ad ad

खेल


वर्ष २०७९ – विवादै विवादमा रुमलिएको नेपाली फुटबल

वर्ष २०७९ – विवादै विवादमा रुमलिएको नेपाली फुटबल

फाइल तस्बिर


लक्ष्मी जि.सी
चैत ३०, २०७९ बिहिबार १६:१९, काठमाडौँ

शहिद स्मारक ए डिभिजन लिगअन्तर्गत सातौँ चरणको अन्तिम खेलमा मनाङ मर्स्याङ्दी क्लबसँग १–१ को बराबरीपछि थ्रीस्टारका मुख्य प्रशिक्षक मेघराज केसीले भनेका थिए, ‘लिगको उद्देश्य भनेको के भने फुटबलबाट हुनुपर्ने फाइदा यो यो................ सबै साइडमा राख्नुहोस्। चुनाव जितेर आएपछि लिग गर्न नसके एन्फामा बस्न लाज हुन्छ भनेर लिग गरेको हो।’

बुझ्नेलाई इशारा काफी भने जस्तै नेपाली फुटबलको अहिलेको अवस्था बुझ्न केसीको भनाइ र कटाक्ष नै पर्याप्त छ। 

जसोतसो ए डिभिजन लिग गरिरहेको अखिल नेपाल फुटबल संघ (एन्फा) को नयाँ नेतृत्व आफैँले पटक पटक निर्णय गरेको बी डिभिजन लिग गराउन असफल भएको छ। 

पछिल्लो पटक चैत २९ गतेबाट सुरु गर्ने भनिएको लिग अहिले नहुने पक्का भइसकेको छ। यो त एक उदाहरण मात्रै हो। एन्फा नेतृत्वले अरु कुनै पनि काम सही ढंगले अघि बढाउन सकिरहेको छैन। उसले अघि सारेका अधिकांश विषय विवादित छन्। 

कतार विश्वकपका लागि फिफाबाट प्राप्त टिकट विक्रीको हिसाबसम्म सार्वजनिक गर्न नसक्नुले पनि एन्फाको अहिलेको अवस्था दर्शाउँछ।

पटक पटक घोषणा गर्दै सुरु भएको ए डिभिजन लिगको आठौँ चरण जारी छ। बी डिभिजनका क्लबलाई तयारी खर्चसमेत दिन नसकेको एन्फाले ए डिभिजन लिग बीचमै रोक्छ कि भन्ने आशंका पनि गरिन्छ। 

घरेलु फुटबलको इतिहासमै एकै पटक तीन दर्जनभन्दा बढी खेलाडीले सुखद भविष्यको आशाकासाथ देश छाडेका छन्। खेलाडी पलायनको असर लिगमा प्रष्ट देखिएको छ। 

खेलाडीको अभावकै कारण लिगमा एउटा क्लबका लागि विदेशी खेलाडीको कोटा ४ बाट ५ बनाइएको छ। 

कर्माछिरिङ शेर्पाको यसअघिको कार्याकालको अन्त्य विवादबीच भएको थियो भने नयाँ अध्यक्ष पंकजविक्रम नेम्बाङ नेतृत्वमा पुगेको केही समयबाटै विवादमा परेका छन्। 

आन्तरिक विवादलाई व्यवस्थापन गर्न नेम्वाङ चुकिरहेका छन्। सुरुका केही बैठक छाड्दा अधिकांश बैठकमा बहुमतले निर्णय गर्नुपर्ने अवस्था बनेको छ। एउटै प्यानल बनाएर निर्वाचित भएकाले पनि अहिले नेम्वाङको साथ छाडेका छन्। उनी कुनै पनि बेला अल्पमतमा पर्ने खतरा छ। 

नयाँ नेतृत्वसँगको आशा निराशामा परिणत हुने खतरा बढेको छ। अहिलेको नेतृत्व न त संस्थागत रुपमा अघि बढ्न सकेको छ, न त फुटबल विकासका लागि ठोस योजना बनाउन सकेको छ।

असार ६ गते शेर्पालाई हराउँदै नेम्वाङ अध्यक्षमा निर्वाचित हुँदा उनलाई शंकाको लाभ दिने पनि थिए। तर, त्यो पंक्ति पनि विस्तारै निराश हुन थालेको छ। 

कतिपयले भन्न थालेका छन्, ‘अहिलेको नेतृत्व पहिलाभन्दा खराब देखियो। यो नेतृत्वबाट फुटबल विकास सम्भव छैन।’ चार वर्षे कार्यकालको सुरुवाती ९ महिनामा नै एन्फा नेतृत्वले विश्वास गुमाउँदै गएको छ। 

वर्षको पहिलो महिना राष्ट्रिय फुटबल टोलीका तत्कालिन प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र १० राष्ट्रिय खेलाडीको विवादलाई त्यसबेलाका अध्यक्ष शेर्पाले समाधान गर्न सकेनन्। 

शेर्पा निर्वाचनमा पराजित हुनुका धेरै कारणमध्ये प्रशिक्षण र खेलाडीको विवादलाई मिलाउन नसक्नुलाई  मान्ने पनि धेरै छन्। 

अलमुताइरीलाई बचाउने चक्करमा शेर्पा आफैँ कमजोर बने। नयाँ नेतृत्वले अलमुताइरीलाई विदा गरेर उनीबाट कारवाहीमा परेका खेलाडीलाई राष्ट्रिय टोलीमा फर्कायो। तर तीमध्येका कतिपय र अन्य खेलाडी विदेशिँदा एन्फा नेतृत्व मुकदर्शक बनिरह्यो। 

महिला र पुरुष राष्ट्रिय टोलीको प्रदर्शन सन्तोषजनक नै रह्यो। महिला साफ च्याम्पियनसिपमा पहिलो पटक भारतलाई हराए पनि नेपाली टोली फाइनलमा बंगलादेशसँग पराजित भयो। 

जसकाकारण टोली यसपटक पनि च्याम्पियन बन्ने अवसरबाट बन्चित रह्यो। वर्षको अन्त्यमा आइपुग्दा कमजोर मानिएका टोलीहरु भुटान र लाओस सम्मिलित प्रधानमन्त्री थ्री नेशन्स कप पुरुष टोलीले जिते पनि टोलीको प्रदर्शनबाट भने धेरै सन्तुष्ट हुन सकेनन्। खेलाडी पलायनको असर राष्ट्रिय टोलीमा प्रष्ट देखियो। 

नयाँ नेतृत्व चयन, राष्ट्रिय टोलीका मिश्रित खाले नतिजा र एन्फाको आन्तरिक विवादमा २०७९ विदा भएको छ। हामीले गत वर्षलाई यसरी स्मरण गरेका छौँ।

आंशिक खुसी 


महिला र पुरुष दुवै टोलीको प्रदर्शन मिश्रित रह्यो। पुरुष टोलीले वर्षको अन्तिम महिनामा आयोजित थ्री नेशन्स कप जित्यो। तर, प्रदर्शनबाट भने दर्शकको मन जित्न सकेन।

तुलानात्मक रुपमा कमजोर टोलीलाई थ्री नेशन्समा सहभागी गराउँदा पनि नेपाललाई उपाधि जित्न हम्मे परेको थियो। लाओसलाई पहिलो खेलमा २–० ले हराएको नेपालले भुटानसँग १–१ को बराबरीमा चित्त बुझाउनु परेको थियो। 

अन्तर्राष्ट्रिय फुटबलमा भुटानसँग कहिल्यै नहारेको नेपालले पहिलो पटक बराबरीबमा सन्तोष मान्नु परेको थियो। फाइनलमा लाओसलाई २–१ ले हराउन नेपालले संघर्ष गर्नुपरेको थियो।

नेपाली टोलीले जेठअसारमा एएफसी एसिया कप छनोटको तेस्रो चरणमा सबै तीन खेलमा हार बेहोरेको थियो। 

जोर्डनसँग २–०, कुवेतसँग ४–१ ले पराजित नेपालले इन्डोनेसियाविरुद्धको खेल ७–० को नतिजा सुम्पेको थियो। नेपाली टोलीले मैत्रीपूर्ण खेलमा असोजमा दक्षिण एसियाली राष्ट्र बंगलादेशलाई ३–१ र मंसिरमा पाकिस्तानलाई १–० ले हराएको थियो । 

दुई वर्षअघि सुरु भएको फ्रेन्चाईज लिग नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करण यो वर्ष हुन सकेन। एन्फाले सम्झौता गरेपनि एनएसएल हुन्छ हुँदैन अझै निश्चित हुन सकिने अवस्था छैन।

प्राथमिकतामै छैन महिला फुटबल

एन्फाले महिला टोलीका लागि खासै लगानी गरेको देखिँदैन। उमेर समूह र राष्ट्रिय टोलीको अन्तर्राष्ट्रिय सहभागिताबाहेक एन्फाले यो वर्ष घरेलु महिला फुटबलका लागि आफैँ कुनै प्रतियोगिता वा अन्य गतिविधि गर्न सकेन। 

काठमाडौंमा भएको साफ च्याम्पियनसिपको फाइनलमा पुग्न नेपालले पहिलो पटक भारतमाथि जित हासिल ग¥यो। दक्षिण एसियामा भारत बलियो टोली हो। 

साफ च्याम्पियनसिपको एउटाबाहेक सबै संस्करणको फाइनल खेलेको नेपालले अधिकांश फाइनल भारतसँगै गुमाएको थियो। त्यो टोलीलाई यसपटक फाइनलअघि नै हराउनु नेपाली टोलीका लागि सुखद नतिजा हो। तर, दुर्भाग्य फाइनलमा टोली बंगलादेशसँग पराजित भयो। जबकी त्यसअघि नेपाली टोली बंगलादेशसँग कहिल्यै हारेको थिएन। 

भदौपछि महिला टोलीले भारतीय फुटबल संघको निमन्त्रणामा दुई मैत्रीपूर्ण खेल खेल्यो। पहिलो खेलमा २–२ र दोस्रोमा गोलरहित बराबरी खेल्दै टोली स्वदेश फर्केको थियो। 

चैतको अन्तिममा पेरिस ओलम्पिकअन्तर्गत एशियाली छनोटको खेलमा भियतनामसँगको दुवै खेलमा नेपाली टोली पराजित भयो। 

तुलानात्मक रुपमा बलियो भियतनामविरुद्ध नतिजा निकाल्न नसके पनि महिला टोलीले प्रदर्शनबाट भने दर्शकलाई आशावादी बनाएको थियो। 

एन्फाको नयाँ नेतृत्वले कुनै कार्यक्रम ल्याउन नसक्दा महिला लिगको पहिलो चरणको नतिजालाई नै आधारमा लिगको विजेता घोषणा गरियो।

लिगको दोस्रो चरण नभई पहिलो चरणको अंक तालिकाबाटै लिग विजेता टोली घोषणा गरिएको हो। तर उपाधि विजेताले अहिलेसम्म पुरस्कार पाएका छैनन्। 

उमेर समूहमा नेपालको  यू–२० टोली दोस्रो चरणमा पुग्न सफल हुँदा अन्य समूहको नतिजा सम्झनलायक रहेनन्। 

नेपालले सहभागिता जनाएको साफ च्याम्पियनसिप दक्षिण एशियाली फुटबल महासंघको नियमित कार्यक्रम हो। त्यसबाहेक महिला फुटबलमा एन्फासँग कुनै कार्यक्रम छैन। 

खेलाडी पलायन


खेलाडी विदेशीने विषय नयाँ होइन। तर, एकै वर्ष ४१ फुटबल खेलाडीले देश भने गत वर्ष छाडे। एन्फाले समयमा ए डिभिजन लिग गर्न नसक्दा र एनएसएल अनिश्चित हुँदा कतिपय खेलाडीले विदेशिनु ठिक सम्झिए। 

खेलाडी पलायनको असर आउने दिनमा नेपाली फुटबलमा अझै पर्ने सम्भावना छ। नियमित राष्ट्रिय टोलीकै सदस्यमध्ये आधा दर्जन खेलाडीले अष्ट्रेलियालाई आफ्नो गन्तव्य बनाए। विदेशिएका खेलाडीलाई लिग खेल्न स्वदेश फर्कन एन्फा महासचिव किरण राइले आग्रहसमेत गरेका थिए। 

खेलाडी प्रशिक्षक विवाद


वर्षको सुरुमै राष्ट्रिय टोलीका १० खेलाडी र तत्कालिन मुख्य प्रशिक्षक अलमुताइरीबीचको विवादका कारण नेपाली फुटबल तातेको थियो। जसका कारण समर्थक नै खेलाडी र प्रशिक्षकको पक्ष र विपक्षमा विभाजित जस्तै देखिए। 

बन्द प्रशिक्षणको क्रममा बस्ने र खानेको राम्रो व्यस्था हुनुपर्ने खेलाडीको मागलाई उपकप्तान रोहित चन्द ठकुरीले प्रशिक्षक अलमुताईरी समक्ष राखेका थिए। 

त्यही मागमा अलमुताईरीले रोहितलाई बन्द प्रक्षिणमा राख्न नसकिने भन्दै निस्किएर जान भनेका थिए। 

रोहितलाई बन्द प्रशिक्षणबाट निकालेपछि सिनियर खेलाडीले मुख्य प्रशिक्षकसँग छलफल गर्न चाहेका थिए। 

तर प्रशिक्षकले रोहितको विषयमा छलफल गर्न खोज्ने सबै सिनियर खेलाडीलाई बन्द प्रशिक्षणबाट निस्केर जान सक्ने बताएपछि विवाद चर्किएको थियो। अलमुताइरीसँग पटक पटक संवाद गर्न खोज्दा अस्वीकार गरेपछि खेलाडीहरु रातको समयमा होटल छाडेर निस्किएका थिए। 

क्याम्प छाड्नेमा रोहितसहित सुजल श्रेष्ठ, विशाल श्रेष्ठ, विशाल राई, विमल घर्तीमगर, अन्जन विष्ट, तेज तामाङ, सुमन लामा, अनन्त तामाङ र दीनेश राजवंशी थिए। 

त्यो विवाद एन्फाले तत्काल समाधान गर्न नसक्दा विवाद पेचिलो बन्दै गएको थियो। सिनियर खेलाडीले क्याम्प छाडेपछि अलमुताइरीले १७ नयाँ खेलाडीलाई प्रशिक्षणमा बोलाएका थिए। पछि एन्फाले भिक्टर शम्शेर राणाको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो। 

समितिले खेलाडीलाई क्याम्पमा फर्काउन र प्रशिक्षक अलमुताइरीलाई बर्खास्त गर्न सुझाव दिएको थियो। नयाँ नेतृत्वले समितिको त्यो निर्णय कार्यान्वय गरेपछि प्रशिक्षक खेलाडीको विवादको अन्त्य भएको थियो।

एन्फामा आन्तरिक विवाद


फुटबलमा यस वर्ष विवाद र समस्या भने एन्फा नेतृत्वभित्रै देखियो। नयाँ नेतृत्व आएपछि सम्भावनाका थुप्रै अवसर देखिनुपर्नेमा झन् झन् निराशातर्फ धकेलिइरहेको छ। एन्फाको हरेक बैठकमा केही न केही नयाँ नाटक मञ्चन भइरहेको छ। 

निर्वाचनको समयमा एकै प्यानलबाट उठेका सदस्यहरु नै अहिले अलग अलग समूहमा विभाजित भइसकेका छन्। यसअघि दुुई धारमा देखिएका एन्फा नेतृत्व अहिले तीन समूहमा विभाजित देखिन्छ। 

जसले गर्दा एन्फा संस्थागत रुपमा निकै कमजोर भएको छ। एन्फामा अहिले कुनै पनि निर्णय सर्वसम्मत हुने अवस्था छैन। पहिलो बैठकबाहेकको निर्णयबाहेक अन्य निर्णय बहुमतको आधारमा हुँदैआएको छ। जसले गर्दा संस्थागत र नितिगत रुपमा एन्फा पछिल्ला केही वर्ष यताको सबैभन्दा कमजोर अवस्थामा छ भन्दा फरक पर्दैन। 

नयाँ आशा र अपेक्षा गरेको एन्फा नेतृत्वबाटै त्यसको ठिकविपरीतका काम गर्दा नेपाली फुटबलले आउने वर्षमा अझै दुर्भाग्य भोग्नुपर्ने खतरा देखिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .