपालिका घान्द्रुकमा अन्नपूर्ण आरोहण दिवसको अवसरमा तेस्रो अन्नपूर्ण म्याराथन तथा सेन्चुरी पर्यटन महोत्सव सञ्चालन भइरहेको छ। सन् १९५० जुन ३ तारिखमा फ्रान्सेली मौसिर हर्जोगको टोलीले अन्नपूर्ण हिमालको चुचुरोमा पाइला टेकेको दिनलाई अन्नपूर्ण आरोहण दिवसको अवसरमा अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले म्याराथनको समेत आयोजना गर्दै आएको छ। m

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .