लुम्बिनी प्रदेशलाई पराजित गर्दै नेपाल पुलिस क्लब नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ।
लुम्बिनीलाई ९७ रनले पराजित गर्दै पुलिस क्लबले अपराजित रहेर अन्तिम ४ मा स्थान पक्का गरेको हो। पुलिसले ४ खेलबाट ६ अंक बनाएको छ।
पुलिस क्लबले दिएको १ सय १३ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश १२.५ ओभरमा १५ रन जोड्दा अलआउट भयो।
आस्मा ५ रनमा आउट भईन्। आस्माले २९ बलमा १ चौका हानिन्। लुम्बिनीका कुनै पनि ब्याटरले दोहोरोको अंकको स्कोर छुन सकेनन्।
कप्तान सरस्वती जिएमले बनाएको ६ रन नै सर्वाधिक रह्यो। लक्ष्मी चौधरीले र कृतिका मरासिनीले समान १ रन बनाए।
नितु भण्डारी, मधु डिसी, कमला जिएम, सुस्मिता भुषाल, मनिषा राना शुन्य रनमा पवेलियन फर्के।
लुम्बिनीलाई सस्तैमा रनमा रोक्न इश्वरी विष्टले ३ विकेट लिईन्। उनले ३ ओभरमा १ मेडन राख्दै २ रन मात्र दिइन्। हिरणमय रोयले २ तथा सवनम राईले १ विकेट झारे।
त्यसअघि पोखरा रगंशालास्थित क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पुलिस क्लबले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १२ रनको योगफल तयार पारेको थियो।
पुलिस क्लबका लागि कविता जोशी ४८ र सवनम राई २ रनमा नटआउट रहे। २६ बलको सामना गरेकी कविताले ७ चौका र १ छक्का हानिन्।
सम्झना खड्का २९ रनमा पवेलियन फर्किइन्। उनले ३८ बलमा १ चौका हानिन्। अप्सरी बेगमले १० रन थपिन्।
कप्तान रुविना क्षत्री ५ रनमा क्याच आउट भइन्। काजल श्रेष्ठ, शोभा रोकाया, इश्वरी विष्ट समान १ रनमा पवेलियन फर्के। संगीता राई शुन्य रनमा आउट भइन्।
लुम्बिनी प्रदेशकी सुस्मिता भुषाल र मनिषा रानाले समान २ विकेट लिए। मधु डिसी र कमला जिएमले समान १ विकेट झारे।
Shares
प्रतिक्रिया