ad ad

खेल


बेइजिङ विन्टर ओलम्पिक : नेपालबाट न खेलाडी, न सरकारी टोली

बेइजिङ विन्टर ओलम्पिक : नेपालबाट न खेलाडी, न सरकारी टोली

फाइल तस्बिर


यज्ञराज जोशी
माघ ७, २०७८ शुक्रबार १८:१४, काठमाडौँ

अर्को महिना हुन लागेको बेइजिङ विन्टर ओलम्पिकमा नेपालले सहभागिता नजाउने पक्का भएको छ।

फेब्रुअरी ४ देखि चीनमा सुरु हुने ओलम्पिकमा नेपालबाट खेलाडी, पदाधिकारी, अफिसियल र डेलिगेड्स टोली पनि सहभागी नहुने पक्का भएको हो। 

नेपाल ओलम्पिक कमिटीले यस्ता प्रतियोगितामा खेलाडी पठाउने जिम्मा लिएको हुन्छ। तर यसपल्ट नेपाली खेलाडीले ओलम्पिकका लागि प्वाइन्ट प्राप्त गर्न नसक्ने भएपछि सहभागिता नहुने भएको हो। 

‘यसमा ओलम्पिक कोटा वा वाइल्ड कार्ड भन्ने हुँदैन। छनोट भएरै जानुपर्छ,’ नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले भने, ‘यसपटक खेलाडीले छनोटका लागि प्वाइन्ट पुर्‍याउन नसकेपछि हाम्रो सहभागिता नहुने भएको छ।’

विन्टर ओलम्पिकका लागि नेपालबाट स्कीका सफलराम श्रेष्ठले प्रयास गरेका थिए। स्कीको अल्पाइन विधामा उनले आवश्यक १६० प्वाइन्ट लिन नसकेपछि नेपालको सहभागिता नहुने भएको हो। 

विन्टर ओलम्पिकमा हिउँमा खेलिने खेलहरु राखिएका हुन्छन्। तर हिउँ पर्ने नेपालको माथिल्लो भूभागमा खेल पूर्वाधार अभावका कारण विन्टर ओलम्पिकमा सहभागिता जनाउने खेल नै न आयोजना हुन्छन् न त खेलाडी नै छन्। 

संघीय सांसद एवम् नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठका छोरा सफलराम व्यक्तिगत लगानीमा युरोपका विभिन्न देशमा पुगेर अभ्यास गरिरहेका छन्। तर उनी पनि यो विन्टर ओलम्पिकमा जाने छैनन्। 

कोही नजाने 
खेलाडी नजाने भए पनि ५० भन्दा बढी देश सहभागी हुने विन्टर ओलम्पिकलाई कूटनीतिक सम्बन्ध बढाउने माध्यमका रुपमा प्रयोग गर्न पनि नेपालले चासो देखाएको छैन। 

ओलम्पिक कमिटीका महासचिव श्रेष्ठ खेलाडी नै नहुने भएपछि उक्त देशको सहभागिताको परम्परा नै नभएको बताउँछन्। 

‘अब खेलाडीको नै सहभागिता नहुने भएपछि त्यस देशका पदाधिकारी र अफिसियल पनि सहभागी हुने प्रचलन छैन,’ उनले भने, ‘त्यहीकारण ओलम्पिक कमिटी वा खेलकुद मन्त्रालयबाट कसैको सहभागिता हुने छैन।’

युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले नेपाली खेलाडीको सहभागिता नहुने भएको बताए।

ओलम्पिक कमिटीबाट सिफारिस पनि नभएकाले मन्त्रालयबाट मन्त्रीसहितका अधिकारीको पनि सहभागिता हुने सम्भावना लगभग सकिएको बताए। 

‘नेपालबाट खेलाडीको सहभागिता नहुने भएकाले ओलम्पिक कमिटीबाट सिफारिस आएको छैन,’ डा. रेग्मीले भने, ‘मन्त्री, सचिव जाने भएपछि मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्छ। समय पनि सकिन लागेकाले यसपल्ट मन्त्रालयबाट सहभागिता हुने सम्भावना छैन।’

यो ओलम्पिक विशुद्ध खेलकुद मात्रै नभएर राजनीतिक रुपमा पनि महत्वपूर्ण छ। विभिन्न विवाद तथा कोभिड–१९ को महामारीबीच चीनले विन्टर ओलम्पिक आयोजना गर्दै विश्वलाई आफ्नो शक्ति देखाउने तयारी गरेको छ। 

सन् २०२० सकिँदासम्म चीनले विन्टर ओलम्पिक आयोजना हुने सबै १२ स्थानमा पूर्वाधार निर्माणसहित सबै काम सकिसकेको छ। 

आयोजकले यसपटक सरल, सुरक्षित र भव्य विन्टर ओलम्पिक आयोजना गर्ने दाबी गरेको छ। 

प्रतियोगितामा आउने सबैको सुरक्षालाई पनि ध्यानमा राख्नुपर्ने चुनौती छ। बाहिरबाट आउने मानिसले संक्रमण सार्ने जोखिम रहेकाले कोरोना संक्रमित शून्यमा राख्ने रणनीतिअनुसार काम गरिरहेको चीनले दाबी गरेको छ। 

त्यसका लागि आवश्यक वैज्ञानिक मापदण्ड कडाइका साथ पालना गरिने त्यहाँको ओलम्पिक कमिटीले जनाएको छ। अहिलेसम्म प्रतियोगितामा दर्शकलाई आउन दिने–नदिने आयोजकले स्पष्ट पारिसकेको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .