ad ad

खेल


सचिनको आगमनले नेपाली क्रिकेटलाई उर्जा दिनेछ: विनोद दास

सचिनको आगमनले नेपाली क्रिकेटलाई उर्जा दिनेछ: विनोद दास

नेपालखबर
कात्तिक २९, २०७६ शुक्रबार १५:५१,

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान विनोद दासले विश्व क्रिकेटका महान खेलाडी सचिन तेन्दुल्करको नेपाल आगमनले नेपाली क्रिकेटलाई उर्जा दिने बताएका छन्।

शनिबार विनोदले सचिनसँग त्रिवि क्रिकेटमा मैदानमा सद्भावना क्रिकेट खेल्दैछन्। यूनिसेफले बालबालिकाको अधिकार सम्बन्धि सचेतना जगाउन आफ्ना सद्भावना दूत समेत रहेका सचिनलाई नेपाल ल्याउन लागेको हो। स्रोतका अनुसार सचिन शुक्रबार राति साढे ९ बजे त्रिभुवन विमानस्थलमा ओर्लिनेछन।

उनी शुक्रबार राति होटल द्वारिकामा बस्ने कार्यक्रम रहेको छ। शनिबार बिहान सचिनले त्रिवि क्रिकेट मैदानमा विनोद दासको टोलीसँग सद्भावना क्रिकेट खेल्नेछन्। उक्त खेल शनिबार १० बजेबाट सुरु हुने भनिएपनि यूनिसेफले ९ बजेभित्र नै मैदान प्रवेश गरिसक्नुपर्ने जनाएको छ।

Image may contain: one or more people

सचिन र विनोदको टिमका अन्य सदस्य भने बालबालिकाहरु हुनेछन्। विनोदले सामाजिक सञ्जालमार्फत सचिनविरुद्ध त्रिवि मैदानमा खेल्न लागेको पुष्टि गरेका थिए। उनले क्रिकेट शब्दको समानार्थी व्यक्तिसँग मैदान सेयर गर्न पाउँदा खुशी लागेको व्यक्त गरेका छन्।

आजैमात्रै नेपालको यू १९ टोलीको भारत भ्रमणबाट स्वदेश फर्किएका दासले सचिनसँग खेल्नेबारे आफूलाई पनि विस्तृतमा जानकारी नगराइएको बताए। ‘मलाई यूनिसेफका प्रतिनिधिहरुले ३–४ महिनाअघि नै प्रस्ताव गरेका थिए,’ दासले नेपालखबरसँग कुरा गर्दै भने, ‘मलाई पनि यसबारे विस्तृतमा जानकारी गराइएको छैन।'

शनिबार बिहान त्रिवि क्रिकेट मैदान आउन भनिएको छ। आशा गरौं मिडियामा आएको जस्तै सचिनसँग त्रिवि मैदानमा भेट हुनेछ।’ यूनिसेफले सचिनलाई नेपाल ल्याउने तयारी पहिले नै गरेको उनको कुराबाट पुष्टि हुन्छ। यसैहप्ता इमेलमार्फत दासलाई यूनिसेफले अन्तिम जानकारी दिएको थियो।

‘नेपाल क्रिकेट क्रेजी देश हो। यदि सचिन आएको बेला सही सदुपयोग गर्न सकियो भने क्रिकेटमा नयाँ उर्जा थप्न सकिन्छ। त्यसको पहल हुनुपर्छ,’ दासले भने।

जान्नुहोस् सचिनबारे

सचिन भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य तथा कप्तान हुन। विश्व क्रिकेटका इतिहासमा उनी एक महान खेलाडीका रुपमा परिचित छन। अन्तर्राष्ट्रिय क्रिकेटमा उनी सर्वाधिक रन स्कोरर हुन।

सन् १९८९ मा पाकिस्तानविरुद्ध भारतीय टोलीबाट १६ वर्षको उमेरमा डेब्यू गरेका सचिनले त्यसपछि २५ वर्ष अन्तर्राष्ट्रिय क्रिकेट खेले। एक सय अन्तर्राष्ट्रिय शतक प्रहार गर्ने सचिन एक्ला खेलाडी हुन्। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दोहोरो शतक प्रहार गर्ने उनी पहिलो खेलाडी हुन्। टेस्ट र ओडिआईमा उनी सर्वाधिक रन स्कोरर समेत हुन्।

अन्तर्राष्ट्रिय क्रिकेटमा ३० हजार रन पूरा गर्ने सचिन एक्ला खेलाडी हुन्। उनको उचाई केही कम भएकाले उनलाई लिटिल मास्टर ब्लास्टरको नामले पनि चिनिन्छ। भारतले २०११ को क्रिकेट विश्वकप जित्दा सचिन त्यसको सदस्य थिए। ६ वटा विश्वकप खेल्दा उनले जितेको त्योमात्रै एक विश्वकप हो।

२००३ मा दक्षिण अफ्रिकामा भएको विश्वकपमा भने उनी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी भएका थिए। उनको योगदानको कदर गर्दै भारत सरकारले उनलाई प्रतिष्ठित अर्जुन अवार्ड, राजिव गान्धी रत्न, पदम श्री, पदम विभुषण, भारत रत्न, बाट सम्मान गरिसकेको छ। सचिन भारतीय संसदको माथिल्लो सदन राज्य सभाको पनि सदस्य रहिसकेका छन।

सन् २०१० मा टाइम म्यागेजिनले सचिनलाई संसारका १०० प्रभावशाली व्यक्तिको सुचिमा समेतेको थियो। २०१२ मा सचिनले ओडिआईबाट सन्न्यास घोषणा गरेका थिए। अर्कोवर्ष उनले मुम्बईको वानखडे स्टेडियममा वेष्ट इण्डिजविरुद्धको खेलमा सबै खाले क्रिकेटबाट विदाई लिए। ६६४ अन्तर्राष्ट्रिय खेल खेलेका सचिनले ३४ हजार ३ सय ५७ रन बनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .