खेल


पुबुदुको दोस्रो इनिङ्सका दुई मुख्य चुनौती

पुबुदुको दोस्रो इनिङ्सका दुई मुख्य चुनौती

यज्ञराज जोशी
मंसिर २५, २०७८ शनिबार १४:३०, काठमाडौँ

पुबुदु दासानायकेको प्रशिक्षणमा नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले सन् २०१४ टी–२० विश्वकप खेल्यो। नेपाली टोली विश्वकपको मञ्चमा उत्रिएको त्यो नै पहिलो र अन्तिम हो। 

नेपाल क्रिकेट संघ(क्यान)ले शनिबार बिहान तिनै पुबुदुलाई दोस्रो कार्यकालको लागि मुख्य प्रशिक्षकमा नियुक्ति गरेको छ। 

यसअघि २०११ देखि २०१५ सम्म नेपाली टोलीको प्रशिक्षक नियुक्त भइसकेका पुबुदु पुनः नियुक्त हुँदा यसपटक फेरि समर्थकले पुनः २०१४ को जस्तै चमत्कारको अपेक्षा राखेका छन्।

त्यही चमत्कार दोहोर्‍याउनु पुबुदुको दोस्रो इनिङ्सको पहिलो ठूलो चुनौती हुनेछ। 

सन् २०२२ मा अष्ट्रेलियामा टी–२० विश्वकप हुँदैछ। त्यसको ग्लोबल छनोट फेब्रुअरीमा २०२२ अर्थात झन्डै ३ महिनापछि ओमानमा हुँदैछ। 

उक्त ग्लोबल छनोटमा नेपालसहित बहराइन, क्यानडा, जर्मनी, आयरल्याण्ड, ओमान, फिलिपिन्स र यूएई गरी ८ राष्ट्रले खेल्दैछन्। 

सबै टोलीले एकअर्कासँग खेलेपछि शीर्ष २ मा रहने टोली विश्वकपमा छनोट हुनेछ। 

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का विश्वकप छनोट मुखैमा आएका बेला पहिलेदेखि नै नेपाली क्रिकेटले जाने बुझेको प्रशिक्षक नियुक्ति गर्नु सकरात्मक पाटो भएको बताउँछन्। 
‘विश्वकप छनोटको तयारीमा हामी ढिलो भैसक्यौं। चिनजान गर्ने समय पनि नभएका धेरैजसो खेलाडीको पहिलेदेखि नै उहाँसँग चिनजान छ,’ पारसले नेपालखबरसँग भने, ‘नेपाली अवस्थालाई बुझेको भएकाले क्यानले उहाँलाई दोहोर्‍याएको होला। उहाँको प्रशिक्षण क्षमतामा कुनै शंका गर्ने ठाउँ छैन।’

पुबुदु सधैँ भिजन, प्लानअनुसार अघि बढ्ने मान्छे भएको र यसपल्ट पनि नेपाली क्रिकेटलाई अघि बढाउँने भिजन उहाँले लिएर आउने पारसले बताए। 

‘जहाँ गए पनि उहाँले आफूले आफूलाई प्रमाणित गरिसक्नुभएको छ। यहाँ फेरि आउनु भनेको नेपालका लागि आगामी प्रतियोगितामा राम्रो गर्ने अवसर हो,’ पारस भन्छन्, ‘उहाँलाई के के चाहिन्छ, त्यो उपलब्ध गराइदिनुपर्‍यो। त्यसो भयो भने उहाँसँग काम गरेका पूर्व क्रिकेटरका नाताले यसपटक पनि राम्रै होला भन्ने आशा छ।’ 

पुबुदुको दोस्रो इनिङ्सको दोस्रो मुख्य चुनौती नेपाली टोलीलाई एक ढिक्का बनाउनु नै हुनेछ। अहिलेको राष्ट्रिय टोलीभित्रका खेलाडीबीच गुटउपगुट रहेको खेलाडीले नै बताउने गरेका छन्। 

प्रशिक्षक छनोट समितिका सदस्य तथा राष्ट्रिय टोलीका व्यवस्थापक विनोद दास टिम बलियो बनाउनु र खेलाडीमा खेल संस्कारको विकास गर्नु चुनौती रहेको बताउँछन्। 

‘टीमलाई बलियो बनाउनु छ। नयाँ युवा खेलाडी टिममा आइरहेका छन्। टिममा खेल संस्कार विकास गर्नुछ,’ दासले पुबुदुका चुनौतीबारे भने, ‘यसअघि पहिलो कार्यकालमा उहाँले जुन किसिमको टिम बलियो बनाउने, संस्कार विकास गर्न सक्नुभएको थियो, त्यो  भन्दा एक कदम अगाडि जाओस् भन्ने हामी सबैको चाहना हो।’ 

पारस खड्काको सन्यासपछि टिमको गतिशीलता पनि फेरिएको बताउँदै दासले युवा खेलाडीको प्रदर्शनमा अझै निखार ल्याउनुपर्नेमा पुबुदुले जोड दिनुपर्ने दासले बताए। 

‘खेलाडी सधैं एउटै हुँदैनन्। कुनै पनि कोच आएपछि जे अगाडि छ, त्यसैमा काम गर्ने हो,’ दासले भने, ‘राष्ट्रिय टोलीको तयारी र विकास मुख्य म्यान्डेड हो। मुख्यचाहिँ उहाँले राष्ट्रिय टोलीको राम्रो प्रदर्शन देखाउने कार्यक्रमको नेतृत्व गर्नुहुन्छ। आशा गरौं, त्यो सबैकुराका लागि उहाँ तयार भएर आउनुहुन्छ।’

पूर्वकप्तान पारस खड्का पुबुदुले जहाँ गए पनि टोलीमा परिवर्तन ल्याउनुभएकाले अहिले देखिएका सबै चुनौती पार गर्नेमा विश्वस्त देखिन्छन्। 

‘उहाँ प्रमाणित भइसकेको प्रशिक्षक हो। जहाँपनि सकारात्मक परिवर्तन ल्याउनुभएको छ,’ पारस भन्छन्, ‘मैले बारम्बार भन्दै आएको छु, उहाँ जागिर खान मात्रै आउनुहुन्न। उहाँको बनाएको योजनालाई टिमले कसरी कार्यान्वयन गर्छ भन्ने मुख्य कुरा हो।

उहाँको योजना काम गर्न सकियो भने आईसीसीका माथिल्ला प्रतियोगितामा पनि हामीले राम्रो प्रदर्शन गर्न सक्छौं।’

नेपाल क्रिकेट संघ(क्यान)ले सन् २०११ मा तत्कालीन प्रशिक्षक रोयलुक डायसको स्थानमा पुबुदुलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो। सुरुमा क्यानले उनलाई ६ महिनाको मात्रै नियुक्ति दिए पनि टोलीको नतिजा सुधार्दै गएपछि उनले चार वर्ष नेपालमा बिताएका थिए।

उक्त अवधिमा नेपालले सन् २०१४ टी–२० विश्वकप खेल्नुका साथै डिभिजन ४ देखि ३ सम्मको उपाधि जितेको थियो। 

यो पनि हेर्नुहाेस् - पुबुदु दासानायके नेपाली क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .