एसियन क्रिकेट काउन्सिल(एसीसी)को आयोजनामा आगामी नोभेम्बर १२ बाट बंगलादेशमा सुरु हुने इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपालको पहिलो प्रतिद्धन्द्धीका रुपमा भारत रहेको छ।
एसीसीले बिहीबार सार्वजनिक गरेको खेलतालिका अनुसार नेपालले १४ नोभेम्बरमा बंगलादेशको बिकेएसपी ३ मैदानमा भारतसँग खेल्नेछ। प्रतियोगितामा नेपालको सहभागिता सुनिश्चित भएको नेपाल क्रिकेट संघ(क्यान)ले जनाएको छ।
प्रतियोगिताका लागि नेपाली टोलीको चाँडै घोषणा हुने क्यानले जनाएको छ। भारतले कुन स्तरको टोली पठाउने निश्चित छैन। यसअघि भारतले केही खेलाडी सिनियर टोलीका राखेपनि बाँकी दोस्रो टिमका खेलाडीहरुलाई यस प्रतियोगितामा पठाउँदै आएको छ।
समूह बीमा नेपालसँगै भारत, आयोजक बंगलादेश र हङकङ छन। यस्तै नेपालले दोस्रो खेल १६ नोभेम्बरमा हङकङसँग खेल्नेछ भने समूह चरणको अन्तिम खेलमा नेपालले १८ नोभेम्बरमा बंगलादेशको सामना गर्नेछ।
अर्को समूहमा श्रीलंका, पाकिस्तान, अफगानिस्तान र ओमान रहेका छन्। समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। सेमिफाइनल खेल २० र २१ नोभेम्बरमा तथा फाइनल २३ नोभेम्बरमा हुने खेल तालिका छ।

प्रतिक्रिया