ad ad

खेल


भलिबल संघको पहिलो महिला अध्यक्ष बन्ने मास्केको योजना

भलिबलको विकासका लागि पाँच ‘प’ सार्वजनिक
भलिबल संघको पहिलो महिला अध्यक्ष बन्ने मास्केको योजना

लक्ष्मी जि.सी
साउन २५, २०७९ बुधबार ८:५८, काठमाडौँ

नेपालको सबभन्दा लोकप्रिय खेल र ७७ वटै जिल्लामा संघसहित सबैभन्दा ठूलो सांगठनिक संरचना भएको भलिबल अहिले फेरि चर्चामा छ। कारण अबको एक महिनाभित्रै भलिबल संघको नेतृत्वका लागि निर्वाचन हुँदैछ।

सरकारले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको पाँच वर्ष पुरा भइसकेको छ। यो बीचमा महिला राष्ट्रिय टोलीले केही महत्वपूर्ण सफलता हासिल गरेको छ।  लगातार दुई पटक एभीसी सेन्ट्रल जोन च्याम्पियन बनेको महिला टोलीले स्वदेशमा आयोजना भएको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक जितेको थियो। नेपाली भलिबल इतिहासमा त्यो अहिलेसम्मकै ठूलो सफलता हो। त्यसअघि महिला टोलीले तीन पटक कास्य पदक मात्र जितेको थियो।

पुरुष टोलीले भने सागमा अहिलेसम्म पदक जित्न सकेको छैन। पुरुष टोलीले एक दमात्र सफलताका रुपमा २०७३ सालको अन्त्यतिर एभिसी सेन्ट्रल जोनमा कास्य पदक जितेको थियो। 

यही बेला भलिबल संघको नेतृत्वका लागि निर्वाचन हुन लागेकाे छ र अध्यक्ष पदका लागि सबैभन्दा पहिला मैदानमा उत्रेकी छन्, वर्तमान उपाध्यक्ष निरोज मास्के। भदौ २२ गते हुने निर्वाचनमा मास्के विजयी भइन् भने उनी २०३३ सालमा स्थापना भएको भलिबल संघको पहिलो महिला अध्यक्ष बन्ने छिन्।

संघका दुई पूर्वअध्यक्ष गंगाबहादुर थापा र दानबहादुर घिसिङ, अध्यक्षका प्रत्यासी रहिसकेका हाल प्रदेश नं १ का खेलकुद विकास परिषद्का सदस्य सचिव हंसराज वाग्लेसहित भलिबलका सरोकारवालाहरुको बाक्लो उपस्थितिमा मास्केले गतसाता नै  संघको अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेकी हुन्।

उम्मेदवारी घोषणामा उनी लिखित प्रतिबद्धतासहित उपस्थित भएकी थिइन्। पछिल्लो डेढ देशकदेखि भलिबलमा अनवरत काम गरेको आधारमा उनले आफू अध्यक्षको आकांक्षी बनेको बताएकी छिन्। 

सामूहिक नेतृत्वबाट मात्र संघले चाहेजस्तो खेल विकास गर्न सक्छ भन्ने विश्वास राख्ने मास्केले नेतृत्वमा नपुगेसम्म आफ्नो योजना पुरा गर्न नसकिने निष्कर्षका साथ उम्मेदवारी दिएको बताएकी छिन्। नेपाली भलिबलमा सुशासन, जनसहभागिता र व्यावसायिकताका लागि आफू नेतृत्वमा आउनु पर्ने उनको तर्क छ। अहिले एकल रुपमा उम्मेदवारी घोषणा गरेकी उनले आवश्यकता परे प्यानल नै बनाएर अघि बढ्ने सोच पनि बनाएकी छन्। भलिबल विकासमा लाग्ने सबैलाई ठाउँ दिनु पर्नेमा आफू पनि रहेको मास्के बताउँछिन्। 

‘एक्लै त केही गर्न सकिन्न। भलिबल सामूहिक खेल हो,’ उनले भनिन्, ‘खेलको विकास पनि सामूहिक रुपबाट अघि बढे मात्र गर्न सकिन्छ।’

मास्केले भलिबल विकासका लागि पाँच ‘प’ लाई आफ्नो प्रतिबद्धताका रुपमा सार्वजनिक गरेकी छिन्। प्रशिक्षण, प्रतियोगिता, पूर्वाधार, प्रोत्साहन र प्रशासनिक संरचनालाई भलिबल विकासको आधार मानेकी छन्।

घोषणा पत्रमा मास्केले सैद्धान्तिक प्रतिवद्धता समेटिकी छिन्। भलिबलको विकास र विस्तारका लागि समन्वय, सहकार्य, साझेदारी, संस्थागत सुदृढीकरण र सदस्यता वृद्धि गर्ने उनको बाचा छ। संघलाई अघि बढाउन इच्छाशक्ति र आत्मविश्वास रहेको दाबी गर्दै उनले विकासका लागि आर्थिक पक्ष त्यतिकै महत्वपूर्ण हुने बताइन्। त्यसले उनले निजी क्षेत्रसँग साझेदारी गर्ने र एनआरएनएसँग सहकार्य गर्ने योजना अघि सारेकी छिन्। 

रेफ्री, प्रशिक्षक लगायत दक्ष जनशक्ति उत्पादन गर्ने, ग्रास रुट, विद्यालय, युथ र सिनियर गरी विभिन्न तहमा भलिबल टोली तयार गर्ने, प्रतियोगिता परियोजना, भलिबल खेललाई विद्यालय तहदेखि विश्वविद्यालयसम्मको पाठ्यक्रममा समावेश गराउनका लागि पहल गर्ने उनको योजना छ। त्यस्तै ४ वर्षमा कम्तीमा ४ लाख नेपालीलाई भलिबलको सञ्जालमा जोड्ने उनको लक्ष्य छ। हेर्दा महत्वकांक्षी लाग्ने योजना भए पनि ती सबै पुरा गर्न सकिने उनको दाबी छ।

उनले थपिन्, ‘हामीले पछिल्लो डेढ दशकमा प्राप्त गरेको अनुभवकै आधारमा यी सबै योजना अघि सारेका हौँ। यसमा पुरा गर्न नसकिने त्यस्तो कुनै एजेन्डा छ जस्तो लाग्दैन।’

भलिबल लोकप्रिय खेल भएकाले यसमा सबैको चासो हुनु स्वाभाविक छ। भौतिक पूर्वाधारको अभाव, श्रोतको कमी, सकारको थोरै लगानी रहने कारणले पनि भलिबल विकासका लागि चुनौती छ। ती सबै चुनौतीलाई आफूले बुझेर नै अघि बढेको उल्लेख गर्दै मास्के भन्छिन्, ‘हामीले योजनाबद्ध रुपमा अघि बढ्ने र सबैसँग हातेमालो गर्दै जाने लक्ष्य लिएका छौँ। राष्ट्रिय टोलीको प्रशिक्षणका लागि पनि आफ्नै कभर्ड हल संघको छैन, त्यति मात्र होइन व्यवस्थित कार्यालय समेत संघको छैन। सल्लाह गर्नका लागि पनि एउटा व्यवस्थित कार्यालय आवश्यक छ। त्यसै योजनालाई कार्यान्वयन गर्न जनशक्ति पनि चाहिन्छ। हामी त्यसको पनि व्यवस्था गर्नेछौँ।’ 

विद्यालयस्तरबाट उमेर समूहका खेलाडी उत्पादन गर्ने योजना उनको छ। यसअघि संघले विद्यालय कमिसन गठन गरेको थियो। तर त्यसले सोचेअनुसार काम गर्न सकेन। त्यसमा पनि उनी सचेत छिन्। 

संघको अहिलेको राम्रा कामलाई आफूले निरन्तरता दिने उनले बताइन्। निर्वाचित भएको खण्डमा सबैले महसुस गर्ने गरी भलिबलमा परिवर्तन ल्याउन उनी दृढ छिन्। भलिबलको व्यावसायिकताका लागि खेलाडीलाई विदेशी लिगहरुमा पठाउन पनि संघले पहल गर्नुपर्ने र घरेलु भलिबललाई पनि वर्ष भर व्यस्त राख्न सके खेलाडीलाई आर्थिक रुपमा बलियो बनाउन मद्दत पुग्ने उनले बुझेकी छन्। 

भलिबल विकास लागि मास्केले व्यक्तिगत रुपमा पनि पहल गर्दै आएकी छिन्। बीच भलिबल आयोजना, खेलाडी सम्मान गर्दै आएको सञ्जय मेमोरियल फाउन्डेसनकी उनी संरक्षक पनि हुन्। 

विद्यालय स्तरमा भलिबल खेलाडी रहेकी मास्के तीन कार्यकालअघि सदस्यका रुपमा संघमा प्रवेश गरकी थिइन्। प्रदेश खेलकुदका सदस्य सचिव वाग्ले, हरक सिंह धामीको समूहबाट निर्वाचन लडेर अत्याधिक मतका साथ मास्के संघको सदस्यमा विजयी भएकी थिईन्। 

सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लाबाट प्रतिनिधित्व गर्दै भलिबल संघमा प्रवेश गरेकी मास्के अहिले मुख्य नेतृत्वका लागि अगाडि बढेकी छिन्। 

केन्द्रीय सदस्यको रुपमा प्रवेश गरेपछि संघले उनलाई महिला कमिसनको संयोजकको जिम्मेवारी दिएको थियो। सोही कमिसनले चितवनमा राष्ट्रिय स्तरको पहिलो महिला बिच भलिबल प्रतियोगिता आयोजना गरेको थियो। त्यसपछि कोषाध्यक्षमा निर्वाचित उनले संघको कोषलाई व्यवस्थित गर्न नेतृत्व लिइन्। जसले संघको आम्दानी र खर्च थप पारदर्शी बनेको थियो। 

पछिल्लो समय उपाध्यक्षमा निर्वाचित मास्के कुनैबेला राजीनामा दिएर भलिबलबाट अलग हुनेसम्मको निराशा आफूलाई आएको बताउँछिन्। केही समय उनी निष्क्रिय पनि रहिन्। संघका पदाधिकारीसँग विचार नमिले पनि भलिबलबाट टाढिन भने उनी सकिनन्। 

‘थाहा नपाई भलिबल आदत बनिसकेछ। फेरि खेलाडीहरुको आफ्नोपनले टाढा हुन दिएन,’ उनी भन्छिन्, ‘तिनै खेलाडी र भलिबलको विकासका लागि एकपटक मुख्य नेतृत्वमा रहेर काम गर्ने कोसिसमा छु।’


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .