नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपाल टी२० लिगका लागि भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस्सँग सम्झौता गर्दा भएका कमजोरी सच्च्याउने मौका दिनुपर्ने तर्क गरेका छन्।
क्यानले बिहीबार काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष चन्दले नेपाली क्रिकेट फेरि निलम्बनतिर नजाओस् भन्न गल्ती सच्चाउने मौका दिनुपर्नेमा जोड दिएका हुन्।
लिगमा भएको स्पट फिक्सिङकै कारण निलम्बनको बाटोमा नजाने भन्दै क्यानका सबै निर्णय सही नहुने उल्लेख गरे। ‘काम गर्दै जाँदा केही गल्ती भए होलान्’, उनले भने, ‘त्यसलाई सुधार्ने मौका दिनुपर्छ।’
जानीजानी कुनै गल्ती नगरेको भन्दै अञ्जानको गल्तीका लागि चन्दले माफी मागेका हुन्। ‘क्यानका सबै निर्णय सही नहुन सक्छन्’, उनले भने, ‘आफूहरुबाट भएको कमजोरी सच्याउने मौका दिनुपर्छ।’
उनले क्यानको अध्यक्ष भएका नाताले आफू तनावमा नरहेको दाबी गरे। ‘क्यान अध्यक्ष भएका नाताले म तनावमा छैन, स्पट फिक्सिङमा जोडिएका सबैलाई कानुनअनुसार कारवाही हुन्छ’, उनले भने, ‘फिक्सिङमा जोडिएको पुष्टि भएकालाई कारवाही हुने भएकाले फिक्सिङमा खेलाडीको गल्तीलाई क्यानले माफी दिन सक्दैन, कारवाही हुन्छ।’
लिगबीचमै स्पट फिक्सिङ जस्ता कुरा बाहिरिएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नै खेल अघि बढाउन भनेको पनि उनले तर्क गरे।
‘लिगको बीचमा स्पट फिक्सिङ जस्ता कुरा बाहिरिँदा आईसीसीले नै खेल जारी राख्नु भनेकाले प्रतियोगितालाई निरन्तरता दिएका हौँ’, चन्दले भने।
केही सञ्चारमाध्यमले म्याच फिक्सिङको कुरा उछालेको आरोप उनले लगाए। उनले यो कुरामा पत्रकार सम्मेलनमै असन्तुष्टि पोखे।
‘यो विषयमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले छानबिन गरिरहेका थिए’, उनले भने, ‘लिगको वैधानिकताबारे पनि राखेपले अनुसन्धान गरिरहेको थियो। तर केही मिडियाले निजी स्वार्थमा लिग गरेको लेखे, त्यसमा म दुखी छु।’
क्यानका क्रिकेट म्यानेजर विनोद दासले लिग सुरु हुनुअघि नै खेलाडीलाई फिक्सिङबारे सचेत गराएको दाबी गरे। ‘हामीले पहिले नै खेलाडीहरुलाई क्लास दिएका थियौँ, फिक्सिङको प्रस्ताव आउन सक्छ भनेर’, उनले भने, ‘त्यसबारे एन्टी करप्सन युनिट (एसियु) लाई जानकारी दिन भनेका थियौँ। फिक्सिङ प्रस्ताव आउँदा खेलाडीले म्यासेज मात्रै दिए हुन्थ्यो।’
फिक्सिङ संवेदनशील भएकाले सञ्चारमाध्यम पनि यसमा गम्भीर हुनुपर्ने दासले बताए। फिक्सिङ गरेको पुष्टि भए खेलाडीलाई कारवाही गर्ने दासले दाबी गरे।
क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले लिगका ६ फ्रेन्चाइजमध्ये ५ टोलीका खेलाडीले ६० प्रतिशत पारिश्रमिक पाइसकेको जानकारी दिए। ‘बाँकी रकम अबको एक सातामा पाउँछन्’, उनले भने, ‘एक टिमका खेलाडीले बाँकी पैसा एक महिनाभित्र पाउँछन्।’
नेपाल टी२० लिग उपाधि विजेता टोली, व्यक्तिगत स्पर्धा र प्रत्येक खेलका प्लेयर अफ दी म्याचले अझै पुरस्कार रकम पाएका छैनन्। सेभेन थ्री स्पोर्टस्ले त्यो रकम उपलब्ध नगराए कानुनी लडाइँ लड्ने सचिव मल्लले बताए।
‘क्यानले पनि उसँग पैसा लिनुपर्ने छ’, उनले भने, ‘सेभेन थ्री स्पोर्टस्ले जिम्मा नलिए कानुनी लडाइँका लागि जहाँ पनि जान सक्छौँ।’
भिडिओ
प्रतिक्रिया