ad ad

खेल


प्रतिबन्ध झेल्दै रोनाल्डो, अल नसारमा अझै दुई साता खेल्न पाउने छैनन्

प्रतिबन्ध झेल्दै रोनाल्डो, अल नसारमा अझै दुई साता खेल्न पाउने छैनन्

नेपालखबर
पुस २१, २०७९ बिहिबार १९:३०, काठमाडौँ

पोर्चुगलका ३७ वर्षीय स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले साउदी क्लब अल नसारसँग कीर्तिमानी मूल्यमा सम्झौता गरेका छन्।

उनले सन्  २०२५ सम्म उक्त क्लबमा रहने गरी वार्षिक करिब २८ अर्ब रुपैयाँमा सम्झौता गरेका हुन्। 

स्टार फुटबलर रोनाल्डोले साउदी अरबको क्लबबाट फुटबल खेल्न भने अझै कुर्नुपर्ने भएको छ। 

रोनाल्डो अहिले इङ्लिस फुटबल एसोसिएशन (एफए) को तर्फबाट गरिएको दुई खेलको प्रतिबन्ध अवधिमा छन्। 

रोनाल्डोले बिहीबार साउदी प्रो लिगमा अल ताई क्लबविरुद्ध पहिलो म्याचमा डेब्यु गर्ने थिए।

यो सोमवार उनी साउद अरबको राजधानी रियाद पुगेका थिए। जहाँ उनलाई शानदार स्वागत गरिएको थियो। मंगलबार मात्रै अल नसार क्लबको मैदानमा उनको विधिवत स्वागतका लागि भव्य समारोह गरियो।

रोनाल्डोले आफ्नो नयाँ क्लबका खेलाडीहरुसँग प्रशिक्षण पनि सुरु गरेका छन्। अल नसारले रोनाल्डोले शुक्रवार  आफ्नो पहिलो खेल खेल्ने विश्वासमा थियो। यस खेलको २८ हजार टिकट पनि बिकिसकेको छ।

तर रोनाल्डोलाई मैदान उतार्न लागेको अल नसारलाई इङ्लिस फुटबल एसोसिएशनको तर्फबाट गत नोभेम्बरमा रोनाल्डोमाथि दुई खेलको प्रतिबन्धबारे जानकारी गराइयो। यो प्रतिबन्धन अप्रिलमा खेलिएको एक खेलपछि लगाइएको थियो। 

रोनाल्डोले जसको फोन खोसेर फ्याकिदिएका थिए, उनी एक अशक्त थिए। रोनाल्डोले यसका लागि उनीसँग माफी पनि मागेका थिए। तर ती किशोरले माफी दिन इन्कार गरे।

एभर्टनविरुद्धको यो खेल म्यानचेस्टर युनाइटेडले १-० ले हारेको थियो। खेल सकिएपछि रोनाल्डो अन्य खेलाडीसँगै ड्रेसिङ रुमतिर जाँदै थिए। हारले आक्रोशित उनले त्यही क्रममा एक किशोरको हातबाट खोस्दै फोन भुइँमा फ्याँकिदिएका थिए। 

पुलिसले यस घटनाका लागि रोनाल्डोलाई चेतावनीसमेत दिएको थियो। रोनाल्डोले त्यसपछि सामाजिक सञ्जालबाट माफी पनि मागेका थिए। उनले फोन फ्याकिदिएका ती समर्थकलाई खेल हेर्न वर्ल्ड ट्राफोर्ड स्टेडियममा निम्ता पनि दिएका थिए।

यस घटनाबारे रोनाल्डोले हारपछिको तनावमा आफूलाई काबुमा राख्न नसक्दा उक्त घटना हुन पुगेको बताएका थिए। आफूले गरेको गल्तीका लागि माफी माग्दै उनले ती किशोरलाई स्टेडियममा बोलाए पनि। तर चित्त दुखाएका ती किशोर माफी दिन तयार भएनन्। 

१४ वर्षीय अशक्त ज्याकले रोनाल्डोको यस प्रस्तावलाई अस्वीकार गर्दै उनले माफी मागेर नहुने भन्दै कारबाही नै हुनुपर्ने अडान लिएका थिए। 

कतारमा भएको विश्वकप फुटबलमा रोनाल्डोलाई प्रतिबन्धन लगाउन मिल्दैनथ्यो। तर अब उनले क्लब फुटबलमै साउदी अरबको अल नसारमा दुई खेल खेल्न नपाउने भएका हुन्।

के छ नियम?
फिफाको कानुन अनुसार यदि कुनै खेलाडीमाथि चार खेल या तीन महिनाको प्रतिबन्ध लगाइएको छ भने उसका लागि नयाँ  क्लबमा पनि उक्त कानुन लागू हुन्छ। जोसँग नयाँ सम्झौता हुँदैछ त्यहीँ पनि उक्न नियम पुरानो क्लबमा जस्तै लागु हुन्छ।

प्रतिबन्ध लगाउने क्रममा एफएले रोनाल्डोमाथिको कारबही हर हालतमा लागु हुने जनाएको थियो। उसले चाहे उनी म्यानचेस्टर युनाइटेडमा रहुन् या नयाँ क्लबमा जाऊन् प्रतिबन्धबाट गुज्रनै पर्ने एफएको भनाइ थियो। 

शुक्रबारपछि अल नसार क्लबको अब अर्को खेल १४ जनवरीमा हुँदैछ। त्यसपछि २१ जनवरीमा मात्रै रोनाल्डो मैदानमा उत्रिन पाउनेछन्। 

अब रोनाल्डो नयाँ क्लबबाट आगामी २१ जनवरीमा पहिलो खेल खेल्नेछन्। २१ जनवरीमा अल नसारले इत्तफाक क्लबविरुद्ध खेल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .