खेल


भारतविरुद्ध नेपालः स्वर्ण ताक्नेहरुको भिडन्त

भारतविरुद्ध नेपालः स्वर्ण ताक्नेहरुको भिडन्त

नेपालखबर
मंसिर १२, २०७६ बिहिबार ७:३०,

यस खेललाई स्वर्ण ताक्ने टिमहरुबीचको भिडन्तका रुपमा लिइएको छ। घरेलु मैदानमा यसपटक नेपाल स्वर्णको लक्ष्यसहित मैदान उत्रिएको हो भने भारत दक्षिण एसियाकै पावर हाउस भएकाले उपाधि दाबेदार टोली हो।

नेपालले बुधबार बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै स्वर्ण यात्रा सुरु गरिसकेको छ। भारतले बिहीबार नेपालसँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ।

दक्षिण एसियाली भलिबलमा नेपालले हालसम्म भारतलाई पराजित गर्न सकेको छैन। यसपटक भने तयारी राम्रो रहेकाले भारतलाई कडा चुनौती दिने प्रशिक्षक जगदिश भट्टले बताए।

‘भारत दक्षिण एशियाकै पावर हाउस भए पनि हाम्रो मनोबल उच्च छ,’ उनले भने, ‘घरेलु मैदानको फाइदा उठाउँदै उसविरुद्ध जित निकाल्ने रणनीतिका साथ हामी कोर्ट उत्रनेछौं। भारतलाई हराउन सके हाम्रो लागि स्वर्ण पक्का हो।’

नेपालले पछिल्ला ६ खेलमा बंगलादेश र माल्दिभ्सलाई समान २–२ पटक तथा किर्गिस्तान र अफगानिस्तानलाई १–१ पटक पराजित गरेको छ।

साउनदेखि सागका लागि तयारी थालेको नेपालले थाइल्याण्डमा तीन हप्ता तयारी गरेको थियो। लगत्तै बंगलादेशमा भएको एभीसी सेन्ट्रल जोन भलिबलको उपाधि जित्दै नेपाली टोली सागमा प्रतिस्पर्धा गरिरहेको हो।

टोलीका कप्तान अरुणा शाहीले घरेलु कोर्टमा भारतलाई चुनौती दिनेमा विश्वस्त भएको बताइन्। उनी भन्छिन्, ‘ बगंलादेशविरुद्धको खेलमा भएका कमजोरीलाई सुधार्दै हामी भारतसँग कोर्टमा उत्रनेछौं। भारतसँग खेल्न हामी आतुर छौं। भारतलाई जित्दै स्वर्ण जित्ने हाम्रो लक्ष्य छ।’

भारतविरुद्ध ओपन स्पाइकर प्रतिभा माली र सरस्वती चौधरी, मिडल ब्लकर सुनिता खड्का, साफिया पुन, उषा कुमारी विष्ट, हीरा केसी, ब्याकमा रेश्मा भण्डारी, निरुता ठगुन्ना, उषा भण्डारी र लिवेरोमा सलिना श्रेष्ठ रहनेछन्। सेटरमा कप्तान अरुणा शाही नै रहनेछिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad