ad ad

खेल


शक्ति गौचन हार्नु र अशोक प्याकुरेलको सदस्यता नवीकरण नहुनुको अर्थ

शक्ति गौचन हार्नु र अशोक प्याकुरेलको सदस्यता नवीकरण नहुनुको अर्थ

यज्ञराज जोशी
माघ ६, २०७८ बिहिबार २०:१२, काठमाडौँ

‘मेरो मन रोएको छ। मेरो क्रिकेट रोएको छ,’ रुपन्देही जिल्ला क्रिकेट संघको निर्वाचनमा पराजित भएपछि शक्ति गौचनले भावुक हुँदै भने। 

देशको जर्सीमा थुप्रै अविस्मरणीय प्रदर्शन गरेका यी ख्यातिप्राप्त क्रिकेटरलाई संघका मतदाताले पत्याएनन्। बल्ल उनले भेउ पाए– मैदानभित्र र मैदानबाहिरको क्रिकेट फरक हुँदो रहेछ। मैदानभित्र उनी जति सफल खेलाडी भए पनि मैदानबाहिर राजनीति र अवसरवादका अगाडि उनी असफल रहे। 

‘म स्वच्छ छवि भएको, क्रिकेटलाई योगदान दिएको, क्रिकेट खेल्ने र क्रिकेट खेलिरहेको मान्छेलाई त नैतिकताले पनि भोट देलान् भन्ने सोच थियो। मान्छेको आत्माले पनि शक्तिलाई नदेऊ भन्दैनन् होला भन्ने लागेको थियो,’ शक्तिले नेपालखबरसँग भने, ‘मलाई लाग्थ्यो भोटरले उम्मेदवारलाई हेरेर भोट दिन्छन्। तर त्यस्तो नहुँदो रहेछ। राम्रालाई भन्दा पनि हाम्रालाई राजनीति, सम्बन्ध, बिजनेस, सपोर्ट आदि आदि कुरा हेरेर भोट दिइने रहेछ।’

दुई दशकबढी निरन्तर क्रिकेटमा सक्रिय आफूलाई नपत्याउनुले क्रिकेटमा केही गर्न चाहन्छु भनेर आउनेलाई समेत हतोत्साहित बनाएको शक्ति बताउँछन्। 

‘हामी आउँदा माथिल्लो तहमा बसिरहेकालाई डिस्टर्ब गर्छन् भन्ने सोच छ। उनीहरुले गलत गरिरहेका छन्, त्यसलाई हामीले रोक्छौँ भन्ने छ,’ शक्ति भन्छन्, ‘म क्रिकेटमा २० देखि २५ वर्ष क्रियाशील भएको मान्छेलाई त गाह्रो हुन्छ भने केही गर्छु भन्न खोज्ने नयाँ मान्छे संघमा आउन आँट्नै सक्दैन नि।’ 

क्रिकेट संघमा क्रिकेटकै उन्नतिका लागि लागिपर्नेभन्दा बाहिरिया व्यक्तिहरुको कस्तो हालिमुहाली छ, शक्ति गौचनको पराजयले उजागर गर्छ।

यस्तै अर्को उदाहरण हुन् भर्खरै मात्र क्यानको सचिव पदबाट राजीनामा दिएका अशोकनाथ प्याकुरेल। बर्दिया क्रिकेट संघले आफ्नो सदस्यता नवीकरण नगरिदिएको उनको भनाइ छ।

‘मैले धेरै अगाडिदेखि अध्यक्षलाई पटकपटक फोन गरेर मेरो सदस्यता नवीकरण गर्दिनुस्। मैले पैसा पठाइदिन्छु भनेकै हो,’ प्याकुरेलले भने, ‘उहाँहरुको नियत नै सदस्यता नदिने देखियो। जानीबुझीकन सदस्यता नदिएको हो।’ 

‘मैले सदस्यता लिएर जिल्लामा चुनाव लडौँला, केन्द्रमा आउँला भनेर सायद सबैजना आत्तिनुभयो जस्तो छ,’ अध्यक्ष पदका भावी उम्मेदवारका रुपमा पनि हेरिएका प्याकुरेल थप्छन्, ‘तलदेखि माथिसम्मको षड्यन्त्र हो। पदाधिकारी भएर यत्रो वर्ष बसेको मानिसलाई त सदस्यता नवीकरणमा यो समस्या छ। यो देखेपछि विधानअनुसार क्यान कति काम गर्न चाहन्छ, प्रष्ट हुन्छ।’

तर, बर्दिया क्रिकेट संघले भने समयमै सदस्यता नवीकरण नगराएको प्रमाण देखाएको छ। प्याकुरेलले दुई दिनपछि मात्रै बैंकमा भौचर बुझाएको र म्याद गुज्रिएर आएको भौचरमाथि कुनै कारबाही गर्न नसकिएको बर्दियाका अध्यक्ष विनयराज भण्डारी बताउँछन्। 

‘माघको २७ गते नवीकरणको म्याद सकिए पनि २९ गते मात्रै उहाँले भौचर बुझाउनुभएको छ,’ भण्डारीले नेपालखबरसँग भने, ‘२७ गते फोनमा मान्छे पठाइदिन्छु भन्नुभयो तर कोही मान्छे आएन। उहाँ कार्यसमिति सदस्य पनि हो। चार वर्षमा उहाँ एकपटक पनि कार्यसमिति बैठकमा आउनुभएन। केन्द्रमा बसेर सदस्यता दिएन भनेरमात्रै हुन्छ? सदस्यता त लिन आउनुपर्यो नि!’ 

क्यानलाई आईसीसीको निलम्बनबाट फुकुवा गराउन अग्रमोर्चामा रही काम गरेको, क्यानको विधान बनाएको र लगत्तै भएको निर्वाचनमा चतुरबहादुर चन्दको प्यानलबाट सचिव पद जितेका प्याकुरेललाई बर्दियाले जिल्ला संघले नै केन्द्रमा मनोनित गरेर पठाएको हो। 

अध्यक्षलाई पटकपटक भन्दा जसरी पनि माघ २७ कटाऔँ भन्ने गलत नियत राखेको आरोप प्याकुरेल लगाउँछन्। 

‘मैले उहाँलाई १५ गतेदेखि पटकपटक फोन गरिसकेँ। भनिसकेँ। म्यासेज गरिसकेँ,’ प्याकुरेल भन्छन्, ‘जसरी पनि २७ कटाऔं भन्ने नियतको कुरा हो। यो नेतृत्वको मनसाय मेरो सदस्यता नवीकरण नगरिदिऊँ भन्ने नै हो। मैले बर्दियाको अध्यक्षलाई गरेको कल रेकर्ड हेर्ने हो भने पनि दसौँ दिनअगाडिको भेटिन्छ।’ 

बर्दियासँग जोडिएको बाँके जिल्ला क्रिकेट संघले पनि राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा सो क्षेत्रमा क्रिकेट विकासका लागि निरन्तर सक्रिय एलबी क्षेत्रीलाई अन्तिममा कार्यसमिति सदस्यबाटै पाखा लगाएको थियो। 

क्षेत्री संघमा रहेका व्यक्तिहरुको मानसिकतामै समस्या रहेको बताउँछन्। विगतमा पनि कुनै मान्छेलाई रोक्नका लागि अनेक काम भएको र अहिले पनि त्यसले निरन्तरता पाइरहेको उनको भनाइ छ। 

‘प्याकुरेल क्रिकेटका लागि राज्यसँग लडेका, आईसीसीसँग प्रत्यक्ष संवादमा रहेका र विधान कमिटीमा आफ्नो अडान राख्ने व्यक्ति हुन्,’ क्षेत्री भन्छन्, ‘जिल्ला कमिटीको सदस्यका रुपमा उहाँले नवीकरण नपाउनु बिडम्बना हो। संघमा रहेका व्यक्तिहरुमा मानसिकतामा समस्या छ। उहाँहरु कार्यसमितिमा आए आफूहरुको प्यानल र च्यानल भत्कन्छ कि भन्ने मनोवृत्ति हावी भएको देखिन्छ।’ 

मतदाताहरुको राम्रोलाई भन्दा हाम्रोलाई छान्ने बानीका कारण व्यक्तिवाद, स्वेच्छाचार बढ्दै गएको उनको ठम्याइ छ। 

नेपाल क्रिकेट संघ (क्यान)का पूर्वसचिव तथा राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पवन अग्रवाल विधान बनाउँदा क्रिकेट संघमा संग्लनबाहेक व्यक्तिलाई सदस्यता नदिऊँ भन्ने प्रावधानलाई प्याकुरेल पक्षले नमानेको परिणाम अहिले भोगिरहनु परेको बताउँछन्। 

‘आखिर राजनीतिक मान्छेहरु आएर संघमा बसेका छन्। उनीहरुलाई क्रिकेटसँग कुनै रुचि छैन। अशोक प्याकुरेल वा पवन अग्रवालको क्यानमा उपयोगिता के हो, उनीहरुलाई के मतलब? यस्ता मान्छे चाहिन्छ कि चाहिँदैन, उनीहरुलाई मतलबै छैन,’ अग्रवाल भन्छन्, ‘क्रिकेटमा लागेको राम्रो मान्छे भएको भए म बस्दिनँ बरु उहाँ चाहिन्छ भन्थ्यो। विधान बनाउँदा यसलाई मिनिमाइज गर्न खोजेका थियौँ। त्यसबेला उहाँहरुले मान्नुभएन। हाम्रो भोट काट्छ भन्नुभयो। अहिले त्यसको परिणाम भोगिरहनुभएको छ।’ 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .