ad ad

खेल


पीएनजीलाई नेपालले दियो २९८ रनको कीर्तिमानी लक्ष्य

पीएनजीलाई नेपालले दियो २९८ रनको कीर्तिमानी लक्ष्य

नेपालखबर
फागुन २५, २०७९ बिहिबार १३:२, काठमाडौँ

आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा नेपालले पपुवा न्यु गिनीलाई २ सय ९८ रनको कीर्तिमानी लक्ष्य दिएको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पीएनजीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ४९.१ ओभरमा २ सय ९७ रन बनाउँदा अलआउट भयो। 

नेपालले गतवर्ष मार्च २६ मा घरेलु मैदानमा भएको ओडिआइ सिरिजमा पीएनजीलाई नै २७८ रनको विजयी लक्ष्य दिएको थियो। 

पहिलो विकेटका लागि ओपनर आशिफ शेख र कुशल भुर्तेलले १८.४ ओभरमा ११० रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए।

पहिलो विकेटका लागि आशिफ र कुशलले गरेको साझेदारी दोस्रो ठूलो साझेदारी हो। यसअघि कुशल र आशिफले नै पहिलो विकेटका लागि ११४ रनको साझेदारी गरेका थिए। 

११० बलको सामना गरेका आशिफ १२ चौका र २ छक्का हान्दै ११० रनमा क्याच आउट भए।

आशिफले १०१ बलमा १० चौका र २ छक्का हान्दै शतक पुरा गरे। ३५ औं ओभरको अन्तिम बलमा आशिफले करियरको पहिलो शतक हाने।

पीएनजीसँगकै खेलमा राष्ट्रिय टोलीमा डेब्यु गरेका आशिफले पीएनजीविरुद्ध नै करियरको पहिलो शतक हाने। 

ओडिआई करिअरको १ हजार रन पूरा गरेका आशिफले इन्टरनेशनल करियरकै पहिलो शतक हाने। समग्रमा आशिफको यो चौथो शतक हो।

उनले यसअघि घरेलु क्रिकेटमा २ शतक हानेका थिए। पीएनजीसँगकै अभ्यास खेलमा उनले एक शतक हानेका थिए। 

ओडिआई क्रिकेटमा नेपालको तर्फबाट शतक हान्ने आशिफ पाँचौँ खेलाडी हुन्। यसअघि पारस खड्का, रोहित पौडेल, दिपेन्द्र सिंह ऐरि र कुशल भुर्तेलले शतक हानेका थिए। 

पीएनजीसँगको खेलमा नै १ हजार रन पुरा गरेका आशिफ नेपालको तर्फबाट ओडिआईमा १ हजार रन पुरा गर्ने दोस्रो खेलाडी बने। यसअघि कप्तान रोहित पोडेलले १ हजार रन पुरा गरेका थिए। 

अर्का ओपनर कुशल ४५ रनमा क्याच आउट भए। कप्तान रोहित पौडेल ३०, आरिफ शेख १५, ज्ञानेन्द्र मल्ल ११, करण केसी ८ र कुशल मल्ल २ रनमा क्याच आउट भए।

दिपेन्द्र सिंह ऐरि ७ रनमा रनआउट भए। सन्दीप लामिछाने ७ रनमा क्याच आउट भए। 

भीम सार्की ४४ रनमा क्याच आउट भए। ३८ बलमा ४ चौका हाने। सोमपाल कामी ४ रनमा नटआउट रहे। 

पीएनजीका सिमो कामिया एक्लैले ५ विकेट लिए। उनले ९.१ ओभरमा ३८ रन दिए।  रिले हेकुरे एक्लैले ३ विकेट आफ्नो नाममा गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .