ad ad

खेल


पहिले भकुण्डो खेलाडीका नेता, अहिले राजनीतिक खेलाडी

पहिले भकुण्डो खेलाडीका नेता, अहिले राजनीतिक खेलाडी

लक्ष्मी जि.सी
बैशाख १३, २०७९ मंगलबार १६:३०, काठमाडौँ

कुनै समय खेलकुद क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेका व्यक्तिहरु अहिले स्थानीय तहको जिम्मेवारी लिन चुनावी मैदानमा उत्रिएका छन्।

खेलकुदको अभिभावक संस्था राष्ट्रिय खेलकुद परिषद् (राखेप) का दुई पूर्वसदस्य–सचिव स्थानीय निर्वाचनमा उम्मेदवार बनेका छन्।

केशव स्थापितले काठमाडौँ महानगरपालिकाको मेयर र केशव विष्टले इटहरी उपमहानगरपालिकाको उपमेयरमा सोमबार उम्मेदवारी दर्ता गरेका छन्। स्थापित नेकपा एमालेका उम्मेदवार हुन् भने विष्ट एकीकृत समाजवादीका।

अखिल नेपाल फुटबल संघ (एन्फा) का मानार्थ वरिष्ठ उपाध्यक्ष किशोर राईले नेपाली कांग्रेसका तर्फबाट धरान उपमहनगरपालिकाको मेयरमा उम्मेदवारी दिएका छन् ।

नेपाल भलिबल संघका वरिष्ठ उपाध्यक्ष यामबहादुर गुरुङले एमालेबाट कास्कीको माछापुच्छ्रे गाँउपालिका ५ मा वडाध्यक्षको उम्मेदवारी दिएका छन्। 

उसो त खेलकुद र राजनीति दुवैमा सक्रिय रहनेहरू पनि छन्। तीमध्येका एक हुन् जीवनराम श्रेष्ठ। नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष उनी एकीकृत समाजवादीका संघीय सांसद हुन्।

उनले दुई पटक राखेपको सदस्य सचिवको जिम्मेवारी निर्वाह गरिसकेका छन्।

हामीले यहाँ  खेलाडीहरूको नेतृत्व गरिरहेका केही नेताहरुको चर्चा गरेका छौँ :

केशव स्थापित : राखेप पूर्व सदस्य सचिव (२०५१–५२)
२०५४ सालमा काठमाडौँ महानगरपालिकाको मेयर निर्वाचित हुनुअघि स्थापित राखेपका नवौँ सदस्य सचिव नियुक्त भएका थिए। उनी पुराना कराते खेलाडी पनि हुन्।

२०३९ अघि सो खेलमा प्रतिबन्ध रहेकै बेला उनी खेलाडी थिए। नेपाल कराते महासंघका कार्यवाहक अध्यक्ष दावा गुरुङलगायतले त्यतिबेला लुकीछिपी कराते खेल्ने गरेको बताइन्छ। 

२०५१ सालमा राखेप सदस्य सचिव हुँदा स्थापितले तत्कालीन २ सय ५ निर्वाचन क्षेत्रमा कराते प्रशिक्षक नियुक्त गरेका थिए। त्यो समय उनले कराते, तेक्वान्दो लगायतका खेलमा प्राविधिक पनि नियुक्त गरेका थिए।

सोहीकारण अहिले करातेलगायतका प्रशिक्षकहरु धेरै रहेको कराते प्रशिक्षक दीपक श्रेष्ठ बताउँछन्। नेकपा एमालेबाट सदस्य सचिव बनेका उनले पूर्व राष्ट्रिय फुटबल खेलाडी गणेश थापालाई एन्फाको अध्यक्ष बनाएका थिए। 

स्थापितले आफू मेयर भएमा यहाँका खेलाडी र खेलप्रेमीको आवश्यकतालाई ध्यानमा राख्दै काम गर्ने बताएका छन्।

‘खेलकुद र खेलाडीको व्यवस्थापन गर्दै खेलको विकासका लागि एउटा संघ बनाएर काम गर्नुपर्ने छ। जसले राखेपलाई पनि दबाब होस् र खेलाडीको समुन्नत विकासमा ध्यान जाओस्,’ उनले भने।  

एमाले नेता स्थापित यसअघि बागमती प्रदेशका मन्त्रीसमेत बनेका थिए।

केशव विष्ट : राखेप पूर्वसदस्य सचिव (२०७२–७६)
एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालनिकट मानिने विष्ट पार्टीको खेलकुद महासंघ अध्यक्ष हुन्। २०७२ सालमा राखेप सदस्य सचिवमा नियुक्त भएर चार वर्षे कार्यकाल पुरा गरेका उनी इटहरी फर्केर राजनीतिमा सक्रिय भएका थिए।

विष्टलाई पार्टीले इटहरी उपमहानगरपालिको उपप्रमुखकाे उम्मेदवार बनाएको छ।

चार वर्षे कार्यकालमा दुई वटा राष्ट्रिय खेलकुद (सातौं र आठौं) आयोजना गर्न सफल विष्टले आफ्नो कार्यकाल स्वर्णिम भएको दाबी गर्दै खेलकुदबाट विदा लिएका थिए।

राखेपको बागडोर सम्हालेका विष्टले त्यो समय गृहनगर इटहरीलाई ‘स्पोर्टस् सिटी’ बनाउने योजना बताएका थिए। तर, त्यो पुरा हुन सकेन। अधुरो त्यो योजनालाई यसपटक निर्वाचित भएमा पुरा गर्ने उनले बताएका छन्।

इटहरी रंगशालाको धेरै काम भए पनि ८ बिघा स्वीमिङ पुल, स्पोर्टस् होस्टल, भलिबलको इन्डोर हल र फुटबलको प्रशिक्षण मैदान बनाउन बाँकी रहेकाले त्यसलाई पूरा गर्ने लक्ष्य रहेको उनले सुनाए। 

इटहरी विकासको दीर्घकालीन योजना बनाएर अन्तर्राष्ट्रिय मापदण्डको नमुना स्पोर्ट्स सिटी बनाउने प्रयत्न आफूले गर्ने विष्टले बताए। 

‘म खेलकुदबाट टाढा रहन सक्दिनँ,’ उनले भने, ‘स्थानीय सरकारमा बसे पनि समाजवादी मोडलमा त्यहाँका जनतालाई कुनै किसिमको समस्या नपर्ने गरेर नमुना सहर बनाउने प्रयास गर्नेछु।’ 

किशोर राई : एन्फा पूर्वउपाध्यक्ष
एन्फाका मानार्थ वरिष्ठ उपाध्यक्ष राईले कांग्रेसका तर्फबाट धरान नगरपालिको मेयरमा उम्मेदवारी दिएका छन्। फुटबलका पूर्व राष्ट्रिय खेलाडी समेत रहेका राई झण्डै डेढ दशक एन्फा नेतृत्वमा रहे।

धरानको बुढासुब्बा गोल्डकपको आयोजक कमिटीका अध्यक्ष समेत रहेका राईले पार्टीको नगर सभापतिको जिम्मेवारी पनि निर्वाह गरिसकेका छन्। 

राईले मेयरमा उम्मेदवारी दिए पनि राजनीतिसँगै खेल क्षेत्रलाई अघि लैजाने बताएका छन्। राईले धरानलाई खेलकुदको सहरको रुपमा विकास गर्न आफूले बुँदागत योजना बनाएको बताए। 

‘युवाहरुको सहर धरानलाई खेलकुद, कला र संगीतको सहरको रुपमा घोषणा गरेर सोही अनुसार काम गर्ने योजना छ,’ उनले भने।

क्रिकेट, फुटबल, कराते, तेक्वान्दोको एकेडेमी बनाउने, खेलकुद प्रतियोगिता आयोजना गर्ने, प्राविधिक रुपमा प्रशिक्षणको कार्यक्रम गरेर रोजगार सिर्जना गर्ने, धरानका आइकन पूर्व खेलाडीको सालिक निमार्ण गरेर उनीहरुको जीवनी अध्ययन गर्ने तथा स्पोर्टस् पार्क निर्माण गर्ने प्रतिबद्धता उनले जनाएका छन्। 

विभिन्न खेलका प्रशिक्षक र खेलाडीलाई सम्झौता गरेर खेल सञ्चालन गर्ने, धरानको रंगशालामा साँझमा फुटबल आयोजना गर्न मिल्नेगरी फ्लड लाइट जडान गर्ने उनको योजना छ।

धरान खेलकुदको उर्वरभूमि भएकाले अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्ने र सोही मापदण्डको खेलग्राम स्थापना गर्ने परिकल्पना राईले गरेका छन्।

यामबहादुर गुरुङ : नेपाल भलिबल संघका वरिष्ठ उपाध्यक्ष
भलिबल संघका वरिष्ठ उपाध्यक्ष गुरुङ कास्कीको माछापुच्छ्रे गाउँपालिका ५ को वडाध्यक्षका लागि चुनाव लड्दैछन्। कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्षको जिम्मेवारी पुरा गरिसकेका उनी भलिबलका पूर्व खेलाडी हुन्। 

लामो समयदेखि भलिबलमा सक्रिय गुरुङ अध्यक्षमा निर्वाचित भएमा केन्द्रको खेलकुदबाट भने टाढा बस्ने योजनामा छन्। यद्यपि, गाउँपालिकाको विकासका लागि भने खेलकुदमा सँधै सक्रिय रहने उनले बताए।

राखेपको कार्यकारी बोर्ड सदस्यमा दाबी गरे पनि उनी त्यसमा असफल भएका थिए। तर, यसपटक निर्वाचित भए गाउँपालिका र वडामा खेलाडी उत्पादनका लागि योजना आफूले तयार पारिसकेको उनले सुनाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .