खेल


रुपन्देहीको तिलोत्तमामा स्केटपार्क, प्रदेश प्रमुखले गरे उद्घाटन

रुपन्देहीको तिलोत्तमामा स्केटपार्क, प्रदेश प्रमुखले गरे उद्घाटन

रुपन्देहीको तिलोत्तमामा निर्मित ‘स्केट पार्क'। तस्बिर : नेपालखबर


सुदीप भण्डारी
फागुन २१, २०७८ शनिबार २२:०, बुटवल

रुपन्देहीको तिलोत्तमामा ‘स्केट पार्क तथा सामुदायिक केन्द्र’ सञ्चालनमा आएको छ। 

तिलोत्तमा नगरपालिकाको अनुमतिमा करिव १० कठ्ठा क्षेत्रफलमा इन्डोर स्केट पार्क निर्माण गरिएको हो।  

गुरुयोजना अनुसार तेस्रो चरणसम्मको योजना सम्पन्न हुँदा स्केट पार्क दक्षिण एसियाकै नमूना हुने बताइएको छ । 

तिलोत्तमा नगरपालिका–४ डिङगरनगरस्थित तिनाउ नदीको छेउमा निर्मित स्केट पार्क तथा सामुदायिक केन्द्रको शनिबार लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन स्केट पार्कको उद्घाटन गरे । 

पार्कमा रहेको शिलालेखको तिलोत्तमाका नगरप्रमुख वासुदेव घिमिरे र स्टेक एड इन्टरनेशनलका संस्थापक अध्यक्ष प्रोफेसर टिटस् डिटम्यानले अनावरण गरे । 

कार्यक्रममा प्रदेश प्रमुख शेरचनले खेल क्षेत्रले सबैलाई एकतावद्ध बनाउने भएकाले यसको विकासमा तीनै सरकार जिम्मेवार बन्नुपर्ने बताए । उनले स्केट पार्क लुम्बिनीबासीका लागि गर्वको विषय बनेको बताए । 

लुम्बिनी प्रदेशका पूर्वमन्त्री एवम् प्रदेशसभा सदस्य लीला गिरीले तिलोत्तमा नयाँ खेलको विकासका लागि स्टेक पार्क बनेकाले थप भौतिक पूर्वाधार विकासमा सहयोग गर्ने बताए । 
तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले स्केट पार्कले खेल क्षेत्रमा नयाँ आयाम थप्ने उल्लेख गरे । 

उनले स्केट पार्कको प्रस्ताव ल्याउदा शुरुमा विश्वास नलागेर धेरै पटकको छलफल गरिएको बताउँदै अहिले मुर्त रुप पाउदा खुशी लागेको सुनाए । 

स्केट एड इन्टरनेशनलका संस्थापक अध्यक्ष टिटस डिटम्यानले स्केट पार्कले नेपाली युवाहरुलाई आकर्षित गर्न सफल हुने विश्वास गरे । 

स्केट एड नेपालका अध्यक्ष जागृत पहाडीले स्केट पार्कको पहिलो चरणको काम सकिएकाले अब नियमित रुपमा प्रशिक्षण र खेल प्रतियोगिता गर्न सकिने जानकारी दिए । 

फ्रान्स, जर्मनी, क्यानडा, स्पेन, जापान, भारत र नेपालका स्केट क्षेत्रका करिव ६० जनाले स्वयसेवीका रुपमा सघाएपछि निर्माण पूरा भएको उनले बताए।  

स्केट एड इन्टरनेशनल, स्केट एड नेपाल र युवा फर चेञ्ज संयुक्त रुपमा पार्क निर्माणमा जुटेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .