ad ad

खेल


साफ च्याम्पियनसिपमा महिला टोलीको हारले उब्जाएका प्रश्न

साफ च्याम्पियनसिपमा महिला टोलीको हारले उब्जाएका प्रश्न

लक्ष्मी जि.सी
असोज ५, २०७९ बुधबार १२:१२, काठमाडौँ

सोमबार दशरथ रंगशालामा भएको फाइनल खेलमा नेपालले साफ महिला च्याम्पिनसिपको उपाधि जितेको भए यतिबेला समर्थकहरु त्यसको खुसीयाली साट्दै हुन्थे। तर, नेपाल बंगलादेशसँग ३–१ ले पराजित हुन पुग्यो। त्यसैले त्यो हारसँगै नेपाली टोलीका कमजोरीबारे बहस सुरु भएको छ। त्यसै भनिएको होइन, जितले जसरी सानातिना गल्तीलाई ढाक्छ, हारले तिनलाई उदांगो बनाइदिन्छ।

दशरथ रंगशालामा सोमबार नेपाल र बंगलादेशबीचको फाइनल हेर्न झण्डै १६ हजार दर्शक उपस्थित थिए। त्यसबाहेक टेलिभिजन सेट र युट्युबमा हेर्नेको संख्या लाखौँ पक्कै थियो। नेपाल हार्दै गर्दा ती समर्थक निराश भएका थिए। 

त्यसअघि समूह चरणमा २ जित र सेमिफाइनलमा भारतविरुद्धको ऐतिहासिक जितमा ‘यदि’ र ‘तर’ धेरै सुनिएनन्। सबैले भारतमाथिको जितमा खुसी साटे। महिला टोली धन्यवादको हकदार थियो। किनकि भारतमाथि १–० को त्यो जित साफ च्याम्पिनसिपकै इतिहासमा पहिलो थियो। सफलतामा धेरै प्रश्न हुँदैनन्। हारमा प्रश्नैप्रश्न खडा हुन्छन्। छैटौं संस्करणमा पाँच पटक फाइनलमा पराजित हुँदा प्रश्न उठ्नु स्वाभाविक छ र प्रश्न पनि उठ्छन् नै। फुटबलमा त्यो दबाबलाई राम्ररी बुझेका मुख्य प्रशिक्षक कुमार थापाले फाइनलपछिको पत्रकार सम्मेलनमार्फत नै राजीनामाको घोषणा गरे। उनले दोस्रो पटक साफ च्याम्पियसिपमा महिला टोलीको जिम्मेवारी पाएका थिए। 

व्यक्तिगत रुपमा यसपटकको नतिजा थापाका लागि सफलता हो। यसअघि चौथो संस्करणमा उनको नेतृत्वमा टोली सेमिफाइनलबाटै बाहिरिएको थियो। दोस्रो पटक जिम्मेवारी पाउँदा उनले साफ च्याम्पियनसिपको उपाधि स्वदेशमै राख्ने बाचा गरेका थिए। बाचा पुरा हुन नसकेपछि उनले राजीनामा दिने घोषणा गरे। 

‘हामीले उपाधि जित्छौँ भन्ने बाचा गरेका थियौं। सफल हुन सकेनौँ,’ उनले भने, ‘उपाधि जित्न नसकेकामा माफी चाहन्छु। दिएको जिम्मेवारी पुरा गर्न नसकेपछि त्यसमा बसिराख्न उपयुक्त हुँदैन। ठाउँ खाली गर्दिनुपर्छ। त्यसैले अब राष्ट्रिय टोलीमा म हुन्नँ।’

नेपालअघि भारत पनि निराश भएर घर फर्कनुपरेको थियो। यसअघि सबै संस्करणको विजेता भारत सेमिफाइनलमा नेपालसँग पराजित भएको थियो। त्यसअघि भारत समूह चरणमा बंगलादेशसँग ३–० ले हारेको थियो। त्यो साफको १२ वर्षे इतिहासमा भारतको पहिलो हार थियो। भारतबाहेक महिला साफ च्याम्प्यिनसिपको उपाधि जित्ने बंगलादेश अर्को टोली बनेको थियो। 

यसपटक बंगलादेश विगतमा भन्दा निकै सशक्त रुपमा प्रस्तुत भएको थियो। समूह चरणमा सहज रुपमा अघि बढेको बंगलादेशका लागि भारतविरुद्धको जित ठूलो उपलब्धि थियो। सेमिफाइनलमा भुटानमाथि ८–० को बंगलादेशको जित स्वाभाविक थियो। फाइनलमा नेपालले बंगलादेशलाई कडा चुनौती दिने आशा गरिएको थियो। तर, त्यसमा बंगलादेश अब्बल साबित भयो। यो दक्षिण एसियाली महिला फुटबलमा बंगलादेशले ठूलो छलाङ मारेको प्रमाण हो। एकै संस्करणमा बलिया भारत र नेपाललाई हराउनु चानचुने सफलता होइन। यसअघि बंगलादेश सेमिफाइनलबाट अघि बढ्नै संघर्ष गर्ने टोली हो। चौथो संस्करणमा नेपाल सेमिफाइनलमा रोकिएको बेला बंगलादेशले फाइनल खेलेको थियो। दोस्रो पटक फाइनल पुग्दा बंगलादेश च्याम्पियन बन्न सफल भएको छ। 

गोल खानासाथ टोलीको मनोबल कमजोर भएको र अवसरलाई सदुपयोग गर्न नसक्नुलाई नै थापाले हारको कारण माने। उनले भने, ‘बंगलादेशले पाएका मौकालाई सुदुपयोग गर्यो। भारतविरुद्धको सेमिफाइनलमा जस्तो प्रदर्शन गर्न सकेनौँ। विपक्षीलाई दबाबमा राख्दाराख्दै पनि हार्न पुग्यौ, तेस्रो गोल खानेबित्तिकै खेलमा फर्कन गाह्रो भयो।’ 

आठ वर्षपछि महिला अन्तर्राष्ट्रिय फुटबलमा फर्केको पाकिस्तान, श्रीलंका, माल्दिभ्स र भुटानलाई सुरुवातबाटै उपाधिको दाबेदारका रुपमा हेरिएको थिएन। भारत, नेपाल र बंगलादेशलाई नै उपाधि दाबेदारका रुपमा हेरिएको थियो। भयो पनि त्यस्तै। श्रीलंकालाई हराउँदै पहिलो पटक साफ च्याम्पियनसिपको सेमिफाइनल पुग्ने भुटानका लागि पनि यो संस्करण कम उपलब्धिमूलक होइन। 

उपविजेताको छवि बनाएको नेपालका लागि आउने संस्करण थप चुनौतीपूर्ण हुने प्रशिक्षक थापाले जाँदाजाँदै औँल्याएका छन्। उनले भनेका थिए, ‘जसरी फुटबलमा बंगलादेशले प्रगति गरेको छ। आउने दिन हाम्रा लागि फाइनल पुग्न पनि सहज हुने छैन।’ 

महिला फुटबलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले जति पहल गरिरहेको छ, त्यो पर्याप्त छैन भन्ने उनको संकेत थियो। विभागीय टोलीले मात्र महिला फुटबललाई जोगाएको छ भन्दा फरक पर्दैन। एन्फाले महिला फुटबलमा गर्ने प्रतियोगिता सीमित छन्। उमेर समूहको प्रतियोगिता हुँदै हुँदैन। साफ उमेर समूहको प्रतियोगिता खेल्दा देशव्यापी रुपमा खुला छनोट गरेर तयारी गर्नुपर्ने अवस्था छ। प्रतियोगिता नभएपछि नयाँ खेलाडी आउने सम्भावना नै कम हुन्छ। 

यो च्याम्पियनसिपले महिला फुटबलमा पनि नेपाली दर्शकको उत्तिकै चासो र समर्थन रहेको प्रष्ट भएको छ। दशरथ रंगशालामा पहिलो पटक औपचारिक अन्तर्राष्ट्रिय महिला प्रतियोगिता आयोजना हुँदा  दर्शकको साथ रह्यो। घरेलु समर्थकका बीचमा इतिहास रच्ने मौकाबाट टोली चुके पनि महिला फुटबलमा पनि आकर्षण रहेको सन्देश दिएको छ। 

यसै च्याम्पिनयसिप मार्फत राष्ट्रिय टोलीमा डेब्यु गरेका मिडफिल्डर दीपा शाही र फरवार्ड अमिशा कार्कीले राम्रो छाप छाड्न सफल भए। प्रीति राई, भारतविरुद्ध निर्णायक गोल गरेकी रश्मिकुमारी घिसिङ, धेरैपछि लयमा देखिएकी अनिता बस्नेतको प्रदर्शनको चर्चा भयो। अनिताले ३ र अमिशाले २ गोल गरे। साफमा ४ नयाँ खेलाडीले डेब्युको मौका पाए। 

नयाँ खेलाडी मैदानमा प्रभाव पार्न सफल भएको विश्लेषक सञ्जीव मिश्रको बुझाइ छ। उनको नजरमा नेपाली टोली सन्तुलित थियो। तर, यसपटकको संयोग सबै खेलमा अग्रता लिएकै टोलीले जित निकालेको थियो। १२ मध्ये कुनै पनि खेलमा पुनरागमन जित निस्केन। फाइनलको पहिलो हाफमै २–० ले पछाडि पर्दा नेपाली टोली दबाबमा थियो। 

मिश्रले यसपटक भाग्यले पनि साथ नदिएको ठान्छन्। ‘हाम्रो राम्रो प्रयासको बंगलादेशी किपरले राम्रो बचाउ गरे। एउटा आक्रमणमा बल गोल लाइनबाट क्लियर भयो,’ उनले भने, ‘मेहनतसँगै भाग्य पनि यसपटक बगंलादेशको साथमा थियो।’ 

प्रशिक्षक थापा, कप्तान एञ्जिला तुम्बापो सुब्बाले पत्रकार सम्मेलनमार्फत र टोलीकी मुख्य फरवार्ड सावित्रा भण्डारी साम्बाले सामाजिक सञ्जालमार्फत समर्थकसँग माफी मागेका छन्। च्याम्पियनसिपमा पहिलो खेलपछि साम्बालाई डेंगी सक्रमण हुनु नेपाली टोलीका लागि ठूलो घाटा मान्नेहरु पनि छन्। समूह चरणको एक खेल र सेमिफाइनल गुमाएकी साम्बा फाइनलको दोस्रो हाफमा मात्र मैदान प्रवेश गरेकी थिइन्। उनी मैदान पस्दा नेपाल २–० ले पछि परिसकेको थियो।

विश्लेषक मिश्र पनि घरेलु संरचना बलियो बनाउँदै गएमा महिला फुटबललाई विकास गर्न सकिने बताउँछन्। 

‘अहिले नगरपालिकाले महिला लिगमा भाग लिँदै आएका छन्। अन्य क्लबले पनि महिला फुटबलमा ध्यान दिने हो भने अझै राम्रो गर्न सक्छौँ,’ उनले थपे। 

टोलीकी कप्तान तथा गोलरक्षक एञ्जिलाले म्याच एक्सपोजर नपुगेको कारण नै हार भोग्न परेको बताइन्। निराश हुँदै उनले भनेकी थिइन्, ‘धेरै खेल नहुँदा टोलीमा केही नपुगेकोे जस्तो देखियो।’ 

हामी साफमा फेरि पनि असफल भएको तथ्यलाई स्वीकार्दै र भविष्यमा सफलता प्राप्तिको आशा राखेर योजनाबद्ध रुपमा महिला फुटबलको विकासमा जुट्न एन्फाले ढिला गर्नुहुँदैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .