समाज


वैदेशिक रोजगार कार्यालयमा विचौलियाको बिगबिगी, १३ जना पक्राउ

वैदेशिक रोजगार कार्यालयमा विचौलियाको बिगबिगी, १३ जना पक्राउ

नेपालखबर
पुस २१, २०७९ बिहिबार १९:३५, काठमाडौँ

काठमाडौंको ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयमा विचौलियाको बिगबिगी देखिएको छ।

सरकारी कर्मचारीले विचौलियामार्फत बढी शुल्क उठाएर काम गर्ने गरेको खुलेको छ। कर्मचारी र विचौलियाको मिलेमतोमा सेवाग्राहीमाथि ठगी भइरहेको पाइएपछि प्रहरीले १३ जना विचौलियालाई पक्राउ गरेको छ। 

काठमाडौं प्रहरी परिसरको टोलीले उनीहरुलाई सेवाग्राहीसँग बढी शुल्क लिएर काम गराइदिने भनि अनावश्यक झनझटमा पारेको तथा ठगी गरेको आरोपमा पक्राउ गरेको हो। 

विचौलियाले जबरजस्ती सेवाग्राहीहरुलाई तानी सरकारी काम कारवाहीमा बाधा अवरोध गरी अनावश्यक दुःख हैरानी दिई अभद्र व्यवहार गरी अनुचित लाभसमेत लिएको प्रहरीले बताएको छ। 

काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीका अनुसार बुधबार र बिहीबार प्रहरीको विशेष टोलीले उक्त कार्यालयमा निगरानी गरेको थियो। निगरानीपछि १३ जना विचौलियालाई पक्राउ गरिएको छ। 

पक्राउ पर्नेमा भारत दार्जिलिङ घर भई बाफल बस्ने २७ वर्षीय ऋषी मोक्तान, संखुवासभा रातामाटेका २६ वर्षीय सन्तोष अधिकारी, ताहाचलका ३२ वर्षीय सनम मानन्धर, कुलेश्वरका २७ वर्षीय विशाल रिसाल, झापा कनकाई नगरपालिका ४ का ३१ वर्षीय कमल प्रसाद पराजुली, काठमाडौं महानगरपालिका १४ का २८ वर्षीय पुरुषोत्तम थापा र धादिङ धुनेबेशी २ का ३० वर्षीय सागर कुँवर रहेका छन्। 

यस्तै, उदरपुर ताप्ले गाउँपालिका ५ का ३२ वर्षीय प्रबिन कुमार मगर, सिराह करजना १३ का २६ वर्षीय सागर आले, उदयपुर त्रियुगा नगरपालिका ७ का २५ वर्षीय दिपेश राई, रामेछाप मन्थली नगरपालिका ६ का ३० वर्षीय कटक बहादुर माझी, सल्यान शारदा नगरपालिका १५ का ३७ वर्षीय शशी प्रकाश हमाल र गुल्मी छत्रकोट ६ का २४ वर्षीय नरेश सोमारे मगर पनि पक्राउ परेका छन्। 

उनीहरुविरुद्ध फौजदारी अपराध संहिता ऐन, २०७४ को दफा ११८ को अभद्र व्यवहार गर्न नहुने कसूरमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट म्याद थप गरी अनुसन्धानन गरिरहेको एसपी मैनालीले बताए। 

काठमाडौं प्रहरीले ताहचलस्थित यातायात कार्यालयबाट पनि २५ जना विचौलिया पक्राउ गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad