खेल


पोखरामा ‘सुपरम्यान जिपलाइन’

पोखरामा ‘सुपरम्यान जिपलाइन’

नेपालखबर
कात्तिक २, २०७८ मंगलबार १३:७, काठमाडौँ

पछिल्लो समयमा पोखरामा थपिएका विभिन्न पर्यटकीय गतिविधिले पर्यटकको बसाइँ लम्ब्याउन महत्वपूर्ण भूमिका खेलेका छन्।

माछापुच्छे पौडिने फेवाताल होस् वा यहाँका तलतलैया र लहरै चाँदीजस्तै टल्किएका हिमालको दृश्यले स्वदेशी एवं विदेशीको ध्यान पोखरामा खिच्ने गरेको छ।

साहसिक पर्यटनका जिपलाइन, प्याराग्लाइडिङ, अल्ट्रालाइट, बन्जी जम्प आदिले साहसिक पर्यटनमा विशेष रुचि राख्नेका लागि पनि आकर्षक गन्तव्य बनेको छ।

साहसिक पर्यटकको बढ्दो आकर्षणलाई दृष्टिगत गर्दै यहाँ विश्वकै भिरालो सुपरम्यान जिपलाइन हालै सञ्चालनमा आएको छ। जिप लाइनमा विश्वमै ख्याती प्राप्त अमेरिकी ब्राण्ड ‘जिपफ्लायर’सँग आवद्ध हाइग्राउण्ड एडभेन्चर प्रालिले सुरुआत गरेको हो।

भिरालो र छिटो जिपलाइनमा सुपरम्यान जिपलाइन खेलको सुरु गरिएको संस्थाका प्रमुख सञ्चालन अधिकृत(चिफ अपरेटिङ अफिसर) दिनेश महर्जनले जानकारी दिए।

उनका अनुसार सन् २०१० मा नेपालमै पहिलो पटक जिपलाइनको सुरुआत गरेको हाइग्राउण्ड एडभेन्चर प्रालिले एक दशकपछि आफ्ना ग्राहकलाई फरक स्वाद दिन सुपरम्यान जिपलाइन थालेको हो। सुपरम्यान जिपलाइन सुतेर गरिन्छ।

'समुद्री सतहदेखि एक हजार ५५० मिटरको उचाइमा रहेको सराङ्कोटको माथिल्लो स्टेशनबाट तल्लो स्टेशन हेमजासम्म भर्टिकल ड्रप (भिरालो) ६०० मिटर दूरी छु,' उनले भने, 'यति धेरै भिरालो भएको जिपलाइन विश्वमै अन्य नभएकोले गिनिज बुक अफ वल्ड रेकर्डमा ‘विश्वकै भिरालो जिपलाइन’ का रुपमा दर्ता गर्न आवेदन दिएका छौं।'

विश्वकै लामोमध्येको एक हजार ८५० मिटर दूरीको सुपरम्यान जिपलाइनमा पार गर्न औसत १४० किमीप्रति घण्टाको गतिमा अधिकतम समय एक मिनेट लाग्छ।

जिपलाइनमा जाने पर्यटकले पोखराबाट नागबेली बाटो काट्दै सवारी साधनमार्फत करिब ४५ मिनेटको यात्रामा सराङ्कोटको टुप्पोमा पुग्दै गर्दा दक्षिणमा फेवाताल र पोखरा सहर अनि सराङ्कोटको शिरबाट उत्तरमा माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिमालको दृश्यावलोकन गर्न पाउछन्।

३५ देखि १२० किलो तौलका साथै १२ वर्षदेखि माथिका व्यक्तिले जिपलाइन खेल्न सक्दछन्। तथ्याङ्क अनुसार बेलायतकी ९४ वर्षीय जुन स्कट अहिलेसम्म जिपलाइन गर्ने सबै भन्दा ज्येष्ठ नागरिकका रुपमा रहनुभएको सञ्चालन अधिकृत महर्जनले जानकारी दिए।

नेपालीका लागि छ हजार ५०० र विदेशीका लागि आठ हजार ५०० कायम गरिएको सुपरम्यान जिपलाइनमा फोटो भिडियो र टिसर्ट प्याकेज लिन अतिरिक्त एक हजार ५०० राखिएको छ।

अगाडि माछापुच्छ्रेको दृश्य तथा तल हेम्जा फाँटको ग्राउण्ड स्टेशन रहेको र हिमालको चिसो झोँकसँगै हुत्तिन पाउनु यस जिपलाइनको विशिष्टता हो। जिपलाइनकै ग्राउन्ड स्टेसन हेम्जामा क्यान्टिलिभर ब्रिजको नमूनामा बनाइएको टावरमा बन्जी गर्ने व्यवस्था मिलाइएको छ।

नेपालकै पहिलो टावर बन्जीका रुपमा रहेको यहाँ जोडिसँगै अङ्गालो मारेर गरिने टेन्डम बन्जी पनि सञ्चालनमा छ। जिपलाइन र बन्जी गर्ने पर्यटकलाई लाने र लैजाने व्यवस्था पनि कम्पनीले नै गरेको र यसमा अतिरिक्त शुल्क नलाग्ने जानकारी दिँदै महर्जनले हेम्जामा छिट्टै विभिन्न साहसिक खेल थप्ने योजना रहेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad