ad ad

खेल


ए डिभिजन लिगः मछिन्द्र, संकटा र आर्मीको लक्ष्य उपाधि, संकटमा मनाङ

ए डिभिजन लिगः मछिन्द्र, संकटा र आर्मीको लक्ष्य उपाधि, संकटमा मनाङ

यज्ञराज जोशी
मंसिर २७, २०७६ शुक्रबार १५:१,

नेपालको प्रमुख फुटबल प्रतियोगिता शहिद स्मारक ए डिभिजन लिग शनिबारबाट काठमाडौंमा शुरु हुँदैछ। लिगमा देशका १४ ए–डिभिजनका क्लबहरु देशको सबैभन्दा ठूलो उपाधिका लागि भिड्ने छन्।

उद्घाटनको अघिल्लो दिनसम्म सबै क्लबले आ–आफ्नो तयारी सकिसकेका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले २०७१ पछि गतवर्ष पहिलोपल्ट लिग सञ्चालनमा ल्याएको थियो। तर, ट्रयाल भन्दै गतवर्ष एन्फाले लिगको मुलमर्म घटुवा हुने प्रावधान राखेन। त्यसकै कारण गतवर्षको लिगले रोमाञ्च गुमाएको फुटबल विश्लेषकहरु बताउँछन्।

यसपटक भने लिगको पुछारकाटे टोलीको घटुवा हुनेछ। सोही कारण क्लबहरुबीच तीव्र प्रतिस्पर्धा हुने अपेक्षा छ। क्लबहरुले स्वदेशी तथा विदेशी गरि न्यूनतम १८–१८ खेलाडी लिगका लागि दर्ता गराइसकेको एन्फाले जनाएको छ।

यसपटक मछिन्द्र क्लबले हेवीवेट स्टार खेलाडीहरुलाई अनुबन्ध गर्दै टिमलाई मुख्य उपाधि दाबेदारका रुपमा उभ्याएको छ। यस्तै गत सिजनमा दोस्रो स्थानमा रहेको संकटा र विभागीय टोली त्रिभुवन आर्मी क्लबले पनि उपाधिको लक्ष्य राखेको छ। तर, साविक विजेता मनाङले भने यसपटक उपाधि रक्षाको लागि प्रयास मात्रै गर्ने जनाएको छ।

मनाङलाई उपाधि रक्षाको चुनौती

आफ्ना प्रमुख खेलाडीहरु बहिर्गमनमा परेका कारण मनाङलाई उपाधि रक्षा गर्न चुनौती भएको हो। गतवर्ष सहित कीर्तिमानी आठौंपटक लिगको उपाधि उचालेको मनाङको साथ यसपटक कप्तान विराज महर्जनसहित मुख्य सात खेलाडीले छाडेपछि मनाङलाई उपाधि रक्षा गर्नु नै चुनौती देखिएको हो।

मनाङलाई गत सिजन लिगको उपाधि दिलाउने मुख्य नायक तथा अफ्रिकन प्रशिक्षक तोपे फुजाले पनि आफूहरु स्टार खेलाडीहरु बिना पनि उपाधिका लागि कोशिस गर्ने बताए।

‘फुटबलमा स्टार खेलाडीहरुको नामले भन्दा पनि मैदानमा कसले कस्तो खेल्छ भन्नेले नतिजा देखाउँछ,’ प्रशिक्षक फुजाले भने, ‘खेलाडीहरुको बहिगर्मनले हामीलाई कुनै दबाब छैन। हामी आफ्नो खेलमा केन्दित हुनेछौं र उपाधि रक्षाको प्रयास गर्नेछौं।’

मनाङका अर्का स्टार खेलाडी अन्जन विष्ट एन्फाको कारवाहीमा परेका कारण खेल्ने नखेल्ने अनिश्चित छ। त्यसबाहेक मनाङले अष्ट्रेलियामा व्यवसायिक खेल खेलिरहेका जगजित श्रेष्ठलाई क्लबसँग अनुबन्ध गरेको छ। यस्तै विमन राना, रन्जन विष्ट टोलीका आकर्षक खेलाडीहरु हुनेछन।

स्टार खेलाडीले भरिएको मछिन्द्र

मनाङबाट विराजसहित विशाल श्रेष्ठ, विशाल राई, सुजल श्रेष्ठ, हेमन गुरुङ, देबेन्द्र तामाङ र अभिषेक रिजाललाई यस सिजनमा अनुबन्ध गरेपछि मछिन्द्र उपाधिको बलियो दाबेदार टोली बनेको हो। यस्तै अर्को दाबेदार क्लब थ्री स्टारका रेजिन धिमाल, रेजिन सुब्बा, विजय धिमाल, बुद्ध चेम्जोङ र पिटर सेगुनलाई समेत अनुबन्धन गर्दै मछिन्द्रले उपाधि जित्ने दाबी गरिरहेको छ।

मछिन्द्रको प्रशिक्षक प्रवेश कटुवाल उपाधिकै दाबीलाई दोहोर्याउछन। उनी भन्छन्, ‘यसपटक स्टार खेलाडीहरु अनुबन्धन गर्नुको उदेश्य नै लिगको उपाधि जित्नु हो। उनीहरुको अनुभव र क्षमताले हामी लिग जित्नेमा ढुक्क छौं।’

मछिन्द्रले हाल राष्ट्रिय फुटबल टोलीमा रहेका ९ खेलाडीलाई क्लबमा राखेको छ। भर्खरै १३औं दक्षिण एसियाली खेलकुद(साग)को फुटबलमा स्वर्ण जितेका कप्तान सुजल श्रेष्ठसहित यू–१९ टोलीका कप्तान रेजिन सुब्बालाई पनि उसले अनुबन्ध गरेको छ।

नवनियुक्त कप्तान विराज महर्जनले नयाँ क्लबमा नयाँ साथीहरुसँग खेल्न पाउँदा उच्च मनोबल रहेको बताए। ‘सबै खेलाडीहरु राम्रो लयमा छन्। नयाँ ठाउमा नयाँ साथीहरुसँग खेल्दा टोलीको मनोबल पनि उच्च छ। हाम्रो ध्यान उपाधिमै हुनेछ,’ विराजले भने।

अघि बढ्न चाहान्छ संकटा

संकटा क्लब गतवर्ष लिगको दोस्रो स्थानमा रहेको थियो। यसपटक संकटाको लक्ष्य दोस्रोबाट पहिलो हुनेछ। त्यसका लागि संकटाले एक महिना अघि देखि नै आफ्नै मैदानमा तयारी थालिसकेको छ।

यसै महिनामात्रै संकटाले भक्तपुरको पलासेमा आफ्नै खेल मैदान तयार पारेर नियमित प्रशिक्षण थालिसकेको छ। यसअघि तीन पटक ए–डिभिजनको उपाधि उचालेको संकटाले यसपटक उपाधिकै लक्ष्य लिएको प्रशिक्षक विजय महर्जनले बताए।
‘यसअघि टुँडिखेलमा तयारी गथ्र्यौ। मानिसहरुले निकै ‘डिस्टर्व’ गर्थे। तर, आफ्नै मैदान भएपछि हामीले राम्रो तयारी गरेका छौं। तर वर्ष उपविजेता बनेकाले हाम्रो लक्ष्य उपाधि नै हुनेछ,’ प्रशिक्षक महर्जनले भने।

संकटाले आफ्ना पूराना खेलाडीलाई नै निरन्तरता दिएको छ। त्यसबाहेक एपिएफका मिडफिल्डर राजेन्द्र रावल र गोलरक्षक विनय श्रेष्ठलाई भने नयाँ खेलाडीका रुपमा संकटाले अनुबन्ध गरेको छ। त्यसबाहेक कप्तान रवि सिलवाल, डिफेन्डर सरोज दाहाल र मिडफिल्डर सुभाष गुरुङको साथ संकटालाई छ।

सेनाको दाबेदारी

गत सिजनमा पनि विभागीय टोली आर्मी लिगको मुख्य उपाधि दाबेदार टोली थियो। तर, धेरै खेलमा बराबरी खेल्दै अंक बाडेपछि उसको उपाधि सपना पूरा हुन पाएन।

प्रशिक्षक नवीन न्यौपाने यसपटक त्यही कुरा सुधार्ने रणनीतिमा छन। ‘अघिल्लो सिजन पनि हामी उपाधि दाबेदार नै थियौं। तर बीचमा धेरै खेलहरु बराबरी खेल्दै अंक बाड्नु पर्दा पछाडि पर्यौं,’ न्यौपानेले भने, ‘यसपटक ती नतिजालाई सुधार्दै हामी उपाधिको लक्ष्यमा छौं। खेलाडीको अनुभव र क्षमताका आधारमा पनि हामीले उपाधिको दाबी गरेका हौं।’

सेनामा राष्ट्रिय टोलीका अनुभवी खेलाडीद्वय भरत खवाससँगै नवयुग श्रेष्ठ, विकेश कुथु लगायतका खेलाडीहरु छन्। आफूहरु नियमित प्रशिक्षणमा रहेका कारण यसपटक राम्रो खेल्ने कप्तान भरत खवासले बताए।

अन्य टिमको तयारी कस्तो?

राजुकाजी शाक्यले १९८४ मा नेपालमा पहिलोपटक साग हुँदा खेलाडीका रुपमा उपाधि जितेका थिए। यस्तै १९९३ मा शाक्यकै कप्तानीमा नेपालले सागको दोस्रो फुटबल उपाधि जितेको थियो। त्यसपछि २०१६ मा उनकै प्रशिक्षकत्वमा नेपालले पु्नः साग फुटबलको स्वर्ण भित्र्यायो।

तर प्रशिक्षक शाक्यले घरेलु फुटबलको उपाधि भने जित्न सकेका छैनन। अघिल्लो सिजन च्यासल युथ क्लबको प्रशिक्षक बनेका शाक्यले च्यासललाई आठौं स्थानमा थमाएका थिए। यसपटक भने उनी आफ्नो पुरानो क्लब न्यूरोड टिम (एनआरटी) का प्रशिक्षकका रुपमा ए–डिभिजन लिग खेल्दैछन।

‘यसपटक म पुरानै क्लबमा फर्किएको छु। एनआरटीले पनि मलाई इच्छा देखायो। मेरो पनि पूरानो टिममा फर्कने चाहना थियो,’ शाक्यले भने, ‘मैले देशलाई उपाधि दिलाए पनि घरेलु प्रतियोगितामा भने उपाधि जित्न सकेको छैन। त्यो मेरो दुर्भाग्य भन्नुपर्छ। यसपटक उपाधि जित्ने भन्दा पनि शीर्ष ६ मा रहने हाम्रो लक्ष्य हुनेछ।’

यो पनि : साग विजेताको पुरस्कारबारे अन्योल कायमै, राखेप र मन्त्रालयकै भनाइ दुईथरी

नेपाल पुलिस क्लबका व्यवस्थापक भरत शाहले विभागीय टिमले सधैँभरि तयारी गर्ने भएकाले आफूहरुले अब्बल प्रदर्शन गर्ने विश्वास व्यक्त गरे। पुलिसका प्रशिक्षक अनन्त थापा ए–लेभल कोचिङ कोर्षमा व्यस्त भएका कारण पछिल्लो तीनहप्ता पुलिसले बिनाप्रशिक्षक अभ्यास गरिरहेको छ।

पुलिसका कप्तान भोला सिलवालले पनि विगत हप्ता प्रशिक्षकको अभाव खड्किए पनि आफूहरु लिगमा राम्रो स्थान ल्याउनका लागि खेल्ने बताए।

च्यासल युथ क्लबले यसपटक तीन जापानी खेलाडीहरुलाई अनुबन्ध गरेको छ। उनीहरुको स्तर नेपालमा खेलिरहेका अफ्रिकी खेलाडीको भन्दा राम्रो रहेको प्रशिक्षक बालगोपाल साहुखलले बताए। ‘प्रशिक्षकका रुपमा मेरो पनि ए–डिभिजन लिगमा यो पहिलो सिजन हो। पहिलो सिजन स्मरणीय बनाउँन चाहान्छु,’ उनले भने, ‘यसपटक जापानी खेलाडीहरुले पनि टिम बलियो बनेको छ। उनीहरुसँग सन्तोष साहुखल पनि जापानबाटै आउँदैछन्। हाम्रो लक्ष्य पनि उपाधि नै हो।’

एक समय राष्ट्रिय टोलीका मुख्य खेलाडी समेत रहेका सन्तोष साहुखलसहित राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य सुनिल बल च्यासलका आकर्षण हुनेछन।

सशस्त्र प्रहरी बल (एपीएफ) का प्रशिक्षक राजेन्द्र तामाङले आफूहरु दबाबरहित रुपमा लिग खेल्ने बताए। ‘लिगको तयारीका लागि तीनवटा मोफसलका प्रतियोगिता खेल्दा हामी पराजित भयौं। तर, अघिल्लो हप्ता चन्द्रागिरी गोल्डकपको उपाधि उचालेका खेलाडीहरुको मनोबल उच्च छ,’ प्रशिक्षक तामाङले भने, ‘हामीसँग युवा खेलाडीहरु बढी छन्। हामी दबाबरहित रुपमा राम्रो नतिजा ल्याउनेमा केन्द्रीत हुनेछौं।’

हिमालय शेर्पाका व्यवस्थापक अशोक श्रेष्ठले क्लब एन्फाकै अध्यक्ष कर्माछिरिङ शेर्पाको स्वामित्वमा रहेकाले नतिजा ल्याउन दबाब रहेको बताए।

‘सबै क्लब झैं काठमाडौं उपत्यकामा हामीलाई पनि तयारीमा मैदानकै समस्या रह्यो। हामीले लिगका लागि पोखरामा प्रशिक्षण गरेका थियौं,’ उनले भने, ‘हाम्रा सबै खेलाडीहरु पूरानै छन्। गतवर्ष अंक तालिकामा रहेको भन्दा यसपटक अगाडि आउने हाम्रो लक्ष्य छ। एन्फा अध्यक्षको टिम पनि भएकाले नजिता सुधार्नुपर्ने दबाब हामीमा छ।’

हिमालय शेर्पाका मुख्य खेलाडीहरुमा विश्वास श्रेष्ठ, किशोर गिरी र मानबहादुर श्रेष्ठ लगायत हुन्। तीन जना विदेशी खेलाडीहरु भित्र्याउने तयारीमा रहेको श्रेष्ठले बताए।

ब्रिगेड ब्वाइज क्लबका व्यवस्थापक अर्बिन गुरुङले आफूहरुको पूरै युवा टोली भएकाले अंकतालिकाको शीर्ष ६ मा रहने लक्ष्य उनले सुनाए। क्लबले युवा खेलाडीहरुलाई अनुभव होस भनेर राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान अनिल गुरुङ तथा राष्ट्रिय टोलीका पूर्वसदस्यद्वय विजय गुरुङ र उत्तम गुरुङलाई समेटेको छ।

गतवर्ष थ्रीस्टारबाट खेलेका अनिल १५ वर्षपछि बीबीसीमा फर्किएका हुन्। पोखराको सहारा क्लबका उत्पादन अनिलले २०६२ सालमा पहिलोपटक ब्रिगेड ब्वाइज क्लबबाटै ए डिभिजन लिग खेलेका थिए।

ए डिभिजन लिगबारे

शनिबारबाट शुरु हुने लिगको पहिलो खेलमा बीबिसीले मच्छिन्द्र क्लबको सामना गर्नेछ। खेल दशरथ रंगशालामा दिउँसो ३ बजे शुरु हुनेछ।

लिग सञ्चालनका लागि कुल ६ करोड ३० लाख खर्च लाग्ने एन्फा अध्यक्ष शेर्पाले बताए। सहभागी सबै क्लबलाई एन्फाले तयारीको लागि २०–२० लाख प्रदान गरेको छ।

लिगको विजेताले ५० लाख, दोस्रोले ३५ लाख, तेस्रोले २५ लाख, चौथोले १५ लाख, पाँचौले ७ लाख र छैटौं स्थानमा रहने टोलीले ५ लाख नगद प्राप्त गर्ने छन्। हरेक खेल जितेबापत क्लबले ५० हजार प्राप्त गर्नेछन्। खेल बराबरीमा रोकिएमा १५–१५ हजार प्रदान गर्ने एन्फाले जनाएको छ।

प्रतियोगितामा उत्कृष्ट ५ स्ट्राइकर, मिडफिल्डर, डिफेन्स, गोलकीपर र प्रशिक्षकले १ लाख ५० हजार प्राप्त गर्ने छन्। प्रत्येक खेलको म्यान अफ दी म्याचलाई १० हजार र प्रतियोगिताको फेयर प्ले टिमले १ लाख पाउने छ।

यो पनि: जसले साग सम्भव बनाए

यो पनि- साग समिक्षा: उत्कृष्ट नतिजा, औसत व्यवस्थापन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .