खेल


तेक्वान्दो खेलाडीलाई लिसैखु पाखर पालिकाले दियो २ लाख

तेक्वान्दो खेलाडीलाई लिसैखु पाखर पालिकाले दियो २ लाख

नेपालखबर
जेठ १०, २०८० बुधबार १३:५०, काठमाडौँ

सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिकाले विश्व तेक्वान्दो प्रतियोगितामा भाग लिन जाने खेलाडीलाई दुई लाख नगद सहयोग गरेको छ।  

बुधबार नेपाल तेक्वान्दो संघको केन्द्रीय कार्यालय सातदोबाटोमा आयोजित एक कार्यक्रममा लिसंखु पाखर गाउँपालिकाका अध्यक्ष राजु लामाले सहयोग रकमको चेक खेलाडी काजल श्रेष्ठलाई हस्तान्तरण गरेका हुन्। उनले स्थानीय सरकारले युवा प्रतिभाहरूलाई सहयोग गर्ने नीति रहेको बताउँदै सार्ककी स्वर्ण विजेता काजललाई हौसला र मनोबलका लागि सहयोग गरेको जानकारी दिए।

'हामी गाउँपालिका भित्रका सबैखाले प्रतिभाको पहिचान गर्ने क्रममा छौं, खेलकुदलगायत हरेक क्षेत्रका प्रतिभालाई प्रोत्साहित गर्ने हाम्रो नीति छ,' उनले भने।ु उनले पालिकाले खेल, खेलाडी र देशका लागि सहयोग जारी राख्ने पनि बताए।

सहयोग हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल तेक्वान्दो संघका महासचिव दीपराज गुरुङले संघीयता कार्यान्वयनको यस अवधिमा स्थानीय सरकारले संघको कार्यालयमा आएर खेलाडीलाई सहयोग गरेको र थप सहयोग गर्ने प्रतिवद्धता जनाएको यो पहिलो घटना भएको बताए।

'हामी खुसी छौं, लिसंखु पाखरका अध्यक्ष राजु लामा र सिंगो पालिकालाई धन्यवाद, यो अरु स्थानीय सरकारलाई पनि सन्देश हो,' उनले भने। 

तेक्वान्दो संघ सिन्धुपाल्चोकका अध्यक्ष प्रेम भण्डारीले पालिकाको सहयोगप्रति खुसी व्यक्त गरे। यसबाट सम्पूर्ण खेलाडी र खेलप्रेमीलाई हौसला मिलेको उनले बताए।

लिसंखु पाखर गाउँपालिका वडा नं ५ की काजल सार्कमा स्वर्ण पदक बिजेता खेलाडी हुन्। यही जेठ १५ गते देखि अजरबैजानमा हुने विश्व तेक्वान्दो प्रतियोगितामा सहभागिता जनाउन चाहेकी उनलाई खर्च अभावले अप्ठेरो परेको थियो।

गाउँपालिकाको सहयोग पछि अब उनले खेल्न जान पाउने भएकोमा खुसी व्यक्त गरेकी छन्। प्रतियोगितामा विश्व भरका २०० देशले सहभागिता जनाउँदै छन्। नेपालका तर्फबाट ८ खेलाडी र २ जना कोच विहिबार जेठ ११ गते अजरबैजान प्रस्थान गर्दै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .