कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको पाँचौँ चरणको अन्तिम खेलमा बिहीबार त्रिभुवन आर्मी क्लव र सरस्वती युथ क्लबबीच प्रतिस्पर्धा हुँदै छ। काठमाडौको दशरथ रगंशालामा दिउँसो ३ बजे हुने खेलमा लय समातेको आर्मी ३ अंक लिने योजनामा हुनेछ।
आजको खेलमा सरस्वतीलाई पराजित गर्दै आर्मी अंक तालिकाको शिर्ष स्थानमा उक्लने दाउमा छ। लिगमा ४ खेल खेलेको आर्मीको ९ अंक छ। आजको खेलमा जित हात पारे आर्मीको १२ अंक हुनेछ। शिर्षस्थानको मनाङको ११, मछिन्द्रको १० र थ्रीस्टारको १० अंक छ।
पहिलो खेलमा फ्रेण्ड्सलाई २–१ ले पराजित गरेको आर्मीले दोस्रो खेलमा मनाङसँग १–० को हार भोगेको थियो। आर्मीले तेस्रो खेलमा हिमालयन शेर्पा र चौथो खेलमा थ्री स्टारलाई समान २–० ले पाखा लगाएको थियो। सन्तोष तामाङ, नवयुग श्रेष्ठ, सुमन अर्याल, भरत खवास, जर्ज प्रिन्स कार्की, सेसेहाङ आङदेम्वे जस्ता नाम चलेका खेलाडीको साथ आर्मीलाई छ।
सरस्वती भने रेलिगेशनबाट बच्ने दाउमा छ। लिगमा हालसम्मका चारै खेल गुमाएको सरस्वतीले खाता खोल्न सकेको छैन। रेलिगेसनबाट बच्न सरस्वतीलाई जितको विकल्प छैन। सरस्वती एनआरटीसँग ४–०, जावलाखेलसँग १–०, पुलिससँग २–० तथा एपीएफसँग २–१ ले पराजित भएको थियो।

प्रतिक्रिया