प्रधानसेनापति आमन्त्रित अन्तर्राष्ट्रिय महिला फुटवल प्रतियोगितामा पाहुना टोली भुटान र नेपाल पुलिस क्लवले लगातार दोस्रो जित निकालेका छन्। लगनखेलस्थित नेपाली सेनाको मैदानमा बिहीबार भएको खेलमा भुटानले प्रदेश २ लाई २–० गोल अन्तरले पाखा लगाएको हो। पहिलो हाफको ४० औं मिनेटमा अग्रता बनाएको भुटानका लागि खेलको ७१ औं मिनेटमा सुनिता राईले गोल गर्दै जित सुनिश्चित गरिन्।
आजै भएको अर्काे खेलमा निशा सुनारको ४ गोलको मद्दतमा नेपाल पुलिस क्लवले प्रदेश ५ लाई ५–० को फराकिलो अन्तरले पराजित ग¥यो। खेलको १३ औं मिनेटमा पुलिसकी अमृता जैसीको गोलमा अग्रता बनाएको पुलिसले २० औं मिनेटमा निशाले अग्रता दोब्बर पारिन्। ४४ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेकी निशाले ७६ मिनेटमा ह्याट्रिक पुरा गरिन्। त्यसको तेस्रो मिनेटमा नै गोल गरेकी निसाको चौथो गोलमा पुलिसले फराकिलो जित दर्ता गरेको हो।
प्रतियोगितामा भोलि विभागीय डर्बीमा शसस्त्र प्रहरीको एपीएफ र नेपाल आर्मी तथा प्रदेश १ र सिक्कीमबीच खेल हुनेछ। प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, प्रदेश नं १, प्रदेश नं २, प्रदेश नं ५ तथा भारतको सिक्किम र भुटानको फुटबल टोली सहभागी छन्।
प्रतियोगिताको विजेताले ३ लाख, उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। सेमिफाइनल पुग्ने दुई टोलीले समान ५० हजार रुपैयाँ पाउनेछन्।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ थान स्कुटर प्राप्त गर्नेछन्। यस्तै, उत्कृष्ट किपर, मिड फिल्डर, डिफेन्डर, फरवार्ड र प्रशिक्षकले जनही १० हजार प्राप्त गर्नेछन्। प्रतियोगिता आगामी पुस ९ गतेसम्म चल्नेछ।

प्रतिक्रिया