खेल


सीताको समर्पणः दुलही शृंगार नउत्रिँदै मैदानमा

सीताको समर्पणः दुलही शृंगार नउत्रिँदै मैदानमा

यज्ञराज जोशी
कात्तिक ३, २०७६ आइतबार ६:२३,

राष्ट्रिय महिला क्रिकेट टोलीकी उपकप्तान सीता रानामगर घरेलु क्रिकेटमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबबाट खेल्छिन्। नेपाली घरेलु महिला क्रिकेटमा राष्ट्रिय खेलाडीले भरिएको एपीएफको एकछत्र राज छ। त्यसै क्लबकी कप्तान हुन्, सीता।

गत वैशाखमा सम्पन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटको स्वर्ण पदक पनि उनकै कप्तानीमा एपीएफले जितेको थियो। त्यसबेला टोलीलाई उपाधि दिलाउन सीताको त्याग र क्रिकेटप्रतिको समर्पण देखेर जोकोही नतमस्तक भएका थिए। दुलहीको शृंगार उत्रिन नपाउँदै मैदानमा उत्रिएर सीताले टोलीलाई च्याम्पियन बनाएकी थिइन्।

आठौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेट वैशाख ४ गते दाङको लमहीमा सुरु भएको थियो। त्यही दिन बाँकेको कोहलपुरमा सीताको बिहे थियो। कोहलपुर माइतीबाट दुलही बनेर सीता मकवानपुरको हेटौंडा श्रीमान्को घर पुगिन्। तर, दुलहीको शृंगारमै रहेकी सीता हेटौंडा पुगेको दुई दिनपछि नै प्रतियोगिता खेल्न लमही पुगिन्।

Apf cricket teamसिता नेपाली महिला क्रिकेटको सर्वाधिक सफल घरेलु क्लब एपीएफकी कप्तान हुन्

वैशाख ८ गते साँझ हेटौँडाबाट लमही पुगेकी सीता अर्को दिन बिहानै सेमिफाइनल खेल्न मैदानमा उत्रिइन्। उनको कप्तानीमा एपीएफले प्रदेश २ लाई ६७ रनले पराजित गर्दै फाइनलमा स्थान बनायो। एपीएफको जितमा सीताले २६ रन जोड्नुका साथै २ विकेट लिइन्। उनी खेलकी ‘वुमन्स अफ द म्याच’ चुनिइन्।

दोस्रो दिनको फाइनलमा पनि सीताको कप्तानी पारीमा एपीफले प्रदेश १ लाई ८७ रनले हराउँदै स्वर्ण जित्यो। एपीएफको जीतमा ४२ रन जोडेकी सीता फेरि ‘वुमन अफ द म्याच’ भइन्।

‘बिहे भइसकेपछि केही दिन घरमै बस्नुपर्ने थियो। सासूले २ दिन मात्रै बसे पनि सेमिफाइनल खेल्न दाङ पठाउनुभयो,’ त्यतिबेलाको हतारो सम्झिँदै सीताले भनिन्, ‘हाम्रोमा बिहेलगत्तै माइती फर्काउने चलन हुन्छ। कोहलपुर जानुपर्ने म प्रतियोगिता खेल्न दाङ गए। प्रतियोगिता सकिएपछि श्रीमान् (दीलीपकुमार लामा)आउनुभयो र हामी दाङबाटै माइती फर्काउन कोहलपुर गयौं।’

बिहेलगत्तै प्रतियोगिता खेल्न पठाउने परिवारलाई सीताले निरास पारिनन्। ट्रफी लिएर घर फर्किएपछि सबै दंग थिए। ‘एकदमै खुसी हुनुभयो। मेरो सासूआमा टीभीमा बसेर सबै गेमको अपडेट लिनुहुन्छ। उपाधि जितेर घर फर्किंदा उहाँले बधाई दिनुभयो,’ सीताले भनिन्।

Sita apf player of the serisप्रधानमन्त्री कपमा सर्वोत्कृष्ट खेलाडी भएपछि सीता

बिहेपछि पनि सीताको लयमा कुनै कमी देखिएन। आठौं खेलकुदपछि सीताले गत असारमा महेन्द्रनगरमा भएको प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता खेलिन्। उनकै कप्तानीमा एपीएफ फेरि च्याम्पियन बन्यो। फाइनलको प्लेयर अफ द म्याचसँगै सीता प्रतियोगिताकै सर्वोत्कष्ट खेलाडी घोषित भइन्।

बिहेपछि घर–व्यवहार सम्हाल्न अनि खेललाई व्यवस्थापन गर्न धेरैलाई गाह्रो पर्छ। तर, परिवारकै सपोर्टका कारण आफूले पहिलेजस्तै खेलमा निरन्तरता दिन सकेको उनी सुनाउँछिन्।

‘मेरो घरपरिवार पनि खेलकुदकै पृष्ठभूमिको भएकाले मलाई त्यति असहज भएन,’ सीताले भनिन्, ‘श्रीमानले मैदानमै आएर सपोर्ट गर्नुहुन्छ, सल्लाह, हौसला दिनुहुन्छ। घरमा पनि म ट्रेनिङ जाँदा खाना आफैं पकाउनुहुन्छ। सासूले पनि म खेलाडी भएकाले घरायसी काममा त्यति ध्यान दिन पाउँदैन भन्ने बुझ्नुभएको छ। कुनै दबाब छैन। । बिहेअघि त मेरो परिवार कसैले गेम बुझ्नु हुन्थेन। जे गर्थें म आफै गर्थें। अहिलेचाहिँ अलिकति ‘ब्याक सपोर्ट’ को फाइदा मलाई पुगेको छ।’

सीताको बिहे भएर गएको घर पनि खेलकुद पृष्ठभूमिकै हो। श्रीमान् दिलीपकुमार लामा पूर्वबक्सिङ खेलाडी हुन्। एपीएफ क्लबमै हुँदा उनीहरू प्रेममा परेका थिए। त्यसको ४ वर्षपछि उनीहरूले विवाह गरे। उनकी आमाजू पनि बक्सिङको पूर्वराष्ट्रिय खेलाडी हुन्। अहिले रेफ्री छिन्। आमाजूका श्रीमान् र देवर पनि खेलाडी नै हुन्।

‘खेल पृष्ठभूमिको परिवार भएपछि कम से कम मनका कुरा खोल्न सकिन्छ। उहाँहरूले पनि गेमको स्पिरिट थाहा हुन्छ। मलाई जे चाहिने हो त्यो उहाँहरूले पनि बुझ्नुहुन्छ र सल्लाह, हौसला दिनुहुन्छ,’ सीताले भनिन्।

खुलेकी सीता, नखुलेको टोली

sita half centuryवुमन्स च्याम्पियन्स लिगमा अर्धशतक प्रहार गरेपछि सीता

काठमाडौंमा अहिले महिलाको पहिलो फ्रेन्चाइजी क्रिकेट प्रतियोगिता चलिरहेको छ। बिहेपछि सीताले खेलिरहेको यो तेस्रो प्रतियोगिता हो। ५ शहरका ५ टोली भिडिरहेको प्रतियोगितामा सीताले पोखरा पल्टनको नेतृत्व गरिरहेकी छिन्।

राष्ट्रिय टिमकी उपकप्तान भएका नाताले धेरैले उनलाई सीताको टोलीले प्रतियोगितामा राम्रो गर्ने आशा गरेको थियो। सीताले पनि आफ्नो टिमलाई ‘अन्डर डग’का रुपमा चित्रित गर्दै उपाधिका लागि खेल्ने बताएकी थिइन्।

खेलकुदमा बलियो नठानिएको तर अपत्यारिलो प्रदर्शन गर्ने टोलीलाई अन्डर डग भनिन्छ। नयाँ खेलाडीहरु धेरै भएकाले पोखरालाई पनि प्रतियोगितामा बलियो मानिएको थिएन्। तर, दक्षिण एसियाली खेलकुद (साग)का लागि काठमाडौंमा जारी बन्द प्रशिक्षणमा आफू र टोलीका सदस्यहरुले राम्रो गरिरहेकाले उनले पनि बलिया टोलीलाई स्तब्ध पार्ने लक्ष्य राखेकी थिइन्।

तर, सोचेअनुसार केही भएन। सुरुवाती दुई खेलमा सीताको टोली लगातार पराजित भयो। आशा गरिएका खेलाडीहरुले खेल्न नसक्नु र नयाँ खेलाडीहरुमा अनुभवकै कमी भएका कारण लगातार पराजित हुनुपरेको बताउँछिन। उनले भनिन्, ‘खेल्नसक्ने खेलाडीले पनि खेल्न सकिरहेका छैनन। आशा गरिएका खेलाडीहरुबाट प्रदर्शन आइरहेको छैन। अर्कोतिर मैले युवा खेलाडीहरु भनेर ड्राफ्टबाट लिएको थिए। तर यो एउटा ठूलो प्लेटफर्म हो। यसमा खेल्न उनीहरु अझै तयार भइनसकेको रहेछन्।’

आफूलाई साथ दिने खेलाडीहरु कोही आफूले पनि गुम्सिएर खेल्नुपरेको उनी बताउँछिन्। काठमाडौंविरुद्धको खेलमा सिता १७ र विराटनगरविरुद्ध १६ रनमात्रै रोकिइन।

‘प्रतियोगिता अघि बन्द प्रशिक्षणमा एकखाले रिदम देखिएको थियो। त्यस अनुसार विस्फोटक ब्याटिङ गरौंला भन्ने सोच थियो,’ सीताले भनिन्, ‘तर ब्याकअपमा कुनै ब्याटरहरु नहुँदा म आफै गुम्सिएर खेल्नुपर्ने अवस्था भयो। मैले ओपनिङमा, वान डाउनमा साथ नै पाइरहेको छैन। प्लेयरहरुको कमीले गर्दा भित्र गुम्सिएर खेलिरहनुपरेको छ।’

sita learning sometingसीता प्रतियोगिताबाट साग अघि आत्मविश्वास बढेको बताउँछिन

लगातार दुई खेल हारिसकेपछि तेस्रो खेलमा पोखरालाई गर या मरको स्थिति हुन्थ्यो। सीताले आगामी खेलमा खुलेर खेल्ने बताएकी थिइन्। शनिबार भएको चितवनविरुद्धको तेस्रो खेलमा उनी खुलेरै प्रस्तुत भइन्। उनले ५६ बलमा ६५ रनको नटआउट अर्धशतकीय पारी खेलिन्। ७ चौका र १ छक्का प्रहार गरिन्।

तर, सीता खुलेपनि उनको टिम भने खुल्न सकेन। बलिङ र फिल्डिङमा भएको कमजोर प्रदर्शनका कारण टोली फेरि पराजित हुँदै प्रतियोगिताबाटै बाहिरियो।

‘पहिलो दुई खेलभन्दा यस खेलमा सुधारिएको प्रदर्शन थियो। ब्याटिङ राम्रै भएको थियो तर फिल्डिङ र बलिङमा राम्रो नहुँदा हामी फेरि हार्न पुग्यौं,’ सीताले भनिन्, ‘सबैले सीता कहाँ गयो? सीताको गेम आएन आएन भन्दा मलाई पनि दबाब थियो। दबिएर खेलिरहेकाले मेरो प्रदर्शन आइरहेको थिएन। यस खेलमा म मैदानमा प्रवेश गर्दा नै खुलेर खेल्छु भन्ने सोचेको गएको थिए र त्यही अनुसार खेले।’

प्रतियोगिताबाट बाहिरिए पनि नजिकिँदो साग गेम्सअघि राम्रो अनुभव भएको सीता बताउँछिन्। उनी भन्छिन्, ‘हार ब्यहोर्दा नराम्रो त लाग्यो। तर, प्रतियोगिताबाट धेरै कुराको अनुभव भयो। गेममा एकदमै दबाब आएका बेला कन्ट्रोल कसरी गर्ने, त्यसबेला कसरी धैर्य रही शान्त भएर प्रदर्शित हुने भन्ने सिकयो।’

 यो पनि: सपना पूरा भएको दिन

यो पनि: रुविना क्षेत्री: आमाले हुर्काएकी स्टार

यो पनि: छायाँमा परेको एउटा प्रदर्शन

यो पनि: पारसले ट्विस्ट देलान्?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad