ad ad

खेल


तेस्रो उपाधिको होडमा पारस

तेस्रो उपाधिको होडमा पारस

यज्ञराज जोशी
पुस ८, २०७६ मंगलबार १२:१५,

पोखरा प्रिमियर लिगको फाइनलमा प्रवेश गरेसँगै राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का घरेलु फ्रेन्चाइजी क्रिकेटको तेस्रो उपाधि उचाल्ने होडमा छन।

यसअघि पारसले धनगढी प्रिमियर लिगको पहिलो संस्करण र एभरेष्ट प्रिमियर लिगको दोस्रो संस्करणको उपाधि उचालेका थिए। उनको टोली चितवन राइनोजले मंगलबार लिग चरणका पाँच खेलमा अपराजित रहँदै फाइनलमा स्थान बनाएको हो।

पोखरा रंगशालामा अर्को दाबेदार टोली ज्ञानेन्द्र मल्लको काठमाडौं गोल्डेन्स वारियर्शलाई ६० रनको फराकिलो अन्तरले पराजित गर्दै अपराजित फाइनलमा पुगेपछि पारसमा अर्को उपाधि थप्ने आशा देखिएको हो।

राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट राजीनामा दिएपछि पहिलो फ्रेन्चाइजीको उपाधि उचाल्ने होडमा रहेका पारस उपाधि जित्ने सपना पूरा गर्न लिग चरण झै उत्कृष्ट प्रदर्शन दोहोर्याउनुपर्ने बताउँछन्।

‘यो १० दिनमा हाम्रो टोलीका हरेकले उत्कृष्ट प्रदर्शन गरे। टिमका रुपमा एकदम राम्रो क्रिकेट खेलिरहेका छौं,’ पारसले भने, ‘पाँच खेल लगातार जितेर फाइनलमा पुग्यौं। अब यो सबै प्रदर्शन फाइनलको एउटै गेममा दोहोर्याउनु पर्नेछ। त्यसदिन उत्कृष्ट प्रदर्शन गर्दै उपाधि रक्षा गर्ने प्रयासमा हुनेछौं।’

पारसले भनेझै यस सिजनमा खेलाडीहरुको उत्कृष्ट प्रदर्शनकै कारण चितवन अपराजित रहँदै फाइनलमा स्थान बनाउन सफल रह्यो। पहिलो खेलमै चितवनले साविक विजेता टोली पोखरा पल्टनलाई ६ विकेटले हरायो। गत सिजनको फाइनलमा चितवन पोखरासँग नै हारेको हो।

यस्तै दोस्रो खेलमा बुटवल ब्लास्टरमाथि ११९ रनको फराकिलो जित हात पारेको चितवनले तेस्रो खेलमा धनगढी ब्लुजविरुद्ध ५२ रन, चौथो खेलमा विराटनगर टाइटन्सविरुद्ध १८ रन र पाँचौ खेलमा काठमाडौंलाई हराउँदै अपराजित रह्यो।

करण केसी जारी पीपीएलमा सर्वाधिक विकेट लिने बलर हुन्

प्रतियोगितामा हालसम्म सर्वाधिक रन बनाउने दशजना मध्ये ५ जना चितवनकै खेलाडी छन्। त्यसमा बाबर हायात, रोहन मुस्तफा, आरिफ सेख अग्रस्थानमा छन् भने उनीहरुलाई पारस र सन्नी पटेलले पछ्याइरहेका छन। यस्तै प्रतियोगिताको सर्वाधिक विकेट लिने खेलाडीको सुचिमा समेत चितवनकै खेलाडीको दबदबा छ। शीर्ष पाँचमा चितवनका चार खेलाडी छन्। करण केसी(११ विकेट), भुवन कार्की(१०), सन्नी पटेल(९) र रोहन मुस्तफा(८) राम्रो लयमा छन्।

गत सिजन फाइनलमा चितवन घरेलु टोली पोखरा पल्टनसँग पराजित हुँदै उपाधि विमुख भएको थियो। त्यसैले यसपटक राम्रो लयमा देखिएपनि फाइनललाई सजिलो गरि नलिने पारस बताउँछन।

‘हामी लयमा भएपनि फाइनललाई सजिलो गरि लिने छैनौं। गतवर्ष पनि फाइनलमा पुगेका थियौं तर दुर्भाग्यवश हामीले उपाधि उचाल्न सकेनौं,’ पारस भन्छन्, ‘यो चोटी सबैजनामा उपाधि भोक देखिएको छ। यो लेभलमा लगातार प्रदर्शन दिन सजिलो हुँदैन। जुन किसिमको क्रिकेट हामीले खेलेका छौं त्यसले उपाधि उचाल्ने आश बढाएको छ।’

पारसको टिम चितवन फाइनलमा पुगेपनि फाइनलमा पुग्ने अर्को टोलीको टुंग्गो भने अझै लागेको छैन। बिहीबार हुने लिग चरणको अन्तिम खेलपछि इलिमिनेटर हुनेछ। इलिमिनेटरको विजेता फाइनलमा चितवनसँग भिड्नेछ। उक्त एक स्थानका लागि बुधबारसम्म काठमाडौं, बुटवल, विराटनगर र धनगढी गरी सबैको सम्भावना कायम छ।

फाइनलमा जो सुँकै आएपनि आफूहरु रिजल्ट आफ्नो पक्षमा पार्ने प्रयास गर्ने पारसले दोहोर्याए। ‘सबै टोली राम्रा छन्। फाइनलमा जुनसुकै टिम हुनसक्छ,’ पारसले भने, ‘प्रतियोगितामा एकदमै प्रतिस्पर्धा देखिएको छ। चारवटै टोलीको अझै सम्भावना छ। हामीले हाम्रो ‘ब्रान्ड अफ क्रिकेट’ खेल्नुपर्छ। हामी हाम्रो बलियो पक्षमा केन्द्रीत छौं। जो सुँकै फाइनलमा आएपनि हामी आफ्नो उत्कृष्ट क्रिकेट खेल्नेछौं।’

विदेशी खेलाडीको प्रभाव


चितवनलाई यसपटक अपराजित हुँदै फाइनलमा पुर्याउन उसका विदेशी खेलाडीको प्रदर्शन एकदमै उत्कृष्ट रह्यो। चितवनले हङकङका पूर्व कप्तान बाबर हायात, यूएईका पूर्वकप्तान रोहन मुस्तफासँगै नेपाली घरेलु क्रिकेटमा लगातार उत्कृष्ट प्रदर्शन दिदैँ आएका सन्नी पटेललाई विदेशी खेलाडीका रुपमा भित्र्याएको थियो।

पछिल्ला तीन खेलमा बाबर र रोहनले म्यान अफ द म्याच प्रदर्शन गर्दा चितवनले अपराजित रह्यो। बाबर र रोहनकै उत्कृष्ट अर्धशतकीय पारीको मद्दतमा बुधबार लिग चरणको अन्तिम खेलमा चितवनले ज्ञानेन्द्र मल्लको काठमाडौंलाई ६० रनले पराजित गरेको थियो। त्यसमा सन्नीको भुमिका प्रशंसनीय छ। बाबरले दुई अर्धशतकसहित प्रतियोगिताका दोस्रो तथा चितवनका लागि सर्वाधिक स्कोर(१९८) गरेका छन्।

यस्तै सर्वाधिक स्कोरर(१९६)को दोस्रो नम्बरमा रोहनको नाम छ। उनले ८ विकेट समेत लिएका छन। यस्तै सन्नीले ९ विकेट लिनुका साथै १०० रन जोडेका छन्।

विदेशी खेलाडीहरुलाई पारससँगै करण केसी(सर्वाधिक विकेट लिने), भुवन कार्की(दोस्रो सर्वाधिक विकेट लिने), आरिफ सेख(छैटौं सर्वाधिक रन स्कोरर) लगायत घरेलु खेलाडीले पनि राम्रो साथ दिदा चितवन अपराजित रहँदै फाइनल पुगेको विश्वास पारसको छ।

‘बाबर, रोहन, सन्नी सबै उत्कृष्ट खेलाडी हुन्। प्रदर्शन दिनुमात्रै नभएर उनीहरु टिमका रुपमा खेल्छन। यी खेलाडीहरुलाई कप्तानका रुपमा नेतृत्व गर्दा मलाई समेत सजिलो भएको छ,’ पारसले भने, ‘भुवन कार्की, करण केसी, विक्रम सोब, रामनरेश गिरीले राम्रो गरिरहेका छन। हाम्रो टिममा धेरै ‘म्याच विनर’हरु छन। ‘म्याच विनर’हरु हुँदा एउटा नचल्दा अर्को चल्ने, अर्को नचल्दा अर्को चल्ने फाइदा हामीलाई छ।’

यो पनि: क्रिजमा जम्दै ज्ञानेन्द्र

यो पनि: पारसलाई शानदार लागेको लोकेशको त्यो पारी

यो पनि: फाइनलिस्ट छविको अनपेक्षित अन्त्य

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .