बहुप्रतिक्षित दशरथ रंगशालाको भीआइपी प्याराफिटको छानो निर्माणस्थलबाट सेन्झेनबाट गोन्जाओका लागि शुक्रबार प्रस्थान गरेको छ।
दशरथ रंगशालाको निर्माण ठेकेदार कम्पनी चीनको सीएमई कन्स्ट्रक्सन र नेपालको एचटीसीले गरिरहेको हो। आगामी मंसिर १५ बाट हुने दक्षिण एसियाली खेलकुद(साग)का तयार गरिसक्नुपर्ने रंगशाला समयमै नबन्ने भएपछि ठेकेदार कम्पनीले एयर कार्गो मार्फत उक्त छानो नेपाल भित्र्याउन लागेको हो।
‘निर्माणस्थल सेन्झेनबाट छानो ग्वान्झाओ एयरपोर्टका लागि हिँडिसकेको छ,’ नेपालतर्फका ठेकेदार उपेन्द्र बमले भने, ‘सम्पूर्ण प्रक्रिया सकाएर नेपाल ल्याइपुग्न ५ दिन जतिको समय लाग्नेछ।’
ग्वान्झाओबाट ल्याउने भनेपनि कुन विमानबाट ल्याउने अझै टुंग्गो लागेको छैन। ठेकेदार बमले निर्माण कम्पनीले ग्वान्झाओमा कुन विमान सस्तो पर्छ त्यसैबाट नेपाल पठाउने तयारी गरेको बताए।
एयरपोर्टमा लोड गर्न, विमानस्थल भन्सारका कार्यहरु पूरा गर्न, झार्न तथा नेपालमा भन्सार सम्बन्धि कामहरु गर्दा ५ दिनको समय लाग्ने भएको हो।

यो पनि: प्याराफिटको छानो चीनमै, सागलाई धक्का
यद्यपी राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले भने यही शनिबारसम्म भीआइपी प्याराफिटको छानो नेपाल आइसक्ने बताएका थिए।
भीआइपी प्याराफिटको छानो नेपाल आइपुग्न ५ दिन लाग्ने भएपछि साग आयोजना समेत प्रभावित हुनेछ। राखेपले कार्तिक मसान्तसम्म रंगशालाको काम सक्ने भनेपछि भीआइपी प्याराफिटको छानो हाल्नका लागि चाहिने स्टान्डपनि ठडाइसकेको छैन।
भीआईपी प्याराफिटको छानोका लागि १९ वटा पिलर उठाउनुपर्ने हो। तर, बिहीबारसम्म तीन वटा मात्रै बनिसकेको राखेपका भौतिक पूर्वाधार शाखा प्रमुख इन्जिनियर अरुण उपाध्यायले बताए। उनले कात्तिक मसान्तसम्म पिलरको काम सक्न त्रिपुरेश्वर सुन्धारा सडकमा क्रेन लगाएर काम गर्नुपर्ने भएकाले सो सडक वान वे अथवा बन्द गर्नुपर्ने बताए। ‘सडक बन्द गरेर काम थाले छिटो गर्न सकिन्थ्यो,’ उनले भने।
राखेप सदस्यसचिव सिलवाल भने अब एकहप्तामा रंगशालाको काम सम्पन्न गरिसक्ने दाबी दोहो¥याउँछन्। ‘रंगशालाको काम अन्तिम चरणमा छ। ६ वटा प्याराफिट बनाइसक्यौँ, छानो हालिसक्यौँ, कुर्सी राख्न सुरु भइसक्यो। अब भीआईपी प्याराफिटको काम छ त्यो एक हप्ताभित्र सकिन्छ,’ उनले भने।
रंगशाला समयमा तयार नभएकै कारण नेपाल र कुवेतबीच मंसिर ३ मा दशरथ रंगशालामा हुने भनिएको खेल सरेको छ।
कतारमा हुने फिफा विश्वकप २०२२ र चीनमा २०२३ मा हुने एसियन कप छनोट अन्तर्गत होम खेलका रुपमा नेपालले मंसिर ३ गते कुवेतसँग दशरथ रंगशालामा हुने तय थियो।

तर, कात्तिक १९ गते एएफसीका प्रतियोगिता समितिका प्रतिनिधि देङ सियो लेङसहितको टोलीले निरीक्षण गरेपछि रंगशालामा खेल खेलाउन उपयुक्त नभएको ठहर ग¥यो। त्यसपछि एन्फाले सो खेल भुटानमा खेलाउने प्रस्ताव गरेको छ।
एएफसीका प्रतिनिधिले रंगशाला निर्माणाधीन रहेको, मैदान, ड्रेसिङ रुम, सरसफाइको अवस्थालगायतमा आपत्ति जनाएका थिए। जसका कारण चारवर्षपछि दशरथ रंगशालामा फेरि खेल्ने नेपाली खेलाडीहरुको सपना पर धकेलिएको छ।
राखेपले गतसातादेखि भीआईपी प्याराफिट बाहेक अन्य क्षेत्रमा कुर्सी राख्न थालेको थियो। ११ हजार सिट क्षमता भएपनि बुधबारसम्म राखेपले ८ हजार कुर्सी राखिसकेको छ। भीआईपी प्याराफिटको छानो राखिसकेपछि त्यसतर्फको कुर्सी राख्न थालिने सिलवाल बताउँछन्। भूकम्पपछि खुम्चिएको दशरथ रंगशाला झण्डै १५ हजार दर्शक क्षमताको हुनेछ।

प्रतिक्रिया