ad ad

खेल


पाकिस्तानले दोहोर्‍याउला ३० वर्षअघिको इतिहास?

लयमा रहेको न्युजिल्याण्ड पनि कमजोर छैन
पाकिस्तानले दोहोर्‍याउला ३० वर्षअघिको इतिहास?

नेपालखबर
कात्तिक २३, २०७९ बुधबार ११:३१, काठमाडौँ

अष्ट्रेलियामा जारी आईसीसी टी२० क्रिकेट विश्वकपअन्तर्गत पहिलो सेमिफाइनल खेलमा बुधबार पाकिस्तान र न्युजिल्याण्ड भिड्दै छन्।

नेपाली समयअनुसार यो खेल बुधबार पौने दुई बजे सुरु हुँदै छ। अष्ट्रेलियाको सिड्नी क्रिकेट मैदानमा हुने यो खेललाई बहुप्रतिक्षित मानिएको छ।  

यसपटकको विश्वकप दुवै टोलीको लागि स्मरणीय बन्न पुगेको छ। भाग्यले साथ दिएको पाकिस्तान समूह चरणमा भारत र जिम्बाब्वेसँग पराजित भएको थियो। अर्कातिर न्युजिल्याण्ड भने इंग्ल्याण्डसँग पराजित भएको थियो। 

न्युजिल्याण्ड समूह 'ए'को विजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको हो। उसले समूह चरणमा पनि राम्रो प्रदर्शन पनि गरेको थियो।

तर पाकिस्तानले भने भाग्यको पनि साथ पाएर समूह 'बी'को उपविजेताको हैसियतमा सेमिफाइनल यात्रा तय गरेको हो।

जिम्बाब्वेसँगको हारपछि कठिन बनेको पाकिस्तानको सेमिफाइनल समीकरण नेदरल्याण्ड्सले दक्षिण अफ्रिकालाई हराएसँगै सहज बनेको थियो। उसले जित्नै पर्ने अन्तिम खेलमा बंगलादेशलाई हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको थियो। 

फाइनल प्रवेशका लागि भिड्न लागेका यी दुई टोलीको इतिहास हेर्दा नतिजा पाकिस्तानको पक्षमा छ।

टी२० विश्वकपमा अहिलेसम्म पाकिस्तान र न्युजिल्याण्डबीच ६ पटक प्रतिस्पर्धा भएको छ। जसमध्ये चार खेल पाकिस्तानले जितेको छ। न्युजिल्याण्डले केवल दुई खेलमा मात्रै जित हात पारेको छ। 

न्युजिल्याण्ड 
यद्यपि यस विश्वकपमा न्युजिल्याण्ड उत्कृष्ट फर्ममा छ। न्युजिल्याण्डको बलिङ लाइनअप यो विश्वकपमा निकै राम्रो देखिएको छ।

न्युजिल्याण्डको बलिङ आक्रमण ट्रेन्ट बोल्ट र टिम साउटीजस्ता विश्वका उत्कृष्ट बलरले सम्हाल्दैछन्। 

उनीहरुलाई लकी फर्गुसनले राम्रो साथ दिँदै आएका छन्। स्पिन आक्रमण मिचेल सान्टनर र लेग स्पिन इश सोदीले सम्हाल्नेछन्। 

न्युजिल्याण्डको ब्याटिङ पनि यो विश्वकपमा सन्तुलित देखिएको छ। न्युजिल्याण्डका ब्याटर उत्कृष्ट फर्ममा देखिएका छन्।

न्युजिल्याण्डका ग्लेन फिलिप्सले चार खेलमा १९५ रन बनाइसकेका छन्। त्यस्तै केन विलियम्सनले पनि राम्रो प्रदर्शन गर्दै आएका छन्। 

न्युजिल्याण्डको लागि बुधबारको खेलमा अर्को सबल पक्ष भनेको खेलाडीको फिटनेस पनि हो। न्युजिल्याण्डका सबैजसो खेलाडी फिट देखिएका छन्।

त्यस्तै गत वर्षको टी२० विश्वकपमा राम्रो प्रदर्शन गरेका खेलाडी पनि अहिलेको विश्वकपमा खेलिरहेका छन्। यो न्युजिल्याण्डको लागि राम्रो पक्ष हो। 

पाकिस्तान 
पाकिस्तानले समूह चरणका सुरुवाती दुई खेलमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसके पनि उसले पछिल्ला खेलमा राम्रो कमब्याक गरेको छ।

उसले दक्षिण अफ्रिका, नेदरल्याण्ड्स र बंगलादेशलाई हराउँदै सेमिफाइनलमा आफ्नो स्थान तय गरेको हो। पछिल्ला खेलमा हात पारेको जितले पाकिस्तानलाई बुधबारको खेलमा आत्मबल पनि बढ्नेछ।

पाकिस्तानका मुख्य बलर शाहिन शाह अफ्रिदी फर्ममा फर्किनु पाकिस्तानको लागि सुखद पक्ष हो।

त्यस्तै पाकिस्तानका शहाब खानजस्ता अलराउण्डरको प्रदर्शन पनि न्युजिल्याण्डविरुद्धको खेलमा महत्वपूर्ण हुन सक्छ।

इफ्तिकार अहमदलगायत मध्यक्रमका ब्याटरको प्रदर्शनमा पनि बुधबारको खेलको नतिजा निर्भर रहनेछ। 

सुरुमा खराब प्रदर्शन गरे पनि पछिल्ला खेलमा गरेको प्रदर्शनले माहोल पनि पाकिस्तानको पक्षमा देखिएको छ।

यसअघि सन् १९९२ मा भएको एकदिवसीय विश्वकपमा पनि पाकिस्तानले सेमिफाइनलमा न्युजिल्याण्डलाई हराएर फाइनल तय गरेको थियो। केही खेल विश्लेषकले त्यही माहोल अहिलेको विश्वकपमा पनि देखिएको बताएका छन्।

यद्यपि यो विश्वकपमा पाकिस्तानका लागि ओपनरद्वय मोहम्मद रिजवान र बाबर आजमको प्रदर्शन सोचेअनुरुपको छैन।

यो जोडीले  लयमा फर्किएर प्रदर्शन गर्ने हो भने बुधबारको खेलको नतिजा पाकिस्तानको पक्षमा जान सक्ने सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .