ad ad

खेल


एउटै क्लबका साम्बा, सरु र रेनुका पहिलोपटक एकअर्काविरुद्ध मैदान उत्रिँदै

एउटै क्लबका साम्बा, सरु र रेनुका पहिलोपटक एकअर्काविरुद्ध मैदान उत्रिँदै

नेपालखबर
जेठ ६, २०८० शनिबार ७:१३, काठमाडौँ

घरेलु फुटबल प्रतियोगिता होस् वा बाहिरी मुलुकसँगको प्रतिस्पर्धा- राष्ट्रिय टोलीकी फरवार्ड सावित्रा भण्डारी तथा मिडफिल्डरद्वय सरु लिम्बु र रेनुका नगरकोटे तीनै जनाको लक्ष्य उपाधि हुन्छ। 

यसपटक भने उनीहरु पहिलोपटक भारतीय महिला लिगका लागि एकअर्काविरुद्ध मैदानमा उत्रिँदै छन्।

भारतमा जारी भारतीय महिला लिगको उपाधिका लागि साम्बाविरुद्ध सरु र रेनुका आइतबार भिड्दै छन्।

तेस्रो सिजन आई लिगमा सहभागिता जनाएकी साम्बा गोकुलम केरलालाई उपाधिमा ह्याट्रिक गराउन लागिपर्दा सरु र रेनुका किकस्टारलाई पहिलोपटक उपाधि दिलाउन बल गर्नेछन्। 

सरु र रेनुका आफू सम्मिलित टोली किकस्टारलाई आई लिगमा पहिलो सहभागितामै फाइनलमा पुर्‍याउन सफल भए। किकस्टार नेपाली टोलीकै कप्तान एञ्जिला तुम्बाप्पो सुब्बा रहेको सेथु एफसीलाई २–० ले हराउँदै उपाधिनजिक पुगेको हो। 

यता साम्बाको टोली गोकुलमले भने इस्टर्न स्पोर्टिङलाई ५–१ ले हराउँदै सरु र रेनुका सम्मिलित किकस्टारसँगको भेट पक्का गरेको हो। सेमिफाइनलमा साम्बाले दुई गोल गर्दा दुई गोलमा असिस्टसमेत दिइन्। 

जारी आई लिगमा साम्बा २८ गोल गर्दै सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छिन्। 

गोकुलम लगातार तेस्रोपटक उपाधि जित्दै ह्याट्रिक गर्ने दाउमा छ। गोकुलमले यसअघि सन् २०१९–२० मा क्रिस्पा एफसीलाई हराउँदै पहिलोपटक जितेको थियो। सोही सिजन साम्बा १६ गोल गर्दै प्रतियोगिताको सर्वाधिक गोलकर्ता बनेकी थिइन्।

२०२०–२१ मा कोभिड-१९ का कारण प्रतियोगिता हुन सकेन। सन् २०२१–२२ भने गोकुलमले सेथुलाइ हराउँदै लगातार दोस्रोपटक उपाधि जितेको थियो। 

तेस्रोपटक आई लिग खेलेकी साम्बाले पहिलो सहभागितामै सेथुलाई उपाधि दिलाएकी थिइन्। दोस्रो सिजन गोकुलममा आबद्ध साम्बाले क्लबलाई च्याम्पियन बनाउन महत्त्वपूर्ण भूमिका खेलिन्। 

घरेलु फुटबलमा एकै क्लबमा आबद्ध साम्बा, सरु र रेनुका पहिलोपटक एकअर्काविरुद्ध मैदान उत्रन लागेका हुन्। राष्ट्रिय टोलीका यी तीनै खेलाडी विभागीय टोली एपीएफ फुटबल क्लबमा आबद्ध छन्। 

यो सिजन आई लिगमा राष्ट्रिय टोलीका ६ खेलाडीले सहभागिता जनाए। आई लिगमा पहिलोपटक यति धेरै नेपाली खेलाडीले मौका पाएका हुन्। यसअघि साम्बा र अनिताले भारतमा व्यावसायिक लिग खेलेका थिए। 

आई लिगमा राष्ट्रिय टोलीकी कप्तान एञ्जिालाको टोली सेमिफाइनलमा किकस्टारसँग हार्‍यो। अपराजित रुपमा सेमिफाइनल पुगेको एञ्जिलाको टोली पहिलो हार भोग्दै बाहिरियो। 

नेपाली टोली तथा नेपाल पुलिस क्लबकी रेखा पौडेलको टोली स्पोर्ट्स ओडिसा भने क्वार्टरफाइनलबाट घर फर्कियो। एपीएफ क्लबकै अनिता बस्नेत सम्मिलित लर्डस् एफसी भने समूह चरणबाटै बाहिरियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .