साहव आलम र सागर ढकालको घातक बलिङमा पोखरा राइनोजले एभरेष्ट प्रिमियर लिग (इपीएल) को पहिलो क्वालिफायर खेलमा चितवन टाइगर्ससामु ६७ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ।
किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पोखरा १५ ओभरमा ६६ रनमै अलआउट भएको हो।
खराब सुरुवात गरेको पोखराका लागि ओपनर रिचार्ड लेवीले बनाएको १९ रन नै पोखराका लागि सर्वाधिक रह्यो। १२ बलको सामना गरेका लेवीले २ चौका र १ छक्का हाने।
सुनिल धमालाले १८ र सुसान धमालाले १२ रन थपे। अन्य ८ ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। कप्तान विनोद भण्डारी र नन्दन यादव गोल्डेन डक आउट भए।
कसिलो बलिङ गरेको चितवनका लागि घातक बलिङ गरेका साहव आलममले १० रन खर्चेर ४ विकेट झारे। सागर ढकाल एक्लैले ४ विकेट लिए। सागरले आफ्नो स्पेलमा मात्र १४ रन खर्चे। करिम जन्नत र सोमपाल कामीले एक एक विकेट लिए।
आजको खेलमा जित निकाल्ने टोलीले सिधै फाइनलमा स्थान बनाउने छ भने पराजित टोलीले अर्को एक मौका पाउनेछ। आज पराजित हुने टोलीले भैरहवा ग्लाडियर्टस र काठमाडौं किंग्स इलाभेनबीचको खेलको विजेतासँग स्पर्धा गर्नेछ।
Shares

प्रतिक्रिया