ad ad

खेल


विश्व विजेता मेस्सीले अझै लिन सक्छन् उचाइ, चुम्न सक्छन् अरु उपाधि

विश्व विजेता मेस्सीले अझै लिन सक्छन् उचाइ, चुम्न सक्छन् अरु उपाधि

नेपालखबर
पुस ७, २०७९ बिहिबार १९:३०, काठमाडौँ

कतारमा आयोजित फिफा विश्वकप २०२२ ले मेस्सीलाई जीवनकै सबैभन्दा ठूलो उपाधि दिलायो। विश्वकपको उपाधि हात पार्दै मेस्सी सबैजसो प्रमुख खेलको फाइनल जित्ने खेलाडी बने।

यसअघि दक्षिण अमेरिकाको विजेता बनेका मेस्सीले विश्वकप हात पार्दै विश्व राष्ट्रका लागि सबै उच्च उपाधि दिन सफल भएका छन्।

यद्यपि ३५ वर्षीय मेस्सीले फुटबलमा अझै उपाधि हात पार्न सक्छन् भन्दा अनौठो नहोला। अब उनलाई विश्वकप जस्तो उपाधि जित्नैपर्ने दबाब आगामी दिनमा हुने छैन। अर्थात्, उनले राष्ट्रका लागि विश्वकप जिताएपछि आफ्नो टाउकाको बोझ पनि हलुंगो बनाएका छन्। 

खेल जीवनको उत्तरार्दधमा कतार विश्वकपको उपाधि जितेपछि मेस्सीले अझै थप उपाधि जित्न सक्छन्। 

१. कोपा अमेरिका 
सन् २०२४ मा हुने कोपा अमेरिकाको उपाधि फेरि जित्दै मेस्सीले विश्व फुटबलमा आफ्नो उपस्थिति कायमै रहेको सन्देश दिन सक्छन्। यो उनका लागि राम्रो र सहज मौका पनि हो।

अहिलेसम्म यो प्रतियोगिता स्थान तय नभए पनि यसमा लगातार जित निकाल्न सके अर्जेन्टिनाले सबैभन्दा धेरै उपाधि जित्ने टोलीको कीर्तिमान बनाउनेछ। यो उपाधि जिते अर्जेन्टिनाले उपाधि संख्या १५ बनाउँदै उरुग्वेलाई पछि पार्नेछ। 

व्यक्तिगत हिसाबमा पनि मेस्सीलाई उक्त कोपा अमेरिकामा नयाँ कीर्तिमान राख्ने अवसर हुनेछ।

उनले अहिलेसम्म कोपा अमेरिकामा १३ गोल गरेका छन्। उनी कोपा अमेरिकामा सबैभन्दा धेरै गोल गर्ने कीर्तिमानबाट ४ गोलले पछाडि छन्। कोपा अमेरिकामा सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान नोर्बर्टो मेन्डेज ‘टुचो’को नाममा छ। 

२. अर्को विश्वकपको सम्भावना
मेस्सीले कतार नै आफ्नो अन्तिम विश्वकप भएको बताइसकेका छन्। यद्यपि उनले अर्को विश्वकप पनि खेल्नु असम्भव भने पक्कै पनि छैन।

अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनीले यसअघि नै मेस्सीले सन् २०२६ को विश्वकप खेल्ने सम्भावनालाई नकार्न नसकिने बताइसकेका छन्।

उक्त विश्वकपमा उनी ३९ वर्षका हुनेछन्। यो अवस्थामा उनलाई उपाधि रक्षा गर्नु ठूलो चुनौती हुनेछ। उनले यो विश्वकप खेल्न सके केही महत्वपूर्ण कीर्तिमान राख्न सक्छन्। 

मेस्सीले त्यतिबेलासम्म अर्जेन्टिनाको टोलीबाट फुटबल खेल्दा सबैभन्दा धेरै अन्तर्राष्ट्रिय गोल गर्ने कीर्तिमान पनि आफ्नो नाममा गराउन सक्छन्।

उनले अहिलेसम्म अर्जेन्टिनाका लागि ९८ गोल गरेका छन्। जबकी सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान राखेका क्रिस्टियानो रोनाल्डोले ११८ गोल गरेका छन्।

यो रेकर्डका लागि मेस्सीले कहिलेसम्म आफ्नो लय कायम राख्न सक्छन् भन्ने कुरा महत्वपूर्ण हुनेछ। 

३. च्याम्पियन्स लिग
क्लबस्तरमा मेस्सीको उद्देश्य पीएसजीलाई च्याम्पियन्स  लिगको उपाधि जिताउनु पनि हो। यो उद्देश्यको लागि अहिले उनी निकै नजिक पनि छन्।

यो सिजनको फाइनल जिताउन सकेमा पीएसजीको इतिहासमा पहिलो च्याम्पियन्स लिगको उपाधि हुनेछ। सन् १९९३ मा मार्सिल्लेले च्याम्पियन्स लिगको उपाधि जितेयता कुनै पनि फ्रान्सेली टोलीले यो उपाधि चुम्न सकेको छैन। 

त्यस्तै मेस्सी च्याम्पियन्स लिगमा इतिहास रच्न केवल ११ गोल पछाडि छन्। यद्यपि च्याम्पियन्स लिगमा सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान पोर्चुगिज स्टार रोनाल्डोको नाममा छ। उनले १४० गोल गरेका छन्। मेस्सीको नाममा १२९ गोल छ। 

४. धेरै उपाधि जित्ने खेलाडी 
मेस्सीको लागि अहिले सबैभन्दा महत्वपूर्ण दुई लक्ष्य छन्। एउटा लक्ष्य आठौँपटक बालेन डे’ओरको उपाधि जित्नु। यो लक्ष्यमा कतार विश्वकपले ढोका खुला गरिदिएको छ।

दोस्रो सबैभन्दा धेरै उपाधि हात पार्ने खेलाडीमा आफ्नो नाम लेखाउनु हो। यो कीर्तिमान उनका पूर्व सहकर्मी ड्यानी अल्भासको नाममा छ।

उनले ४६ उपाधि जितेका छन्। विश्वकपको उपाधि जितेसँगै मेस्सीको पनि उपाधि संख्या ४२ पुगेको छ।

अब उनले कति लामो समय आफूमा विश्वास राख्न सक्छन् र कसरी अघि बढाउन सक्छन् भन्ने कुरामा उपाधि जित निर्भर हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .