पोखरामा आयोजना हुने टेनिस प्रतियोगितामा वर्षेनी सहभागिता जनाउने खेलाडी हुन्–कमल थापा। राजनीतिको केन्द्रमा हुँदा पनि उनले यो प्रतियोगितामा सहभागिता छाडेनन्।
अहिले उनीसँग आफैंले सिर्जेको राष्ट्रिय प्रजातन्त्र पार्टी त छैन नै, मुना पलाउने आशामा स्याहारसुसार गरिएको राप्रपा नेपालबाट हात लागेको अप्राप्ति मात्र बाँकी छ। जितको आशमा एमालेको सूर्य चिन्ह लिएर मकवानपुर १ बाट प्रतिनिधिसभामा चुनाव लडेका उनी कांग्रेस नेतृ डिना उपाध्यायसँग पराजित भए।
राजनीतिमा पराजय भयो त के भो? पोखरामा जारी ‘ १९ औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता २०७९’ प्रतियोगितामा भने विजयी बनेका छन्। अघिल्ला वर्षजस्तै सहभागिता जनाएका उनी पुरुष डबल्सतर्फ सेमीफाइनलमा पुगेका हुन्।
संयोग नै भन्नुपर्छ, थापाले राजनीतिको मैदानमा धेरै सहकर्मीहरुलाई छाडेका छन् भने कयौँले उनलाई। तर, उनले टेनिस कोर्टमा साथ दिँदै आएका झ्याम्पा ढुण्डुपलाई भने छाडेका छैनन्। पुरानो जोडी मिलाएर ५५ वर्षमाथिको उमेर समूहको डबल्सतर्फ प्रतिस्पर्धामा उत्रिएको कमल र झुयाम्पाको जोडीले राजु श्रेष्ठ र उत्तम लामालाई ६–३, ६–५ ले, पराजित गरेको हो।
विजयी भएपछि स्वयं थापाले खुसी जताएका छन्। उनले सामाजिक सञ्जालमार्फत् भनेका छन्, ‘हिजोदेखि पोखरामा शुरु भएको १९औं माछापुच्छ्रे बैंक टेनिस प्रतियोगिताको ५५ वर्ष समूहको डबल्समा झ्याम्पा धोण्डुप र मैले उत्तम लामा र राजु श्रेष्ठको जोडीलाई ६–३ र ६–३ को सोझो सेटमा पराजित गरेर सेमिफाइनलमा प्रवेश गरेका छौं। लामो समयपछि टेनिस प्रतियोगितामा भाग लिन पाउँदा खुसी लागेको छ।’
Shares
प्रतिक्रिया