यही मंसिर १५ देखि नेपालमा सञ्चालन हुन लागेको १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) लाई लक्ष्य गरी प्रधानमन्त्री केपी शर्मा ओलीले आज (मंगलबार) सम्बोधन गर्ने भएका छन्।
उक्त प्रतियोगितामा सहभागी हुने खेलाडीलगायतलाई लक्ष्य गरेर अहिले ११ बजे प्रज्ञा भवनबाट प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नेपालखबरलाई जानकारी दिए।
त्यस अवसरमा प्रधानमन्त्री ओलीले उक्त प्रतियोगितामा उपाधि जित्ने खेलाडीका लागि विशेष प्याकेज घोषणा गर्ने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ।
‘प्रधानमन्त्रीले खेलाडीहरूलाई सम्बोधन गर्नाका साथै प्याकेज घोषणा गर्नुहुनेछ,’ परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनाले नेपालखबरसँग भने, ‘सागको मुखैमा देशकै कार्यकारीले सम्बोधन गर्दा खेलाडीहरूको मनोबल बढ्ने आशा गरिएको छ।’
सम्बोधनमा प्रधानमन्त्रीले खेलाडीलाई शुभकामना दिने भए पनि के कस्तो प्याकेज घोषणा गर्न लागिएको भन्नेबारे भने केही खुलाइएको छैन। पदक जित्ने खेलाडीलाई राष्ट्रले गर्ने सम्मान तथा प्रोत्साहनबारे सुनिश्चित पार्ने प्याकेज घोषणा हुने तिम्सिनाले बताए।
प्रधानमन्त्रीको सम्बोधनका लागि पोखरा तथा जनकपुर लगायतका ठाँउमा अभ्यासरत खेलाडी समेत काठमाडौं आएका छन्।
प्रधानमन्त्री ओलीको सम्बोधनका लागि पोखरामा प्रशिक्षणमा रहेको महिला फुटबल र बीच भलिवल टोली पनि सोमबार साझ नै काठमाडौं आइपुगेको छ। सम्बोधनपछि प्रधानमन्त्रीले दशरथ रगंशाला निरीक्षण गर्ने कार्यक्रम पनि छ।
भलिबल खेलाडीलाई पुरस्कार दिइने
यसैबीच प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रममा गत कार्तिक २८ गते बंगलादेशमा भएको पहिलो एभिसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको नेपाली महिला टोलीलाई पनि नगदसहति सम्मान गरिने भएको छ।सो उपाधि नेपालले अन्तर्राष्ट्रिय भलिबलमा प्राप्त गरेको पहिलो उपाधि हो।
राष्ट्रिय खेलकुद परिषद्९राखेप० सदस्यसचिव रमेशकुमार सिलवालले ऐतिहासिक उपाधि जितेको नेपाली टोलीलाई विमानस्थलमा फर्कने बेलामा जनही ३-३ लाख रुपैया उपलब्ध गराउने बताएका थिए। सरकारसँग पहल गर्ने बताएका थिए। सेन्ट्रल जोन खेलेको उपाधि विजेता टोलीमा १२ खेलाडी, ३ प्रशिक्षक र १ व्यवस्थापकसहित १६ सदस्य रहेका थिए।
नेपाली टोलीमा अरुणा शाही (कप्तान), प्रतिभा माली, सरस्वती चौधरी, कमला पुन, रेश्मा भण्डारी, उषा विष्ट, सलिना श्रेष्ठ, सुनिता खड्का, निरुता ठगुन्ना, पुनम चन्द, साफिया पुन र जानकी भण्डारी थिए । यस्तै मुख्य प्रशिक्षकमा जगदीश भट्ट, प्रशिक्षकमा सलिना श्रेष्ठ र भरत यादव तथा व्यवस्थापकमा रिता कोइराला थिए।

प्रतिक्रिया