कतार विश्वकपअघि अभ्यासको लागि बुधबार भएको खेलमा अर्जेन्टिनाले यूएईमाथि ५–० गोल अन्तरको जित हात पारेको छ।
बुधबारको खेलमा अर्जेन्टिनालाई जित दिलाउने क्रममा खेलको १७ औं मिनेटमा जुलियान अल्भारेजले गोल गरेका थिए भने २५ औं र ३६ औं मिनेटमा एन्जेल डि मारियाले गोल गरे।
खेलको ४४ औं मिनेटमा लियोनेल मेस्सीले गोल गर्दै टोलीलाई पहिलो हाफमा ४–० को अवस्थामा पुर्याएका थिए। जोआकिन कोरेआले खेलको ६० औं मिनेटमा गोल गर्दै अन्तर बढाए।
यससँगै अर्जेन्टिनाले पछिल्लो ३६ खेलमा अपराजित हुने कीर्तिमान कायम गरेको छ। सन् २०१९ मा ब्राजिलसँग १–० गोलले पराजित भएयता अर्जेन्टिना कुनै पनि टोलीसँग पराजित भएको छैन।
नोभेम्बर २२ मा हुने साउदी अरेबियाविरुद्धको खेलमा अर्जेन्टिना पराजित भएन भने लगातार सबैभन्दा धेरै खेलमा अपराजित हुने कीर्तिमान अर्जेन्टिनाले बराबरी गर्नेछ। यो कीर्तिमान अहिले इटालीको नाममा छ।
Shares
प्रतिक्रिया