ad ad

खेल


जसले साग सम्भव बनाए

जसले साग सम्भव बनाए

यज्ञराज जोशी
मंसिर २५, २०७६ बुधबार ६:४४,

असार २४ गते राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिव नियुक्त हुँदा रमेशकुमार सिलवालसमक्ष थुप्रै चुनौती थिए।

तीमध्ये सबैभन्दा ठूलो चुनौतिको पहाड उनीसामु उभिएको थियो– तीनपटक सम्म सारिसकिएको १३औं दक्षिण एसियाली खेलकुद (साग) पाँच महिनाभित्रै आयोजना गर्नु।

मंसिरको तालिका नेपालका लागि अन्तिम समयसीमा थियो। यसपटक पनि गर्न नसक्दा यो खेल आयोजना नेपालबाट अरु कुनै देशमा जानेथियो। देशको राष्ट्रिय क्षमतामैं प्रश्न उठ्ने निश्चित थियो।

असार ९ गते राखेपको रिक्त भएको कुर्सी साग आयोजनाको मुख्य जिम्मेवारीसहित प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना युवा संघका तत्कालिन सहकर्मी तथा निकटतम सम्बन्ध रहेका सिलवाललाई असार २४ गते सुम्पे।

देशकै कार्यकारी प्रमुखबाट सम्पूर्ण सहयोगको बाचा पाएपछि राम्रै शैक्षिक व्यवसायलाई थाँती राखि नेपाली खेलकुदको नेतृत्व सम्हाल्न तयार भएका थिए, सिलवाल। उनले सपथ खादैँ भने, ‘म यहाँ तलब खानका लागि आएको हैन। कमाई अरु ठाँउमा राम्रो थियो। राम्रो गाडी चढेकै थिएँ। म केही गर्न आएको हुँ र कार्यकाल पुरा हुँदा शीर ठाडोँ बनाएर जानेछु।’

सिलवालले काम सम्हालेपछि पाँच महिना बितेको छ। उनले यो अवधिमा जस पाउने गरि १३औं दक्षिण एसियाली खेलकुद (साग) को आयोजना सम्पन गरेका छन्।

सिलवालकै भनाईमा उनले पद सम्हाल्दा राखेपका कर्मचारीलाई समेत तेस्रो पटक मिति सारिएको साग नेपालमैं हुनेमा शंका थियो। तर, आफू आएपछि शुरुमा ‘हुन्छ कि क्या हो!’ भन्ने सम्म बनाएको र एकमहिनामा ‘अब चाहिँ पक्का हुन्छ’ भन्ने आशा जगाएको उनी दाबी गर्छन्।

‘मैले निर्धारित समयमैं (मंसिर १५ बाट) साग गरिछाड्छु भन्दा सुरुमा केहि मान्छे हाँस्थे। अरुको कुरा छोडिदिउँ, मेरै कर्मचारीहरुलाई पनि विश्वास थिएन। मन्त्रालयका मन्त्री, सचिव कसैलाई विश्वास थिएन। क्रमशः उनीहरुलाई विश्वास हुँदै गयो,’ सिलवालले पदभार ग्रहणपछिका दिन सम्झिए।

राखेपका प्रशासन विभाग प्रमुख कुलबहादुर थापा पनि सो कुरा स्वीकार्छन्। उनी भन्छन्, ‘नयाँ सदस्य आउँदा नयाँ जोश जाँगर पाइयो। उहाँभित्रको सकिन्छ भन्ने स्प्रिटले हामीलाई पनि त्यही बाटोमा डोर्यायो र हामी आज समापनसम्म आइपुग्यौं।’

'चार महिनामा सागमैं जसरी अरुतिर पनि काम हुने हो भने देशले विकासमा फड्को नै मार्थ्याे। हामीले साँच्चिकै रातदिन नभनि काम गरौं। यही ‘स्प्रिट’मा काम गर्न सके समृद्ध नेपाल सुखी नेपालीको नाराले पाँचवर्षभित्रै सार्थकता पाउँछ भन्ने मलाई लाग्छ,’  सागमा समारोह व्यवस्थापनको जिम्मेवारी पाएर वाहीवाही बटुलेका थापा थप्छन्। 

मुख्य चिन्ता दशरथ रंगशालाकै थियो। दशरथ रंगशालाको पुर्नर्निमाण निकै सुस्त गतिमा चलेको थियो। भीआइपी प्यारापिट टाकटुक गरेर फुटाउने काम जारी थियो। त्यो कहिले सकिने अनि डन्डी र छानो हाल्ने कुनै टुंगो थिएन। राखेपकै पूर्वाधार शाखा प्रमुख इञ्जिनियर अरुण उपाध्यायसँग त्यसको जवाफ थिएन।

उनी चिन्ता व्यक्त गर्थे, ‘यसरी एकदुई जनाले टाकटुक गरेर रंगशाला कहिले फुटाइसक्लान र बनाउने काम अघि बढ्ला। सुन्धारा त्रिपुरेश्वर सडक खण्डमा एकतर्फि गाडी चलाएर फुटाउन पाए कम समयमा सकिन्थ्यो।’

नेपालखबरसँगको अन्तर्वार्तामा सिलवालले भने जसरी जसरि बेहुला नभए बिहे हुदैँन त्यसैगरी रंगशालाबिना साग संभव छैन भनेर पहिलो ध्यान रंगशालामैं केन्द्रित गरेँ। बहालवाला मन्त्री स्वयमलाई रंगशालामै खटिन अनुरोध गरेँ। सुन्धारा त्रिपुरेश्वर सडकमा एकतर्फी गाडी चलाएर, दिन–रात दुई सिफ्टमा काम गराएँ।

सामान समयमै ल्याउने प्रतिवद्धता लिन सिलवाल चीन गए र उपाध्यक्ष पिताम्बर तिम्सिनालाई भारत पठाए। चीनबाट अन्तिम समयमा छानो समुन्द्रीमार्ग हुँदै नियमित प्रक्रियाबाट ल्याउन नसकिने भएपछि प्रधानमन्त्रीसँग कै समन्वयन गरेर उनले लाखौं रुपैयाँ खर्च गरेर कार्गोबाट छानो ल्याइछाडे।

चिनियाँ सहयोगमा रंगशालाको ट्रयाक, फ्लडलाईट, स्क्रिन र साउण्ड सिस्टम बनाइएको थियो। तर सरकारले चिनियाँ कम्पनीसँग सम्झौताका क्रममा हस्तान्तरण नभएसम्म कोही पनि रंगशालामा नछिर्ने सहीछाप लगाएको थियो।

सागको मिति नजिकिदैँ गयो। रंगशालामा झांगिएको घाँस काट्न, नयाँ रोप्न र मैदान बनाउन प्रवेश चाहिने भयो। तर चिनिया कम्पनीले सम्झौताअनुसार बनाएको सामानलाई असर पुग्नेभन्दै शुरुमा प्रवेश नै दिएन।

‘मैले चिनियाँ कम्पनीसँग कम्तिमा १७ पटक मिटिङ गरे होला। त्यसपछि बल्ल उहाँहरु हामीलाई मैदानमा प्रवेश दिन तयार हुनुभयो। अहिले ७१ सालपछि पहिलो पटक दशरथ रंगशालामा फुटबल फर्काउन सफल भयौं,’ सिलवाल भन्छन्।

पोखरामा उस्तै चुनौती
उता पोखरा रंगशालाको काम अलपत्र थियो। त्यहाँ कृत्रिम टर्फयुक्त मैदान निर्माण गर्न भनी गिट्टी ओछ्याइएको थियो। तर सदस्यसचिव नियुक्त भएलगत्तै पोखरा पुगेका सिलवालले पोखरा जस्तो सुन्दर शहरमा कृत्रिम मैदान नभई प्राकृतिक मैदान नै हुनुपर्ने भन्दै मैदानमा बिछ्याई सकिएका गिट्टी झिक्न लगाए।

उनकै शब्दमा तीन महिनामा पोखरा रंगशाला टाटेपाटे भएपनि खेल खेलाउन योग्य पारियो। महिला फुटबल त्यहीँ सम्पन्न भयो।

‘मैले तीन महिनामा १३ हजार सिट क्षमताको पोखरा रंगशालालाई साग खेल्नयोग्य हुनेगरि तयार पारेको हुँ। खेल र भौतिक पूर्वाधार बुझ्नेले यति समयमा यो बनाउन कति कठिन छ भन्ने सहजै अनुमान लगाउन सक्छन,’ सिलवालले भने।

भौतिक संरचनामात्रै हैन विभिन्न स्वार्थ समूह रहेका खेलकुदमा सबैको चित्त बुझाउँदै अघि बढ्न पनि सिलवाललाई उत्तिकै चुनौती थियो। त्यसैले यसअघिको परम्परामा सदस्यसचिव नै स्वयं सेभ द मिसन हुने परम्परालाई क्रमभंग गर्दै सिलवालले उपाध्यक्ष पिताम्बर तिम्सिनालाई सेभ द मिसन तोकिदिए। 

सरकारसँग नजिककै सम्बन्ध भएका कारण ४ अर्बको बजेट सागका लागि छुट्टयाउन उनलाई धेरै सकस परेन। त्यही रकमले २१ खेलका खेलाडीलाई बैदेशिक प्रशिक्षणमा पठाए। खेल संघ र खेलले मागेअनुसारकै बैदेशिक प्रशिक्षण र स्वदेशमै प्रशिक्षण गराएका कारण अहिलेको सफलता हात पारेको संघका पदाधिकारी बताउँछन।

‘यसपटक खेल बुझैकै सदस्यसचिव पाएकाले हामीले २५–३० वर्षदेखि भन्दै आएको हिटिङ सिस्टमयुक्त स्वीमिङ पुल पायौं,’ नेपाल पौडी संघका अध्यक्ष अशोकरत्न बज्राचार्य बताउँछन, ‘अब पौडीले गती लिनेछ। हामी केहीवर्षमै यस क्षेत्रमा भारत पछिको दोस्रो पावर हाउसको रुपमा स्थापित हुनेछौं।’ 

सिलवाल राखेप सदस्यसचिव हुनुअघि नेपाल क्रिकेट संघका पूर्व उपाध्यक्ष समेत हुन्।

लक्ष्यभन्दा बढी स्वर्ण
१३औं सागमा नेपालले ५१ स्वर्ण पदकसहित दोस्रो स्थान हासिल गर्याे। यसअघि आठौं सागमा प्राप्त ३१ स्वर्णको इतिहास तोड्यो। सदस्यसचिव सिलवाल आफूले कम्तिमा ५० स्वर्ण नेपालले ल्याउछ भनेर राखेको लक्ष्य प्राप्ति भएकोमा गमक्क छन्।

उनी भन्छन, ‘सरकारको सकरात्मक सहयोग, सम्पूर्ण तयारी समितिका साथीहरु, खेलाडीले गरेको मेहनत र परिश्रम, प्रशिक्षकको लगनशिलताले पुनः हामीले जस्तोसुकै कठिन कुरो पनि सम्भव गर्न सक्छौं भनेर प्रमाणित गरेका छौं।’

सिलवाल लक्ष्य प्राप्तिबाट सन्तुष्ट छन्। उनी भन्छन्, ‘सफलता हामीले मापन गर्ने कुरो हैन। हामीले सन्तुष्टि मापन गर्न सक्छौं। सागको दौरान भुकम्पले रंगशाला बिग्रता फुटबल समर्थनमा हराएको खुशीलाई हामीले भित्र्याउन सकेका छौं। पाँच वर्षपछि दशरथ रंगशालामा फ्ल्यास बाल्न सफल भयौं। यसमा म सन्तुष्ट छु,’ उनले थपे।

सागमा ल्याएको स्वर्ण सुरुवातमात्रै भएको र अझै ठूला प्रतियोगितामा पदक ल्याउन आफूहरु तयार उनी बताउँछन। त्यसका लागि अहिलेको जस्तै उर्जा कायम राख्न उनले सबैलाई अनुरोध गरे।

‘अब १४औं साग, ओलम्पिक, एसियाडको तयारी गर्नेछौं। सागलाई सफल बनाउन जुन उर्जा सबैतर्फबाट प्राप्त भयो, त्यो सबैलाई कायम राख्न अनुरोध गर्दछु। यो सागमा ल्याएको ५१ स्वर्ण कुनै कागतालीले ल्याएको हैन। खेलाडीको मेहनतले ल्याएको हो। आगामी सागमा अझै धेरै स्वर्ण ल्याउने प्रण गर्छौैं।’

‘मेरो खास क्षमता नवौं राष्ट्रिय खेलकुदमा देखाउँछु’

सदस्यसचिव सिलवालले आफ्नो चारवर्षे कार्यकालमा नेपाली खेलकुदले पारदर्शी र व्यवस्थित बाटो समात्ने जिकिर गरे। उनले सागमा आफ्ना लागि छोटो अवधि रहेको र आफूले एकवर्षपछि गण्डकीमा हुने नवौं राष्ट्रिय खेलकुदमा कुनै प्रश्न नरहने गरि काम गर्ने प्रतिबद्धता जनाए।

‘अब साग सकिएसँगै म नवौं राष्ट्रिय खेलकुदको तयारीमा जुट्नेछु। यसले कस्तो गर्नेरहेछ भनेर नवौंमा हेरिदिनुस्। अहिले मसँग चार महिनाको छोटो अवधिमात्रै थियो। त्यसबेला मलाई एकवर्ष समय छ। त्यो एकवर्षमा म कसैको प्रश्न नरहने गरि काम गर्नेछु,’ सदस्यसचिव सिलवालले भने।

‘अन्तर्राष्ट्रिय दाता, कर्पोरेट क्षेत्रबाट सहयोग बढाउँछु’
सिलवालले खेलकुदको विकासका लागि आफू सरकारको मात्रै मुख ताकेर नबस्ने बताए। खेलकुदलाई पर्यटनसँग जोड्दै अन्तर्राष्ट्रिय दाता तथा कर्पोरेट क्षेत्रलाई पनि यसमा समावेश गर्ने उनको योजना छ।

‘अहिलेसम्म खेलकुदमा आउनेहरुले सरकारको मात्रै मुख ताकेर बसेको देखेँ। अब म सरकारको मात्रै मुख ताकेर बस्दिन। अन्य दाता कर्पाेरेट हाउसबाट सहयोग ल्याएर भौतिक पूर्वाधारलाई बलियो बनाउने काम गर्छु। बढि भन्दा बढि प्रतियोगिता खेलाडीहरुको आत्मसम्मान र व्यवासायिकताको विकासमा जानसके मात्रै खेलकुदमा समृद्धि सम्भव छ,’ उनले भने।

‘मैले बैँकहरुलाई सामाजिक उत्तरदायित्व अन्तर्गतको २५ प्रतिशत खेलमैं खर्च गर्न प्रस्ताव गरेको छु। त्यो भयो भने ६० करोड रुपैयाँ बैँकबाट मात्रै सिर्जना गर्नसक्छौं,’ उनले थपे, ‘बैंक तथा नीजि क्षेत्रले लगानी गर्न पनि हामीले नतिजा दिनुपर्छ। योजना बनाई त्यसलाई कार्यान्वयन गरे परिणाम दिनसक्नेमा हामी विश्वस्त छौं।’

टिकट, मिडिया अधिकार बेचेर र विज्ञापन गर्दै यसपटक सागलाई विश्वव्यापीकरण गर्नेमा आफूले जोड दिएको उनले बताए। ‘टिकट, मिडिया अधिकार तथा विज्ञापनबाट यसपटक कम्तिमा ५० करोड रुपैयाँ जुटाउँछौं। त्यो पैसा खेलाडीका लागि फिजिकल फिटनेश सेन्टर, अस्पताल र डाटाबेश बनाउनमा खर्च हुनेछ,’ सिलवालले भने।

यो पनि- साग समिक्षा: उत्कृष्ट नतिजा, औसत व्यवस्थापन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .