नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा लुम्बिनी प्रदेशले पहिलो जित दर्ता गर्दा कर्णाली प्रदेशले भने लगातार दोस्रो हार व्यहोरेको छ।
बुधबार भएको खेलमा लुम्बिनीले कर्णाली प्रदेशलाई १ सय ४ रनको फराकिलो अन्तरले पराजित गर्दै पहिलो जित दर्ता गरेको हो।
लुम्बिनीले दिएको १ सय २८ रनको लक्ष्य पछ्याएको कर्णाली ८.३ ओभरमा २३ रन जोड्दा अलआउट भयो।
कर्णालीका कुनै पनि खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन्। ५ खेलाडी शुन्य रनमा आउट भए। कर्णालीलाई सस्तैमा समेट्न मधु डिसी एक्लैले ४ विकेट झारिन्।
कृतिका मरासिनीले २ तथा सुस्मिता भुषालले १ विकेट झारिन्। कृतिकाले १.२ ओभरमा १ रन मात्र दिइन्।
त्यसअघि पोखरा रगंशालास्थित क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २७ रनको योगफल तयार पारेको थियो।
ओपनर लक्ष्मी चौधरी ३१ रन बनाउादा एलबीडब्लु धरापमा परिन्। कप्तान सरस्वती जिएम ३० रन बनाउँदा रन आउट भईन्। सुस्मिता बजगाइ र मधु डिसीले समान १२ रन थपे।
जितसँगै लुम्बिनी ३ अंकमा तालिकाको दोस्रो स्थानमा छ। कर्णालीकी अञ्जु गुरुङले २ तथा एञ्जिाला क्षत्रीले १ विकेट लिए।
समूह बीबाट नेपाल पुलिस क्लब ४ अंकमा तालिकाको शीर्ष स्थानमा छ। प्रदेश १, एक अंकमा तेस्रो र कर्णाली प्रदेश अंकविहीन रुपमा पुछारमा छ।
Shares

प्रतिक्रिया